site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
प्रकाशहरूलाई आँसुको भेल बगाइरहेका पात्रहरू
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । भिडियो कथा प्रस्तुत गर्ने ‘हेर्ने कथा’ टिमले गएको शनिबार आफ्नो युट्युब च्यानलमा एउटा भिडियो अपलोड गर्‍यो, ‘हराएका वर्षहरू’ शीर्षकमा । झापाबाट आफ्नी दिदीसँग गलैँचा बुन्न काठमाडौं आएका एक बालक यहाँबाट हराएका कथा त्यसमा समेटिएको छ । उनी हराएको घरपरिवारबाहेक कसैलाई थाहा हुँदैन ।

०८० साल जेठ मध्यतिर ‘हेर्ने कथा’ टिम गोरखाको उत्तरी भेग चुम भ्याली पुग्छ । ‘फुन्जोको कथा’ खिच्न टिम त्यहाँ पुगेको हुन्छ । टिमले ‘फुन्जोको कथा’ ०८० कात्तिक ४ गते युट्युबमा सार्वजनिक गरिसकेको छ ।

फुन्जोको भिडियो कथा बनाउने समयमा टिमले काठमाडौंबाट वर्षौँअगाडि हराएका बालक फेला पार्छ । करिब १० वर्षको उमेरमा हराएका उनी अधबैँसे भइसकेका हुन्छन् ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

चुम भ्यालीमा भेडाचौँरी गोठालोको काम गरिरहेका उनलाई आफ्नो नाम थाहा हुँदैन । उमेर, ठेगाना केही थाहा हुँदैन । स्थानीयले उनलाई ‘प्रकाश’ भनेर बोलाउँछन् । कतिपयले प्रकाश नाम छोट्ट्याउँदै ‘पका’ भन्छन् ।

‘हेर्ने कथा’ टिमले प्रकाशको परिचय दिँदै भनेको छ– ऊसँग सम्झिनका लागि समेत कुनै सम्झना बाँकी थिएन ।

Royal Enfield Island Ad

जीवनको उर्वर समय परिचयविहीन भएर हिमालको फेदमा चौँरीभेडासँग बिताएका प्रकाशको नाम–ठेगानाको खोजीमा लाग्छ, ‘हेर्ने कथा’ टिम ।

“एउटा संयोगले डोर्‍याएर चौँरीगोठमा पुगेका हामी उसका केही विस्मृति कोट्ट्याउन थाल्यौँ,” टिमले भनेको छ ।

उमेरको हरहिसाब भुलिसकेका ती अधबैँसे युवक भन्छन्, “मान्छेले कति वर्ष भयो भनेर सोध्छ, त्यो मात्र अलिकता गाह्रो भयो मलाई ।”

टिमले तिनै प्रकाशको स्टोरी बनाउँछ । घरपरिवारसँग उनलाई भेटाउन कस्सिन्छ टिम ।

प्रकाशको स्मृतिमा धूमिल भइसकेका सम्झनाका पत्र कोट्ट्याउँदै ‘हेर्ने कथा’ उनको गाउँ पत्ता लगाउने कोसिस गर्छ । झापाका पत्रकार पर्वत पोर्तेलको सहयोग लिँदै टिम त्यहाँ पुग्छ ।

प्रकाशलाई चुम भ्यालीबाट झापा लैजान पनि कहाँ सजिलो थियो र ! प्रकाशका साहुसँग हारगुहार गरेर १० दिनमा फर्काउने सर्तमा टिम उनलाई लिएर झापातिर सोझिन्छ ।

झापा पुगेपछि थाहा हुन्छ, उनको परिवार त त्यहाँबाट भोजपुर उक्लिसक्यो । प्रकाशसहित टिम भोजपुरै पुग्छ । त्यहाँ उनका बाआमा बसेको गाउँ पत्ता लाग्छ । यसरी प्रकाशलाई करिब ३४ वर्षपछि टिमले घर पुर्‍याएको भिडियोमा देखाइएको छ ।

