site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
पहिरो जान लागेको कसरी थाहा पाउने ? 
फाइल तस्बिर ।

काठमाडौं । मनसुन सुरु भएपछि बाढी तथा पहिरो जानेक्रम बढेको छ । हरेक वर्ष पहिरोका कारण सयौं मानिसको ज्यान जाने गरेको छ । ठूलो परिमाणमा भौतिक क्षति हुँदै आएको छ । 
 
त्यसैले पहिरोको जोखिम कम गर्न र यसबाट बच्न सरकारले आग्रह गर्दै आएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले स्थानीयस्तरमै पहिरोको जोखिम कम गर्न सकिने र सचेत भए यसबाट बच्न सकिने जनाएको छ ।

पहिरो जानुअघि यसका पूर्व संकेतहरू हुने र यसबारे जानीराखे क्षति कम गर्न सकिने प्राधिकरणको भनाइ छ । प्रायः सुख्खा रहेको भिरालो जमिन पानी नपर्दै रसाउँछ र भुक्क फुल्छ । 

“जमीनमा चिरा परेको देखिनु, धाँजा फाट्नु र यो क्रम बढ्दै जानु, रुख, बिजुलिका खम्बा तथा घरहरू ढल्नु वा बांगो  देखिन्छ,” प्राधिकरणले भनेको छ, “जरुवा पानीको मुल सुक्नु तथा अस्वाभाविक रुपमा धमिलो हुनु अथवा नयाँ ठाउँबाट पानी पलाउन सुरु हुनु पहिरोका पूर्वसंकेत हुन् ।” 

घरका भित्तामा चिरा देखिनु र यो बढ्दै जानु पनि पहिरोको संकेत हो । घरका झ्याल–ढोका बांगिनु र खोल्न गाह्रो हुनु पनि पहिरोको संकेत भएको प्राधिकरणले जनाएको छ । 

भिरालो जमिनको बाहिरी सतह बग्न थाल्नु र ढुंगा माटो खसेको जस्तो आवाज आउनु पहिरोको पूर्वसंकेत भएको प्राधिकरणले जनाएको छ । जमिनमुनीबाट चट्टान फुटेको जस्तो कट्कट् आवाज आउनु र जमिन थर्केको जस्तो आवाज आउनु पहिरो जाने संकेत हो । 

यस्ता संकेत देखिए नआत्तिने तर तत्काल सुरक्षित स्थानतर्फ सर्नु पर्छ । उद्धारकर्मी तथा सुरक्षाकर्मीलाई खबर गर्नु पर्ने प्राधिकरणले जनाएको छ । 

पानी बग्ने खोल्सीतिर भाग्नु हुँदैन । माथितिर पानी परेको छ भने दायाँ वा बायाँतिर भाग्नु पर्ने जनाएको प्राधिकरणले स्थानीय निकायलाई खबर गरेर सहयोग गर्न आग्रह गरेको छ ।

पहिरो आउन लागेको कसरी थाहा पाउने ?
१. घर–आँगन, बस्ती वरिपरि चिरा परेको देखिनु ।
२. जमिनबाट कटकट गर्ने आवाजहरू आउनु ।
३. रुख र बिजुलीका पोलहरू ढल्किएको देखिनु ।
४. पानीका मूलहरू अस्वाभाविक रुपमा सुक्नु अथवा मूलहरू बढ्नु, नयाँ ठाउँमा मूलहरू देखापर्नु र भइरहेका मूलबाट धमिलो पानी आउनु ।
५. भिरालो जमिनबाट ढुंगा, माटो खस्नु ।
६. ठाडो खोल्साहरूमा एक्कासि बहाव रोकिनु । माथिपट्टि पहिरो खसेर थुनिएर रोकिएको हुनसक्छ ।
७. घरका झ्याल–ढोका एक्कासि बन्द गर्न र खोल्न अप्ठ्यारो हुनु ।
८. घरका भित्ता र भुइँमा चिराहरू देखिनु ।
९. बस्तीभन्दा तलपट्टि ठूलो खोला अथवा नदी छ र त्यसले सक्रिय रुपमा जमिन कटान गर्न लागेको छ भने अब पहिरो जाँदै छ भनेर बुझ्नुपर्छ । र, तत्काल सुरक्षित स्थानतर्फ स्थानान्तरण हुन जरुरी हुन्छ ।

पहिरो जान नदिन पूर्वतयारी कसरी गर्ने ?
१. बर्सातभन्दा अगाडि नै भेल–पानीलाई बस्तीनजिक अथवा कमजोर भू–भागमा एकत्रित नगरेर सुरक्षित ठाउँबाट त्यसलाई निकास दिने ।
२. बर्सातअगाडि घर वरपर साना कान्लाहरूमा चिराहरू देखिएको छ भने चिम्टाइलो माटो लगेर त्यसमा खाँदेर पुर्ने । सम्भव भएसम्म त्यसमा पानी छिर्न नपाओस् भनेर त्रिपाल वा प्लास्टिकले छोप्ने ।
३. पुरानो पहिरो गएको स्थानमा बस्ती नबसाउने ।
४. नदी–नालाको पानीको बहावलाई जमिन कटान हुन नदिने गरी व्यवस्थापन गर्ने । यसमा विभिन्न इन्जिनियरिङ डिजाइनहरू पनि पर्छन् ।
५. जथाभावी डोजर, एक्साभेटर प्रयोग नगर्ने ।
६. भिरालो डाँडा वा पहाडको ठ्याक्कै मुनि बस्ती नबसाल्ने ।

प्रकाशित मिति: शुक्रबार, साउन ११, २०८१  ०७:४१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro