काठमाडौं । ललितपुरको ठैवका बासिन्दामा हैजाको संक्रमण पुष्टि भएसँगै उपत्यकावासीमा त्रास देखिएको छ । लगातारको वर्षा, असुरक्षित खानेपानी, अव्यवस्थित फोहोरसहितका कारणले पनि काठमाडौं उपत्यका हैजाको उच्च जोखिममा छ ।
साउन ११ गतेसम्म उपत्यकाभित्र ललितपुरको गोदावरी नगरपालिका–१४, ठैवस्थित एक रिह्याब सेन्टरका पाँच जनामा मात्रै हैजा पुष्टि भएको छ ।
सेन्टरबाहिर अन्य स्थानीयमा हैजाका लक्षण नदेखिएको वडाध्यक्ष निरोज बज्राचार्य बताउँछन् । संक्रमण पुष्टि भएकामध्ये चार जनाको स्वास्थ्य अवस्था ठिक भइसकेको छ ।
बर्खायाममा हैजा संक्रमणको जोखिम उच्च रहने भन्दै इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी)ले खानेपानी र खानामा सतर्कता अपनाउन आग्रह गरेको छ ।
यसअघिका वर्षहरूमा पनि काठमाडौंमा हैजाको 'हब' नै बनेको थियो । ०७९ असार ५ गतेदेखि काठमाडौंमा देखिएको हैजा पाँच जिल्लामा फैलिएको थियो । ईडीसीडीका अनुसार सो वर्ष उपत्यकाका ७६ जनामा हैजा पुष्टि भएको थियो ।
०७८ मा उपत्यकाका ११ पालिकासहित नुवाकोटको ककनीमा हैजा संक्रमण देखिएको थियो ।
गएको वर्ष असारको दोस्रो सातादेखि नै शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालमा हैजाका बिरामी भर्ना भएर उपचार गराएका थिए ।
अस्पताल आइपुग्ने संक्रमित सीमित भए पनि समुदायमा करिब एक महिनाअघिदेखि नै हैजा संक्रमण देखिएको वरिष्ठ संक्रामक रोग विशेषज्ञ डा. शेरबहादुर पुन दाबी गर्छन् । सामान्य हैजाका बिरामी अस्पताल नआए पनि समुदायमा हैजा फैलिरहेको उनको भनाइ छ । खानेपानीका स्रोतहरू सुरक्षित नहुनु, ढल निकास व्यवस्थित नहुनु, जारको पानीसमेत शुद्ध नहुनु र सरकारी निकायको अनुगमन फितलो हुनुले पनि हैजा फैलिने जोखिम बढेको डा. पुनको अनुभव छ ।
काठमाडौं उपत्यकामा यतिखेर डेंगी, स्क्रब टाइफस, हैजा, भाइरल ज्वरोजस्ता किटजन्य र पानीजन्य रोगहरू सँगसँगै देखिरहेको उनले बताए ।
ललितपुरमा हैजा देखिएसँगै खानेपानीको परीक्षण बढाइएको छ । असारदेखि नै पानी परीक्षण भइरहेको र निरन्तर विभिन्न स्रोतका पानी परीक्षण गरिने स्वास्थ्य कार्यालय काठमाडौंका प्रमुख सागर घिमिरेले बताए ।
ईडीसीडीको अर्लि वार्निङ एन्ड रिपोर्टिङ सिस्टम (ईवार्स) मा रिपोर्ट भएका झाडाबान्ताका केसलाई हेरेर सोही स्थानमा पानीको परीक्षण गरिने घिमिरेले जानकारी दिए । काठमाडौं जिल्लामा भने हालसम्म हैजाको संक्रमण नदेखिएको उनले पुष्टि गरे ।
हैजा संक्रमणबाट बच्न शुद्ध पिउने पानीमा ध्यान दिन र बाहिरको खाने कुरा नखान सुझाव दिन्छन्, डा. पुन । ०७९ असारमा काठमाडौंको बागबजारमा ट्युवबेल र धाराको पानी नउमाली पिउने गरेको परिवारमा हैजा संक्रमण देखिएको थियो ।
पानी शुद्धीकरणका लागि विभिन्न उपायहरू अपनाइए पनि सबैभन्दा भरपर्दो उपाय उमालेर पिउनु नै भएको बताउँछन्, नास्टका वरिष्ठ वैज्ञानिक भोजराज पन्त ।
पानी शुद्धीकरण गर्न प्रयोग गरिने रसायनको मात्रा नमिले स्वास्थ्यलाई असर गर्ने भएकाले उमालेको पानी नै सुरक्षित र शुद्ध हुने उनको भनाइ छ । ठूलो भाँडोमा एकपटक उमाल्ने र छोपेर राखेर पटकपटक प्रयोग गर्न सकिने उनको सुझाव छ ।