आस मारिसकेको छोरो फर्केपछि उनका बाआमा भक्कानिन्छन् । आफ्नो घर–ठेगाना भुलिसकेका प्रकाश पनि बाआमा भेटेपछि कहाँ सम्हालिन्छन् र ! भक्कानो छाडेर रुन्छन् ।

आफ्नो नाम, गाउँ, उमेर भुलिसकेका प्रकाशको यो भिडियो स्टोरी हाल युट्युबमा ट्रेन्डिङमा छ । १.१६ मिलियन सस्क्राइबर भएको युट्युब च्यानलमा २४ लाख ४१ हजार ६९५ पटक यो भिडियो हेरिइसकेको देखिन्छ । त्यहाँ २७ हजारभन्दा बढी कमेन्ट छन् ।

यो स्टोरी सार्वजनिक गरिएयता चर्चामा छ । स्टोरी र ‘हेर्ने कथा’को आलोचना पनि गरिएको छ ।

सामाजिक सञ्जालमा कतिपयले प्रकाशको स्टोरी देखाएर टिमले ‘आँसु बेचेको’ आरोप लगाएका छन् । कतिपयले ‘पोभर्टी पोर्न’ देखाइएको भन्दै आलोचना गरेका छन् । प्रकाशको कथा युट्युबमा देखाएर प्राप्त हुने रकमको ५० प्रतिशत उनलाई दिनुपर्ने माग पनि गरिएको छ ।

प्रकाशको दुःखको कारण नखोजेको, उनको न्यायका निम्ति टिमले आवाज नउठाएको भन्दै आलोचना गरिएको छ ।

अर्कोतिर, ‘हेर्ने कथा’को प्रशंसा पनि भइरहेको छ । दूरदराजका गाउँमा पुगेर कथा ल्याएको भन्दै प्रशंसा गर्नेहरू प्रशस्तै छन् । ‘हेर्ने कथा’कै कारण प्रकाशले घरपरिवार भेटेको भन्दै खुसी व्यक्त गर्नेहरू सामाजिक सञ्जालमै भेटिन्छन् ।

आलोचना र प्रशंसाबीच टिमले प्रकाशको पछिल्लो अवस्थाबारे जानकारी गराएको छ । टिमका अनुसार, प्रकाश फेरि चुम भ्याली फर्किएका छन् ।

प्रकाशको भनाइ उद्धृत गर्दै टिमले फेसबुकमा लेखेको छ, “म दसैँ मान्न पोहोर गाउँ गएँ । गाउँ जाने बेलामा साहुले खर्च दिएनन् । यत्रो वर्ष काम गरेको पैसाको हिसाब छैन । साहुका विदेशमा भएका छोराले एक लाख पठाइदिए, अनि काठमाडौंमा भएका छोराले ६० हजार । एक लाख ६० हजार बोकेर म नफर्किने गरी भोजपुर गएँ ।”

त्यो पैसाले प्रकाशले एक हल गोरु किने । भाइलाई विदेश पठाए । बुवाका निम्ति औषिध र वैशाखी किनेको ‘हेर्ने कथा’ले उल्लेख गरेको छ ।

३५ वर्ष घरबार–ठेगानाविहीन भएकाले प्रकाशको नागरिकता थिएन । उनले योबीचमा नागरिकता बनाउन खोजे पनि सकेनन् ।

करिब पाँच–छ महिना गाउँमा बसेपछि उनी फेरि चुम भ्यालीमै फर्किए । प्रकाशको भनाइ उद्धृत गर्दै टिमले लेखेको छ, ‘‘पाँच–छ महिना गाउँमै बसेँ । गाउँमा जति दुःख गरे पनि केही नहुने । आफ्नो भन्ने केही छैन । बरु, ज्यालादारी नै काम गरे पनि चुम भ्यालीमै अलिअलि कमाइन्छ जस्तो लाग्यो । अनि, म छेकम्पार फर्किएँ । यहाँ काम पनि पाइएन । पहिलाकै साहुको घरमा काम गर्न थालेको छु । मैले त दिनको एक हजार दिनुपर्छ भनेको छु, तर उनीहरू पैसाको कुरै गर्न चाहँदैनन् ।’’

हेर्ने कथाका अनुसार, प्रकाश आउँदो दसैँमा घर (भोजपुर) फर्कने सोचाइमा छन् ।

प्रकाशलाई उनको साहुले शोषण गरेको र ‘हेर्ने कथा’ले प्रश्न नउठाएको भन्दै सामाजिक सञ्जालमा आलोचना गर्नेहरू प्रशस्तै छन् । टिमले उनको आँसु मात्र देखाएको र केही सहयोग नगरेका कारण प्रकाश फेरि चौँरी चराउन जान बाध्य भएको भनेर आलोचना गरिँदै छ ।

यसैबीच, प्रधानमन्त्री केपी शर्मा ओलीले प्रकाशलाई भेट्ने चाहना व्यक्त गरेका छन् । उनले फेसबुकमा लेखेका छन्, “यस्ता कति प्रकाशहरू वर्षौँदेखि हराएका होलान् ! एकपटक प्रकाशलाई भेटेर उहाँको कुरा सुन्न चाहन्छु ।”

‘हेर्ने कथा’की प्रस्तोता विद्या चापागाईंसँग पनि भेट्ने उनले बताएका छन् । ‘हराएका वर्षहरू’ हेरेर आफू पनि रोएको उनको भनाइ छ ।

उनले लेखेका छन्, “हामी दुःखको आँसुसँग मात्र परिचित छौँ । चाहे सुखका हुन् वा दुःखका, भावको आयतन शरीरले थेग्न नसकेपछि आँसु झर्ने रहेछ । हेर्ने कथाको पछिल्लो एपिसोड ‘हराएका वर्षहरू’ हेरेँ । प्रकाश तामाङ (काले मोक्तान)को परिवारसँग मिलनको दृश्यले आँसु आयो ।”

भावनाको असीमित भार थेग्न नसक्दा मान्छे आँसुको सर्वव्यापी भाषा प्रयोग गर्छन् । दुःख र खुसी दुवै भावना व्यक्त गर्न मान्छे आँसुको सहारा लिन्छन् । प्रकाशले जीवनको उर्वर समय आफ्नो नाम, ठेगाना र उमेरबेगर बिताए । त्यसैले उनीसँग व्यक्त गर्न एउटै भाषा थियो, आँसु ।

उनले ३४ वर्षसम्म पाउनुपर्ने ज्यालाका निम्ति अधिकारकर्मीले आवाज उठाउनुपर्ने र सरकारले सहजीकरण गर्नुपर्ने मत सामाजिक सञ्जालमा बुलन्द छ ।

प्रकाशलाई उनको परिवारसँग पुनर्मिलन गराइदिएकामा धन्यवाद भन्दै अध्यता यादव देवकोटाले लेखेका छन्, ‘‘केन्द्र सरकारले नागरिकतालगायत विषयमा सहजीकरण गरेर देशको एउटा मानिसलाई औपचारिक परिचयविहीन बन्नबाट जोगाउनेछ ।’’

‘हेर्ने कथा’ टिमले आफूलाई नसुनिएका, सीमान्तकृत र मौन कथा प्रस्तुत गर्ने थलोका रूपमा अर्थ्याएको छ । आफूले प्रस्तुत गर्ने कथासँगै आउने जिम्मेवारीबारे पनि बोध भएको टिमको भनाइ छ ।

टिमले आफ्नो वेबसाइटमा लेखेको छ, ‘‘हामीले प्रस्तुत गर्ने कथा र त्यसले मानिसमा पार्ने प्रभावबारे सचेत छौँ ।’’

६ वर्षमा टिमले सयभन्दा बढी कथा देखाइसकेको छ । ‘हेर्ने कथा’कै सहारामा प्रकाशले विस्मृतिको गर्तमा हराउन लागेको परिवार भेटे । आफ्ना मालिकसँग ज्यालाको कुरा गर्न सक्ने भए ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, भदौ ११, २०८१  १६:४३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro