site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
दोस्रो तहका नेता ‘गोटी’कै रूपमा प्रयोग, शीर्ष नेताले एजेन्डाअनुसार अघि बढाउछन् अनि रोक्छन् ...
SkywellSkywell

काठमाडौं । आफै नेतृत्व लिन अग्रसर हुनुभन्दा शीर्ष नेतृत्वको निकट बन्ने होडबाजी चलिरहन्छ, दोस्रो पुस्ताका नेताहरूमा । किनभने शीर्ष नेताको पक्षमा उभिँदा राजकीय भाग्य चम्किन्छ, विपक्षमा उभिँदा सकिन्छ ।

यही खाले राजनीतिक परिदृश्य कांग्रेसमा हाबी थियो, अब एमाले, माओवादी हुँदै राष्ट्रिय स्वतन्त्र पार्टीमा पनि त्यही मानसिकता हाबी हुँदै गएको छ ।

दोस्रो तहका नेताहरूबीच पार्टी संगठनभित्र लोकप्रिय हुने, आफ्नो स्वतन्त्र अस्तित्व बनाउनेभन्दा शीर्ष नेताको नजिक हुने र शक्तिको प्रयोग गर्ने प्रतिस्पर्धा बढ्दो निरन्तर छ । दोस्रो पुस्ताले त्यसैमा ‘लाभ’ देखेका छन् ।

Royal Enfield Island Ad
KFC Island Ad
NIC Asia


दोस्रो पुस्ताले जबर्जस्त नेतृत्व लिन नसक्नुमा शीर्ष नेताको वरिपरि घुम्ने प्रवृत्ति नै ‘कारण’ र ‘कारक तत्व’का रुपमा लिने गरिन्छ । उता शीर्ष नेता आफ्नो जग बलियो राख्ने रणनीति छन् । उनीहरू युवाहरूलाई आफू अनुकूल प्रयोगका साधन बनाउँदै रणनीति कसिलो पार्छन् । 

हुन पनि घटनाक्रमले नै शीर्ष नेतृत्वले दोस्रो तहका तथा युवा नेतालाई आफूअनुकूल प्रयोग गर्न अनुकूलता या प्रतिकूलता विश्लेषण गरी नजिक–टाढा बनाएको देखाउँछ । 

विश्लेषकहरू पनि युवा नेताहरूले स्वतन्त्र छवि या अस्तित्व देखाउन प्रयत्नै कम गरेको तर्क राख्छन् ।  विश्लेषक प्रा.डा. लोकराज बराल शीर्ष नेतृत्वबाट दोस्रो तहका नेताहरू ‘प्रयोग’ मात्र बढी हुने गरेको बताउँछन् । 

प्रा. डा बरालले बाह्रखरीसँग भने, “दोस्रो तहका नेता नेतृत्वको अनुकूलतमा प्रयोग हुँदै आएका छन् । तल चाहिँ फलानोको मान्छे भन्ने हुन्छ । माथि उनीहरूले पकड बनाएर नेतृत्वकै विकल्प दिने गरी लागे छुट्टै कुरा हो । नत्र, अरुमा आश्रित भएका हुन्छन् । पार्टीमा हावी हुनुपर्नेमा प्रयोग भएका हुन्छन् ।” 

आमतहमा प्रभाव पार्नुपर्ने युवाहरू प्रयोग हुनुका पछाडि हाम्रो राजनीतिक चरित्र कारक भएको प्राध्यापक बरालको बुझाइ छ । हाम्रोमा एउटै नेतृत्वले दशकौँ ओगटेका कारण पनि युवा नेतृत्वमा प्रभाव पार्नेभन्दा अनुकूल भइदिने चरित्र निर्माण भएको उनको विश्लेषण छ । 

“संगठन नेतृत्वको पकडमा हुन्छ । दोस्रो या तेस्रो तहका नेताले पूर्णरुपमा आफूले भनेजस्तो गर्नै सक्दैनन् । किनभने नेपालको दलीय व्यवस्थाले नेतृत्वलाई शक्तिशाली बनाएको छ,” प्रा. डा बरालले भने ।

उनका अनुसार, बेलायतमा जस्तो एउटा चुनाव हारेपछि अर्को नेता उदाउने अभ्यास हामीकहाँ हुन सकेन ।  एकातिर उनीहरू (दोस्रो तहका नेता)लाई ‘सर्भाइभ’ गर्नुपरेको छ । केही कुरा चित्त बुझेको पनि छैन तै पनि अघि बढ्नुपरेको छ ।

हाम्रो पार्टी प्रणालीले पार्टीमा बसेपछि सम्झौता गर्नुपर्ने बाध्यता सृजना गरेको भन्दै यो क्रम कम्युनिष्ट पार्टीमा ज्यादा भएको उनको बुझाई छ । “कम्युनिष्ट पार्टीमा त नेतृत्वलाई चित्त नबुझे पार्टीबाटै निकाल्छन्,” बरालले भने, “कांग्रेसमा अलिक फरक छ । त्यहाँ स्वतन्त्रताको अभ्यास तुलनात्मक रुपमा धेरै भएको छ ।”

विश्लेषक बरालको विश्लेषणजस्तै कुनै बेला शीर्ष नेतृत्वको एकदमै निकट बनेका नेता आलोचक बनेपछि भूमिकाविहीन भएको दृश्य मञ्चन भएकै छन् । 

प्रमुख तीनवटा ठूला दल कांग्रेस, एमाले, माओवादीका केही नेताहरूको नेतृत्वसँग सम्बन्ध हेर्दा उनीहरू नेतासँग निकट हुँदा प्रभावशाली र नेतृत्वसँग दुरी राख्दा भूमिकाविहीन हुने गरेका छन् ।

कुनै बेला माधवकुमार नेपालको निकट र दलभित्र प्रभावशाली मानिन्थे, भीम रावल । 

उनी एमाले फुट्दा एमालेमै बसे । तर, १०औं महाधिवेशनमा केपी शर्मा ओलीसँग प्रतिस्पर्धा गर्न उद्यत भए । बदलामा उनी एमालेको राजनीतिमा भूमिकाविहीन जीवन बाँच्न बाध्य भए । उनकै जस्तो अवस्था घनश्याम भुसालले भोग्नु पर्‍यो । भुसाल एमालेमा भूमिकाविहीन मात्र होइन कि चुनावमा टिकटविहीन भएपछि स्वतन्त्र चुनाव लडे । 

चुनावी पराजयपछि उनी पहिले धोका दिएका माधव नेपालकै पार्टीमा प्रवेश गरी महासचिवको भूमिकामा छन् । त्यहाँ पनि नेतृत्वसँग सम्बन्ध सुमधुर नहुँदा उनी भूमिकाविहीन अवस्थामा पुगेका थिए ।  महाधिवेशनमा सर्वसम्मतिको बाटो रोज्दा उनी महासचिवमा निरन्तर भएको नेताहरू बताउँछन् । 

उनीबाहेक एमालेमा ओलीलाई चुनौती दिने ‘दश भाइ’ माधवकुमार नेपालको एकीकृत समाजवादीमा गएनन् । उनीहरू एमालेमै बसेका थिए । उनीहरूले अझै पनि एमालेमा महत्वपूर्ण भूमिका पाउन सकेका छैनन् ।

ओलीले आफू अप्ठेरोमा पर्दा साथ दिएका अष्टलक्ष्मी शाक्य र भीम आचार्यलाई केही समयका लागि मुख्यमन्त्री बनाए । त्यसबाहेक ‘दश भाइ’ले कुनै महत्वपूर्ण जिम्मेवारी पाएका छैनन् । यसबाहेक ओलीले आफू निकटहरूलाई समेत समयानुकूल प्रयोग गरिरहेका छन् । 
 
ओली नीति : कहिले शंकर कहिले विष्णु 

एमालेमा उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेलबीच शक्तिको लडाईं छ । पार्टीको प्रदेश अधिवेशनमा उनीहरूबीचको लडाईं स्पष्ट देखिएको थियो । एकै प्रदेशका यी नेताबीचको लडाईंले एमालेमा गुट पनि जन्मिरहेको विश्लेषण भइरहेको छ । 

प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली नजिक कहिले को कहिले को बन्ने गरेको घटनाक्रमले देखाउँछ । प्रदेश अधिवेशनमा ओलीको ‘साथ’ महासचिव पोखरेललाई थियो । 

लुम्बिनी प्रदेश अधिवेशनमा केन्द्रीय सदस्य हरि रिजाल उमेदवार बनेका थिए ।  ओलीले प्रष्ट नबोले पनि उनको चाहना रिजाललाई प्रदेश अध्यक्ष बनाउने थियो ।  तर, त्यहाँ पौडेल निकट राधाकृष्ण कँडेलले बाजी मारे ।
अरु प्रदेशमा पनि अध्यक्ष ओली र महासचिवले आफ्ना व्यक्तिलाई अध्यक्ष बनाउन ‘प्रेसर’ बढाएका थिए ।

०७४ को निर्वाचनमा तत्कालीन स्थायी कमिटी सदस्य पोखरेल प्रदेश झरेका थिए । उनी मुख्यमन्त्री पनि बने ।  एमाले र माओवादीबीच एकता भएपछि बनेको नेकपामा भने ओलीले महाधिवेशनबाट निर्वाचित महासचिवलाई पाखा लगाएर विष्णु पौडेललाई अघि सारेका थिए । 

नवौं महाधिवेशनबाट उपमहासचिव बनेका पौडेल नेकपाको महासचिव बनेका थिए ।  नेताहरूका अनुसार, प्रदेश झरेका पोखरेल आफू केन्द्रबाट टाढिएको निष्कर्षमा पुगेका थिए । पार्टीभित्र संकट मडारिँदा प्रदेशबाट बालुवाटार आइपुग्थे ।

उनले प्रदेश छाडेर आफू केन्द्र आउन चाहेको पनि आफू निकटस्थ नेताहरूलाई बताउने गरेका थिए । 

०७८ मंसिरमा भएको दशौं महाधिवेशनमा यी दुई नेता महासचिवको दाबेदार थिए ।  ओलीले पौडेललाई उपाध्यक्ष र पोखरेललाई महासचिव बनाउँदै ‘व्यवस्थापन’ गरे ।  ०७९ को निर्वाचनमा केन्द्रमा आउन खोजेका महासचिव पोखरेलले चुनाव हारे । 

पोखरेलले चुनाव हारेपछि पौडेलको भूमिका बढ्यो ।  गठबन्धन र सरकार बनाउने कुरामा पनि पौडेल हाबी भएका थिए ।  ०७९ पछिको निर्वाचनपछि सरकार बनाउने सन्दर्भमा पार्टीको सात उपाध्यक्षमध्ये निर्वाचित पौडेलको सक्रियता बढेको थियो । 

०७९ पुस १० गते माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड प्रधानमन्त्री बन्दा एमालेबाट त्यसको नेतृत्व पौडेलले गरेका थिए । उनी अर्थमन्त्री बनेका थिए । 

तर, ०८० फागुन २१ गते नयाँ गठबन्धन बनाउँदा भने ओली आफैं सक्रिय बनेको नेताहरू बताउँछन् ।  असारमा १७ गते कांग्रेससँगको गठबन्धन बनाउँदा ओलीको रोजाइमा पौडेल परेनन् ।  ओलीले सहमतिको ड्राफ्ट बनाउने जिम्मा एमालेबाट महासचिव पोखरेललाई दिएको थियो ।

एमाले नेताहरूका अनुसार कांग्रेस–एमाले गठबन्धनमा पौडेललाई अर्थमन्त्री बनाउने विषयमा ओली पहिले सकारात्मक थिएनन् ।  दबाबपछि मात्रै पौडेललाई अर्थमन्त्री बनाएको एमाले नेताहरूको भनाइ छ । पार्टीको गतिविधिमा पोखरेल हाबी भएका छन् ।
 
अध्यक्षपछि वरीयताका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल यतिबेला छायामा परेका छन् । ०७९ को निर्वाचनमा काठमाडौं–५ बाट पराजित भएपछि पोखरेल झनै ‘कर्नर’मा परेका छन् ।

एमालेको आठौं महाधिवेशनपछि सुरु भएको ओली–पोखरेलको ‘निकटता’ उतार–चढावपूर्ण छ ।  ०३३ मा कोअर्डिनेशन केन्द्रमा नै केन्द्रीय सदस्य भएका पोखरेल लामो समय माधव नेपालको साथमा थिए । 

उनी आठौं महाधिवेशनमा झलनाथ खनाल समूहबाट महासचिव बनेका थिए । तर,  निर्वाचित भएको केही समयपछि पोखरेल खनालसँग चुनाव हारेका ओलीको निकटस्थ बनेका थिए ।

नवौं महाधिवेशनमा पोखरेल ओलीको महासचिव बने । तर, दुईपटक महाधिवेशनबाट निर्वाचित महासचिव नेकपा गठन हुँदा भने ‘कर्नर’मा पारिए ।

आठौं महाधिवेशनमा उपमहासचिव बनेका विष्णु पौडेल तत्कालीन नेकपाको महासचिव बनेपछि ओली र पोखरेलको सम्बन्ध बिग्रियो ।  तथापि ओली क्याबिनेटमा पोखरेलले उपप्रधानमन्त्रीसहित रक्षामन्त्रीको जिम्मेवारी पाएका थिए । 

तर, पोखरेलसँग ओलीको असन्तुष्टि बढेको थियो । उनलाई मन्त्रालयको जिम्मेवारी खोसेर प्रधानमन्त्री कार्यालयमा तानिएको थियो ।  पदबाट हटाउन नसकेपछि घटुवा गरिएको आरोप लागेको थियो । 

दशौं महाधिवेशनबाट पोखरेल वरिष्ठ उपाध्यक्ष बने । तर, गठबन्धन, सरकार निर्माणमा निर्माणको भूमिकाबाट उनी टाढै रहेको नेताहरूको विश्लेषण छ ।  उपमहासचिव प्रदीप ज्ञवालीको अध्यक्ष ओलीसँग निकटकै सम्बन्ध छ । नवौं महाधिवेशनबाट सचिव बनेका ज्ञवाली १०औं महाधिवेशनबाट उपमहासचिव बने ।

त्यसो त, तत्कालीन नेकपा राजनीतिक रुपमा विभाजन हुँदा ०७७ पुस ७ गते ओली समूहको प्रवक्ताको जिम्मेवारी ज्ञवालीले पाएका थिए । 

पार्टीले गर्ने केही निर्णयमा प्रभावकारी भूमिका खेल्ने, अध्यक्ष ओलीलाई केही सल्लाह सुझाव दिने सन्दर्भमा पनि उनको केही हदसम्म भूमिका रहने नेताहरू बताउँछन् ।  त्यसो त, ०७९ को निर्वाचनमा पराजयसँगै उनी पनि केही मात्रामा छायामा परेका छन् । 

आफ्नै समूहका पृथ्वीसुब्बा गुरुङसँग ओलीको सम्बन्ध त्यति सुमधुर छैन ।  प्रष्ट वक्ता गुरुङको स्वभाव र गुटको द्वन्द्वका कारण गुरुङ पछिल्लो घेरामा रहेको एमाले नेताहरू बताउँछन् । 

०७४ को निर्वाचनमा प्रदेश झरेका उनी गण्डकीको मुख्यमन्त्री बने ।  गुरुङ ०७९ को निर्वाचनमा पनि प्रदेशमा नै जान चाहन्थे ।  तर, गुरुङले लमजुङ–१ बाट प्रतिनिधिसभाको टिकट पाए ।  माओवादी महासचिव देव गुरुङलाई पराजित गरेका पृथ्वी सुब्बा चुनाव जितेपछि पहिलो गठबन्धनमा मन्त्री बनेनन् ।  

उनको चाहना सभामुख पदका लागि पनि थियो । तर, ओलीले गुरुङलाई सभामुख बनाएनन् । ओलीको आफ्नै जिल्लाबासी देवराज घिमिरे सभामुख बनाइए ।  कांग्रेस–एमाले गठबन्धन बनाएपछि पनि गुरुङलाई मन्त्री बन्न रोक्न खोजिएको नेताहरू बताउँछन् । तर, हाल उनी सञ्चार मन्त्री तथा सरकारका प्रवक्ता छन् ।

एमालेमा अध्यक्ष ओलीसँगै हुने नेता हुन्, विष्णु रिमाल । 

पार्टीका उपमहासचिव रिमाल ओली प्रधानमन्त्री भएयता राजनीतिक सल्लाहकार बन्न छुटेका छैनन् । ओली चौथो कार्यकालका लागि प्रधानमन्त्री बन्दा ओलीले रिमाललाई नै प्रमुख राजनीतिक सल्लाहकार बनाएका छन् । 
नेपाल ट्रेड युनियन महासंघ जिफन्टको अध्यक्षको भूमिका पनि निर्वाह गरेका रिमाल ०६४ सालको समानुपातिक कोटामा संविधानसभा सदस्य भएका थिए । 

नवौं महाधिवेशनमा रिमाल ओली प्यानलबाट सचिवका उमेदवार थिए, तर पराजित भए । 

सचिवमा पराजित भए पनि केन्द्रीय सदस्य जितेका कारण उनले पोलिटव्यूरो सदस्य तथा पार्टीको आर्थिक विभाग प्रमुख बनेका थिए । 

उनी हाल पनि पार्टीको निर्वाचन विभाग प्रमुख छन् । १० औं महाधिवेशनबाट उपमहासचिव बनेका रिमाललाई अध्यक्ष ओलीले राष्ट्रपतिको उमेदवारका लागि तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई प्रस्ताव राखेको चर्चा समेत चलेको थियो ।

एमालेका अरु पदाधिकारीको सम्बन्ध उतारचढावपूर्ण छ । तत्कालीन वरिष्ठ नेता माधव नेपालसँग पार्टी विभाजनमा साथ नदिएका नेताहरूको सम्बन्ध त्यति निकटको देखिँदैन । 

पार्टीका अरु केही नेताहरू पनि केही समय ओलीका प्रिय पात्र बनेका थिए । तेस्रो तहका नेताहरू गोकुल बास्कोटा, महेश बस्नेतहरूको सम्बन्ध पहिले जस्तो निकटतम छैन । 


कांग्रेसमा देउवाका नजिक 

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पनि दोस्रो तहका नेताहरूलाई ‘उपयोग’ गर्ने मामलामा माहिर छन् । उनले क्षेत्रगत रुपमा नेताहरू भिडाएर आफू निकट बन्ने प्रतिस्पर्धामा उतार्नु उनको योग्यता नै बनेको छ ।

पहिले गिरिजाप्रसाद कोइराला र कृष्णप्रसाद भट्टराई दुवैको निकट हुँदै शक्तिमा पुगेका देउवा नेताहरूलाई उपयोग गरेर निरन्तर शक्तिमा छन् । 

सुदूरपश्चिमका नेताहरू रमेश लेखक, एनपी साउद र वीरबहादुर बलायरलाई भिडाएर शक्तिमा रहने देउवा आफू निकटहरू टाढिन लागे संस्थापन इतरका नेता दिलेन्द्र बडुलाई नजिक देखाएर उनीहरूलाई नजिक्याउने गर्छन् ।
कर्णाली प्रदेशमा प्रभाव राख्ने पूर्णबहादुर खड्कासँग सम्बन्ध चिसिएको छ । देउवाले खड्काकै जिल्ला सुर्खेतका संस्थापनइतरका नेता हृदयराम थानीलाई मन्त्री बनाउने निर्णय भइसकेको थियो । त्यसपछि खड्का थानीलाई रोक्न देउवा निवास धाएको चर्चा चलेको थियो । 

शेखर कोइराला समूहबाट मन्त्री बन्न लागेका थानीलाई रोक्न खड्काले ठूलै मेहनत गरेर ऐनबहादुर शाही मन्त्री बनेको देउवा निकटहरूको भनाई छ ।

देउवामा एउटा मन्त्री पद वा एउटा पदाधिकारी नियुक्ति देखाएर धेरै व्यक्तिलाई आफ्नो वरिपरि घुमाउन सक्ने क्षमता रहेको नेताहरू बताउँछन् ।  “मन्त्री बनाउँछु तर कतै पनि हल्ला नगर्नु, हल्ला गरे बनाउन सक्दिनँ है,” देउवाले यही भनेर धेरै नेताहरूलाई मख्ख पारिदिछन् ।

देउवाले आफूपछिको नेतृत्व तिमी हौ भन्दै नेविसंघ र तरुण दलको नेतृत्वबाट आएका खेलाडी नेताहरूलाई समेत आफू पक्षमा उभ्याइरहे । कांग्रेस विभाजित हुँदादेखि एकीकृत कांग्रेसको एकपटक नेतृत्व गर्छु भनी पछि लागेका विमलेन्द्र निधिले सभापतिमा फेरि पनि देउवा नै अघि बढेपछि विद्रोह गर्नुपर्ने अवस्था आयो ।

तर, उनको विद्रोह १४औं महाधिवेशनको हलबाट बाहिर निस्कदासम्म टिक्न सकेन । दोस्रो चरणमा उनै देउवालाई निधिले समर्थन गरे । उनी देउवासँग पुरानै भूमिकाको खोजी गरिरहेका छन् । तर, पाउन सकेका छैनन् ।

नेविसंघ र तरुण दलको राजनीतिमा नेतृत्वदायी भूमिकाबाट आएका निधिसहित, ज्ञानेन्द्रबहादुर कार्की, बालकृष्ण खाँण, डा. प्रकाशरण महत, एनपी साउद, शंकर भण्डारीजस्ता नेताहरूलाई त उनले आफ्ना कार्यकर्तामा सीमित राखेका छन् । 

समय समयमा उनी आफ्नो विपक्षी खेमामासमेत प्रवेश गरी खेल्ने गरेका छन् । 

मुद्दा अनुसार शेखर–गगन समूहका नेताहरू कहिले धनराज गुरुङ त कहिले गगन थापालाई त कहिले चन्द्र भण्डारीलाई प्रयोग गरेर समूहभित्र विश्वासको संकट ल्याउने र त्यसको लाभ उठाउने काम उनले समय समयमा गरिरहेकै छन् । 

आफ्नै समूहका नेताहरूलाई पनि उनी समयअनुसार फरक–फरक तरिकाले प्रयोग गरिरहेकै छन् ।

निर्वाचनअघिको पाँच दलीय गठबन्धनबाट ०७९ को निर्वाचनमा पहिलो दल भएपछि देउवालाई आफ्नै समूहका नेताहरूले आफै नेतृत्व लिन उक्साउँदा पुस १० गते गठबन्धन भत्किन पुगेको थियो । सभापति देउवाले नेताहरू प्रकाशशरण महत, आरजु राणालगायतले प्रचण्डलाई प्रधानमन्त्री दिन नहुने अडान लिए । त्यतिबेला प्रचण्ड ओलीको शरणमा पुगेर प्रधानमन्त्री बनेका थिए ।

त्यसरी भत्किएको गठबन्धन फर्काउने भूमिका खेलेका उपसभापति खड्का त्यसपछिको सरकारमा  हाबी भए ।

तर, सरकारमा गएपछि माओवादी अध्यक्षसँगै निकट हुँदा वैकल्पिक गठबन्धनमा उनी भूमिकाविहीन भए । एमाले–कांग्रेस गठबन्धन बन्दा रमेश लेखक र देउवा पत्नी आरजु राणा हाबी भए । 

०७९ को निर्वाचनमा कञ्चनपुर–३ बाट चुनाव जितेका लेखकलाई देउवाले प्रतिनिधिसभाको प्रमुख सचेतकको जिम्मेवारी दिएका थिए । 

कांग्रेस–एमाले गठबन्धन बन्दा सहमतिको ड्राफ्ट बनाउने टिममा कांग्रेसबाट लेखक थिए । सँगै ज्ञानेन्द्रबहादुर कार्की पनि थिए । देउवा प्रधानमन्त्री हुँदा कार्कीले पनि जिम्मेवारी पाएका थिए ।  दुई ठूला दलको गठबन्धनको सहमति अघि ड्राफ्ट समितिमा पनि रहेका लेखक ओलीको नेतृत्वको सरकारमा गृहमन्त्री छन् ।

देउवाले आफ्ना लागि उपयोगी व्यक्तिलाई भने सधैँ काखी च्याप्ने गरेका छन् । १३औं महाधिवेशनपछि सहमहामन्त्री नियुक्त गरेका डा. प्रकाशरण महतलाई त्यसयता देउवाले पटक–पटक मनोनीत गरेर जिम्मेवारी दिएका छन् । 

डा. महत अधिकांश समय समानुपातिक सांसद र मन्त्री बनिरहेका छन् । उनी ०७४ को प्रत्यक्ष निर्वाचनमा होमिँदा पराजय बेहोरेका थिए, काठमाडौं–५ मा ।  १३औं महाधिवेशनपछि मात्रै देउवाले उनलाई पाँचौ नियुक्ति दिइसकेका छन् । हाल पदाधिकारी सरहको अधिकार प्रयोग गर्न उनी प्रवक्ताको जिम्मेवारीमा छन् । 

१४औं महाधिवेशनमा देउवाको महामन्त्री लडेको महत पराजित भएपछि केन्द्रीय सदस्य मनोनित भए । मनोनीत केन्द्रीय सदस्य रहेकै बखत उनी प्रवक्ताको जिम्मेवारीमा छन् ।

२०७९ को निर्वाचनमा समानुपातिकतर्फ खसआर्य कोटाको १ नम्बरमा परेका उनी कांग्रेस–माओवादी गठबन्धन सरकारको अर्थमन्त्रीको भूमिका प्राप्त गरे । युवा तथा प्रभावशाली नेता विश्वप्रकाश शर्मा १३औं महाधिवेशनमा देउवाकै शरणमा पुग्न बाध्य भए ।

उतैबाट केन्द्रीय सदस्य भएका शर्मा पार्टी प्रवक्ताको भूमिकासमेत पाएका थिए ।  तर उनले सिधै महामन्त्री दाबी गरेपछि देउवाले उनलाई निकट राखेनन् । छुट्टै महामन्त्रीमा उमेदवारी दिएका शर्मा दुवैतर्फको मतमा ०७८मा महामन्त्री निर्वाचन भए ।

उनी महामन्त्री गगन थापासँगको सहकार्यमा देउवालाई चुनौती दिइरहेका छन् । कृष्णप्रसाद सिटौला समूहमार्फत् देउवासँग नजिकिएका अर्का युवा नेता प्रदीप पौडेल देउवा टिमको महामन्त्री उमेदवार बनेका थिए ।

पार्टी फुट्दा प्रजातान्त्रिक कांग्रेसको उपसभापति भएका प्रकाशमान सिंह एकतापछि देउवा टिम छाडेर कोइराला टिमबाट महामन्त्री निर्वाचित भएका थिए ।  १४औं महाधिवेशनमा सभापतिको उमेदवारी घोषणा र प्रचारमा निस्किएका प्रकाशमानले देउवा सभापति भए जनताले कांग्रेसलाई भोट नै नहाल्ने दाबी गरेका थिए । 

तर, दोस्रो चरणमा उनै देउवाको समर्थन गए, जिताए पनि । सिंह कांग्रेसबाट सरकारको नेतृत्व गर्दै उपप्रधानमन्त्री तथा सहरी विकास मन्त्री पद पाएका छन् ।

अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)को बहसमा कांग्रेस प्रतिरक्षात्मक थियो । त्यसबखत देउवाले साथ लिएका पात्र हुन्, महामन्त्री गगन थापा । सडक र सदन दुवैतिर बहस छेडिएका बेला एमसीसीमा हस्ताक्षर गर्ने तत्कालीन अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की कतै बोल्न सकेनन् ।

सदनमा र सार्वजनिक कार्यक्रममा समेत एमसीसीको पक्षमा वकालत गरेका महामन्त्री थापालाई त्यसअवधिभर देउवाले पूर्णरुपमा उपयोग गरे ।  महामन्त्री थापाकै प्रस्ताव र पहलमा एमसीसीको १२ बुँदे व्याख्यात्मक घोषणा तयार भएपछि एमसीसीका कट्टरविरोधी कम्युनिष्ट पार्टीहरूसमेत संसदमा निर्णयार्थ प्रस्तुत गर्दा पक्षमा उभिएका थिए ।

त्यतिबेला गठबन्धन दलका शीर्ष नेताको बैठकमा सहभागी गराउनेदेखि नीतिगत निर्णयमा रायसमेत माग्ने गरेका देउवाले उपयोग सकिएपछि थापालाई वास्ता गर्न छाडेका छन् ।

जनार्दन र वर्षमान भिडाएर उपयोग गर्दै प्रचण्ड

नेकपा माओवादी (केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका सहयात्रीहरू लाखापाखा लागिसकेका छन् । 

डा. बाबुराम भट्टराई, मोहन वैद्य किरण, रामबहादुर थापा बादल, टोपबहादुर रायमाझी, नेत्रविक्रम चन्द लगायतका नेताहरू यतिबेला माओवादीमै छैनन् । नेकपा एमालेमै रहेका रायमाझी त शरणार्थी काण्ड लागेपछि जेलमा छन् ।

माओवादीमा उपमहासचिवद्वय जनार्दन शर्मा र वर्षमान पुनलाई अध्यक्ष प्रचण्डले आवश्यकता अनुसार नजिक्याउने गरेका छन् । 

दुवै नेतालाई नचिढ्याउने नीति प्रचण्डले अबलम्बन गरेको देखिन्छ । पहिले एक–अर्कालाई प्रयोग गर्दा अफ्ठ्यारो पार्न थालेपछि उनीहरू दुबैलाई मिलाएर लैजाने रणनीति प्रचण्डले अलम्बन गरेको माओवादीका एक नेता बताउँछन् । 

पार्र्टीको आठौं महाधिवेशनमा दुई नेताले पार्टीको महासचिवमा दाबी गरेका थिए ।  महाधिवेशन हलबाट आफूलाई अध्यक्षमा मात्रै सर्वसम्मत् निर्णय गराएर निस्किएका प्रचण्डले दुवै नेतालाई महासचिव बन्नबाट रोकेर द्वन्द्व घटाउने काम गरे ।

उनले पार्टीको महासचिवमा देव गुरुङलाई भित्र्याए । दुवैलाई साइजमा राख्न गुरुङलाई महासचिवमा ‘इन्ट्री’ गराइएको विश्लेषण माओवादी वृत्तमा छ ।  

सरकार बनाउँदा पनि प्रचण्डले यी दुई नेतालाई आलोपालो अवसर दिइरहेका छन् । नेपाली कांग्रेससँगको गठबन्धन बनाउने विषयमा जनार्दन हाबी भएका थिए ।  तर, माओवादीमा एकल प्रभावमा रहेका प्रचण्डलाई जनार्दनले समय समयमा चुनौतीसमेत गर्ने गरेका छन् । 

“होला कहिलेकाहीँ आँखा जुधाएर कुरा गर्न मन लाग्छ, गरिन्छ पनि । तर त्यसैलाई असहयोग गर्यो भनेर नेतृत्वको आडमा नानाथरी बिल्ला भिराएर प्रचारबाजी गरिन्छ,” शर्माले बैठकमा सोधेका थिए, “अध्यक्ष कमरेडले भन्नुप¥यो– कुन चाहिँ अप्ठेरो मोडमा तपाईंले मेरो साथ र समर्थन पाउनु भएन ? तल तल कुन चाहिँ व्यक्तिलाई मैले मलाई गुटको नेता मान्नुपर्छ भनेर भोट मागेको छु ?”

जनार्दन र वर्षमानलाई आलोपालो उपयोग गर्ने प्रचण्डले एमालेसँग गठबन्धन हुँदा वर्षमान पुनलाई अर्थमन्त्री बनाए । एमालेसँगको गठबन्धन निर्माणमा भूमिका खेलेका पुनलाई अर्थमन्त्री बन्नुअघि नै बालुवाटारमा सक्रिय गराएका थिए ।

माओवादीमा बाबुरामसँग भिडाउन ल्याएका नारायणकाजी श्रेष्ठ पनि यतिखेर एक्ला जस्तै बनाइएका छन् । प्रचण्ड प्रधानमन्त्री हुँदा उनकै गृह र परराष्ट्रमन्त्री बनेका श्रेष्ठलाई पार्टीको हितभन्दा व्यक्तिगत लोकप्रियताका लागि काम गरेको आरोप लाग्यो ।

कृष्णबहादु्र महरालाई थुन्न भूमिका खेलेको र पदका लागि आफू र पदका लागि मात्र काम गरेको भनेर माओवादीमा फूटको गृहकार्यसमेत भएको थियो ।

त्यो थाहा पाएपछि रोक्न सफल भएका प्रचण्ड अझै पनि आफू नेतृत्वबाट हट्न तयार भएका दिनमात्रै वैकल्पिक नेतृत्व देखाउने कुरा खुलेरै बताउँछन् । सभामुख, पार्टीको प्रवक्ता हुँदै उपाध्यक्ष बनेका महरा महिला काण्डपछि छायामा छन् । 
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, साउन १३, २०८१  २०:३९
Sipradi LandingSipradi Landing
प्रतिक्रिया दिनुहोस्
NTCNTC
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
न्यायालयको अवहेलनाको लक्ष्मणरेखा
न्यायालयको अवहेलनाको लक्ष्मणरेखा
SubisuSubisu
Hamro patroHamro patro