काठमाडौं । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसँग शुक्रबार (भोलि) दिउँसो २ बजे बयान लिने भएको छ । सहकारीको रकम दुरुपयोग र अपचलनका विषयमा बुझ्न उनलाई बोलाइएको समितिका सभापति सूर्य थापाले जानकारी दिए ।
बाहिर त्यसबारे धेरै हल्ला र आरोप लगाइएकाले सत्यतथ्य बुझ्न लामिछानेलाई बोलाइएको हो । रुपन्देहीको सुप्रिम सहकारी, चितवनको सहारा सहकारी र कास्कीको सूर्यदर्शन सहकारीबाट गोरखा मिडिया नेटवर्कमा ऋण प्रवाह भएको विषय बाहिरिएको छ । लामिछाने गोरखा मिडियाका तत्कालीन प्रबन्धक निर्देशक हुन् ।
गोरखा मिडियाका पूर्वसञ्चालक छविराज जोशीलाई पनि भोलि नै सोधपुछका निम्ति बोलाइएको सभापति थापाले बताए ।