site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
दलित तथा जनजाति संगठनद्वारा आज भारत बन्द, धेरै राज्यमा प्रभाव

नयाँदिल्ली । अनुसूचित जाति र जनजातिको आरक्षण सम्बन्धमा भारतको सर्वोच्च अदालतको निर्णयको विरोधमा दलित र जनजाति संगठनहरूले बुधबार (अगस्ट २१) भारत बन्दको आह्वान गरेका छन् ।

यो बन्दको प्रभाव धेरै राज्यमा देखिएको छ । बिहार र झारखण्डमा धेरै सेवाहरू प्रभावित भएका छन् । झारखण्डमा बस सेवा नराम्ररी प्रभावित भएको छ । समाचार एजेन्सी पीटीआईका अनुसार बस स्ट्यान्डबाट बाहिर निस्कन सकेका छैनन् ।

बिहारको जहानाबादमा बन्दका समर्थकहरू सडकमा नारा लगाइरहेका देखिन्छन् । बिहारको आरामा बन्दका समर्थकहरूले रेल लाइनमा बसेर विरोध प्रदर्शन गरिरहेका छन् । राजस्थानका धेरै सहरहरूमा पसलहरू बन्द छन् । बन्दको प्रभाव धेरै राज्यमा प्रष्ट देखिएको छ ।

दलित संगठनबाहेक विभिन्न राज्यका धेरै राजनीतिक दलले पनि सोमबारको भारत बन्दलाई समर्थन गरेका छन् । बहुजन समाज पार्टीकी प्रमुख मायावतीले सर्वोच्च अदालतको फैसलामा संविधान संशोधन गर्न सरकारसँग माग गर्दै हिंसाविहीन शान्तिपूर्ण रूपमा भारत बन्द गर्न अपिल गरेकी छन् । 

मायावतीका भतिजा आकाश आनन्दले बहुजन समाज पार्टीका कार्यकर्ताहरूलाई भारत बन्दमा पार्टीको झण्डा बोकेर शान्तिपूर्ण रूपमा सहभागी हुन आग्रह गरेका छन् ।

यसैबीच बिहारको राष्ट्रिय जनता दलले यो बन्दलाई समर्थन गरेको छ भने केन्द्रीय मन्त्री जीतनराम मांझीले यसलाई ‘विपक्षीको भारत बन्द’ भनेका छन् । भारत बन्दलाई ध्यानमा राख्दै प्रशासनले राजस्थानका धेरै जिल्लामा सुरक्षा व्यवस्था कडा पारेको छ । राज्यका धेरै जिल्लाका शैक्षिक संस्था बन्द गर्न आदेश जारी गरिएको छ ।

उत्तर प्रदेशको राजधानी लखनउमा निषेधाज्ञा जारी गरिएको छ र प्रशासनलाई बन्दका क्रममा कुनै पनि किसिमको हिंसा हुन नदिन निर्देशन दिइएको छ ।

मध्य प्रदेशको प्रशासनले भारत बन्दका बेला विशेष सावधानी अपनाउन निर्देशन दिएको छ । यसअघि सन् २०१८ अप्रिलमा दलित संगठनहरूले आह्वान गरेको भारत बन्दमा मध्य प्रदेशमा धेरै ठाउँमा हिंसा भड्किएको थियो र ६ जनाको मृत्यु भएको थियो । बीबीसी 

प्रकाशित मिति: बुधबार, भदौ ५, २०८१  १२:२९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro