काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नौ वर्षसम्म पनि डेडिकेटेड फिडर र ट्रंकलाइनको बक्यौता नउठाएको विषयमा जवाफ खोजिनुपर्ने बताएका छन् । आइतबार राति सामाजिक सञ्जालमार्फत ओलीले सबै बक्यौता रकम उठाउनुपर्ने तर नौ वर्षसम्म पनि २२ अर्ब रुपैयाँ नउठाइएको विषयको जवाफ खोजिनुपर्ने बताएका हुन् ।
सरकारले नौ वर्षको अवधिमा २१ अर्ब ८८ करोड रुपैयाँ महसुल नउठाएर १६ अर्ब छुट दिइएको विषयको जवाफ खोजेको उनको भनाइ छ ।
उनले उद्योग बन्द नगरी, रोजगारी र उत्पादनमा असर नपुर्याएर उद्योगहरूबाट बक्यौता उठाउनैपर्ने पनि बताएका छन् । रेकर्डमा देखिएको महसुलमा एक रुपैयाँ पनि छुट दिन नहुने ओलीको भनाइ छ ।
"केही सञ्चार माध्यम र सामाजिक सञ्जालमा डेडिकेटेड फिडर र ट्रंकलाइनका उपभोक्ताबाट सरकारले महसुस उठाउन खोजिरहेको छैन भन्ने बारम्बार प्रश्न आइरहेको छ । तर, सरकारको कुरा यत्रो ९ वर्षसम्म किन २१ अर्ब ८८ करोड रुपैयाँ महसुल उठाइएन, किन १६ अर्ब छुट दिइयो भन्ने हो । उद्योग बन्द नगरी, रोजगारी र उत्पादनमा असर नपुर्याई उद्योगहरूबाट बक्यौता उठाउनै पर्छ, रेकर्डमा देखिएको महसुलमा एक रुपैयाँ पनि छुट दिनु हुँदैन । ९ वर्षसम्म २२ अर्ब रुपैयाँ किन उठाइएन भन्ने कुराको पनि जवाफ खोजिनुपर्छ," ओलीले भनेका छन् ।