site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
कीर्तिपुरमा तीनसय दिनमै बन्ला प्यारापिट र फ्लड लाइटसहितको रंगशाला ?
SkywellSkywell

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले पदभार सम्हालेको दिन (सोमबार) नै मन्त्रिपरिषद्को बैठकपछि सामाजिक सञ्जालमा लेखे, ‘पहिलो निर्णय–क्रिकेट रंगशाला !! ।’ 

उनी अगाडि लेख्छन्, “कीर्तिपुर क्रिकेट मैदानलाई सुविधासम्पन्न रंगशाला बनाउने, जसमा दर्शक बस्नको लागि प्याराफिट, रात्रिकालीन खेलको लागि फ्लडलाइट निमार्ण गर्ने लगायत आवश्यक संरचना बनाउने निर्णय भएको छ । यस कामका लागि तीन सय दिनको समयसीमा तोकिएको छ ।”

प्रधानमन्त्रीको पहिलो निर्णय नै कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानको बारेमा हुँदा सामाजिक सञ्जालको यो पोस्टमा कमेन्टको ओइरो लागेको छ । जसमा सकारात्मक र नकारात्मक दुवै कमेन्ट छन् ।

Dabur Nepal
NIC Asia

प्रधानमन्त्रीको यही पोस्टमा सुजन गौतम लेख्छन्, “३०० दिनको सुरुवात कुन दिनदेखि हो ? हजार दिनमै बन्यो भने नि निकै ठूलो काम हुनेछ ।”

सुरज अघिकारी कमेन्ट गर्दै लेख्छन्, “सही निर्णय बा, खेलाडीलाई माथिल्लो प्राथमिकतामा राख्नुस विदेशी खेलाडीले पनि सम्मान गरोस् हाम्रा खेलाडीहरुलाई । क्रिकेट पहिलो प्राथमिकतामा होस् ।”

जनभावनामा पौडिन माहिर ओलीले पहिलो निर्णयमा क्रिकेटलाई राख्नु पनि उनको राजनीतिक चतुर्‍याइँलाई बुझ्न सकिन्छ । 

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको गणबन्धन सरकारको समर्थन फिर्ता लिई नेपाली कांग्रेससँगको नयाँ गठबन्धन सरकारको नेतृत्वमा पुगेका ओली पहिलो निर्णयबाट नै क्रिकेटप्रेमी समर्थकमाझ चर्चामा रहे । 

भलै सामाजिक सञ्जालमा सस्तो लोकप्रियता पाउन भन्दै यसप्रति टिकाटिप्पणी चर्को किन नहोस्, उनी अझैसम्म क्रिकेट चर्चामा भने पक्कै छन् ।

ओली नेतृत्व सरकारको यो निर्णयप्रति नेपाल क्रिकेट संघ (क्यान) पनि मख्ख छ । 

तर, ओलीले भनेझै कीर्तिपुर क्रिकेट मैदान प्यारापिट र फ्लड लाइटसहितको रंगशालामा परिणत हुन्छ त ? यसको जवाफमा भने क्यान पनि अलमल्ल देखिन्छ ।  क्यानका प्रवक्ता छुम्बी लामा भन्छन्, “बनाउन समय लाग्ला तर बनाउने कुरा आउनु नै ठूलो हो ।”

निर्णय कार्यान्वयन कठिन भए पनि असम्भव नरहेको लामाको तर्क छ ।

kirtipurd-1721620988.JPG
 

“पहिलो निर्णय नै यस्तो हुँदा क्यान उत्साहित छ । यसअघि पनि फ्लड लाइटको विषयमा कुरा उठेर काम अघि बढिरहेकै थियो । यो अहिले पनि टेन्डर प्रकृयामा नै छ । प्यारापिटको विषयमा पनि यसअघि छलफल भइरहेको थियो,” प्रवक्ता लामा भन्छन्, “अहिले पनि खेलकुदमन्त्री, राखेप पदाधिकारी र क्यानबीच कसरी यसलाई अघि बढाउन सकिन्छ भन्ने विषयमा प्रारम्भिक छलफल भएको छ । बनाउन त समय लाग्ला नै । अब बनाउने भन्ने कुरा नै ठूलो हो अहिले । चाहे त बन्ने नै भयो । तर, यसको लागि क्याबिनेटले त्रिविकै लागि छुट्टै कार्यविधि बनाएर अघि बढ्नु पर्छ । यस्तो भए प्रधानमन्त्रीज्यूले भनेजस्तै ३०० दिन पनि नलाग्ला ।”

अहिले पनि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा रंगशाला स्तरोन्नतीको कार्य धमाधम भइरहेको छ । 

क्यानले आफ्नै स्रोतबाट त्रिवि क्रिकेट मैदानको स्तरोन्नती गर्दैछ । मैदानको पिचको स्तरोन्नती भइरहेको छ ।  क्यानले अहिले बंगलादेशी क्युरेटरको निगरानीमा पिचको माथिल्लो भागको माटो निकालेर नयाँ राखेको छ । मैदानको घाँसलाई मिलाइरहेको छ । आउटफिल्ड अझ राम्रो बनाउने कार्य भइरहेको छ । 

प्रशिक्षणमा प्रयोग हुने मैदान बाहिरका पिचको पनि स्तरोन्नति भइरहेको छ ।  मैदानलाई केही ठूलो बनाउन पनि क्यानले काम गरिरहेको छ । मैदानमा रहेको ‘टेम्प्रोररी साइड स्क्रिन’लाई स्थिर बनाउन प्राविधिक टिमसँग छलफल चलिरहेको क्यानले जनाएको छ ।

यी सबै काम प्रधानमन्त्री ओलीको पहिलो निर्णय आउनुअगावै सुरु भएका हुन् । र, अहिलेसम्म प्रधानमन्त्रीको त्यो निर्णयले यी कामको रफ्तारलाई फरक पारेको छैन ।

मन्त्रिपरिषद्को पहिलो निर्णयपछि अहिले राष्ट्रिय खेलकुद परिषद् (राखेप), खेलकुद मन्त्रालय र क्यान यसलाई कसरी कार्यान्वायनमा ल्याउने भन्ने विषयमा छलफलमा तातेका छन् ।  खेलकुद मन्त्रालयसँग यो निर्णय कसरी कार्यान्वायन हुन्छ भन्ने विषयमा जवाफविहीन छ । तर, निर्णय कार्यान्वायन गर्न तीन तहबीच सहकार्य भइरहेको बताउँछन्, मन्त्रालयका प्रवक्ता रुद्रप्रसाद अधिकारी । 

“राखेप र क्यानलाई बोलाएर मन्त्रीज्युले मैदानको अवस्था कस्तो र अब काम अघि बढाउन के–के गर्नुपर्छ भन्ने विषयमा छलफल गर्नुभएको छ । अहिले यी सबै कुराहरु छलफलकै क्रममा रहेकाले मैले केही भन्न सकिन,” प्रवक्ता अधिकारीले बाह्रखरीसँग भने ।

१५ महिनामा नबनेको फ्लड लाइट तीन सय दिनमा बन्ला ?

२०७९ चैत ३ गते तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले त्रिवि क्रिकेट मैदानमा फ्लड लाइट र डिजिटल स्कोर बोर्ड राख्न निर्देशन दिएका थिए । 

त्यसबेला आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत युनाइटेड अरब इमिरेट्स (यूएई) सँगको खेल हेर्न त्रिवि मैदान पुगेका दाहालले यसका फ्लड लाइट र स्कोर बोर्ड राख्न निर्देशन दिएका थिए । 

CAAN-1721620987.JPG
 

प्रधानमन्त्रीको निर्देशनपछि राखेपले पहिलो पटक २०८० बैशाख ४ गते फ्लड लाइटको लागि टेन्डर आह्वान गरेको थियो ।  त्यसयता राखेपले फ्लड लाइटलाई मात्रै चारपटक बोलपत्र आह्वान गरिसकेको छ । तर, विविध कारणले टेन्डरका लागि छनोट भएका कम्पनी पनि टेन्डर रद्द हुँदा हालसम्म फ्लड लाइटको प्रगति शून्य छ । 

राखेपबाट हाल फ्लड लाइटको निम्ति चौथोपटक गरेको टेन्डर प्रकृयामा छ । राखेप प्रचार–प्रसार विभागका प्रमुख खुसराज दाहालका अनुसार चौथो पटकको बोलपत्र आह्वानमा आवेदन दिएका कम्पनीहरुको मूल्यांकन भइरहेको छ ।

“हालसम्म त्रिवि क्रिकेट मैदानमा फ्लड लाइट राख्न चौथोपटक टेन्डर आह्वान भइसकेको छ । तर, यसअघिका तीन टेन्डरमा यसको प्रकृया अघि बढ्न सकेन । अहिले चौथो पटकमा टेन्डर भरेका कम्पनिहरुको विस्तृत अध्ययन भइरहेको छ,” राखेप प्रचार विभागका दाहालले बाह्रखरीसँग भने ।

प्रधानमन्त्री ओलीले सार्वजनिक गरेको पहिलो निर्णयमा प्यारापिट निमार्ण गर्ने पनि उल्लेख छ । तर, प्यारापिटको सन्दर्भ फ्लड लाइटको भन्दा पनि विजोग छ । ३०० दिनभित्रै बनाउने भनिएको प्यारापिटबारे हालसम्म टेन्डर प्रक्रिया पनि सुरु भएको छैन । 

मैदानको स्कोरबोर्डमा भने राष्ट्रिय खेलकुद परिषद् (राखेप) अन्तर्गत रहेर डिजिटल स्कोरबोर्डको काम अघि बढिरहेको छ । २०८१ वैशाखमा आह्वान भएको बोलपत्रबाट छनोट भएको पञ्चकन्या–हिमालयन जेभीले अहिले स्कोरबोर्डको काम धमाधम गरिरहेको छ ।

राखेपका सदस्यसचिव टंकलाल घिसिङले मन्त्रीपरिषद्को निर्णयपछि खेलकुद मन्त्रालय, राखेप र क्यानबीच यस विषयमा छलफल भइरहेकोब बताए । तर, प्यारापिटका लागि बजेट नै नछुट्टिएको र अन्य कानुन प्रकृया पनि पुरा गर्नुपर्ने हुँदा ३०० दिनभित्र सबै तयार हुन्छ भनेर दाबी गर्न सकिने अवस्था भने नरहेको घिसिङ बताउँछन् ।

घिसिङका अनुसार यस विषयमा राखेप, खेलुकद मन्त्रालय र क्यानबीच त्रिपक्षीय छलफल भइरहेको छ । प्यारापिटको लागि यस वर्ष छुट्टै बजेट विनियोजन भएको छैन । तर, प्रधानमन्त्रीले नै घोषणा गरिसकेपछि बजेट अभाव हुँदैन भन्ने घिसिङको तर्क छ 

“स्कोरबोर्डको काम प्रारम्भ भइसकेको छ । फ्लड लाइटको विषयमा ३०० दिनसम्म समस्या छैन,” सदस्यसचिव घिसिङले बाह्रखरीसँग भने, “प्यारापिट राखेपले नभई क्यानले नै बनाउने हो । यसका लागि हामीले डीपीआर मागेका छौँ ।”

डीपीआरपछि बजेटको सुनिश्चितता भएपछि र अरु कानुनी झमेला सुल्झाइसकेपछि बल्ल टेन्डर खरिद प्रकृया अपनाउन पाइन्छ । 

के हुन् रंगशालामा न्युनतम आवश्यकता ?

रंगशाला बन्न आवश्यक अनिवार्य शर्त कहीँकतै उल्लेख भएको देखिँदैन । तर, पनि यसको न्युनतम आवश्यकतामा दर्शक बस्ने स्थान (प्यारापिट), कमेन्ट्री बक्स, ड्रेसिङ रुम, भित्रिने–बाहिरिने गेट, खेल्न योग्य मैदान, स्कोरबोर्ड, फ्लड लाइटजस्ता कुराहरु पर्दछन् । 

यीमध्ये कीर्तिपुरको मैदानबाहेक, अन्य केही पनि अन्तर्राष्ट्रिय स्तरको छैन । क्यानले भीआईपी दर्शकका निम्ति कुर्सीको व्यवस्था गर्ने गरे पनि खेल हेर्न जाने सामान्य दर्शकसँग भुइँमा बस्नुको विकल्प हुँदैन । 

दर्शकको चाप थेग्न नसक्दा मैदान प्रवेश गर्ने गेट बारम्बर भत्किनु सामान्य बनिसक्यो । ड्रेसिङ रुमले पनि अन्तर्राष्ट्रिय मापदण्ड पूरा गर्न सक्दैन । कमेन्ट्री बक्सको हालत पनि उस्तै छ । 

पछिल्लो एक दशकयता नेपाली घरेलु तथा अन्तर्राष्ट्रिय क्रिकेट खेलहरुको कमेन्ट्री गर्दै आएका खेलकुद पत्रकार आभास घिमिरे पनि त्रिवि क्रिकेट मैदानको कमेन्ट्री बक्सले रंगशालाको मापदण्ड पूरा नगर्ने बताउँछन् ।

“कीर्तिपुरमा अहिले भएको कमेन्ट्री बक्स नराम्रो छैन । तर, राम्रो पनि छैन । बक्सबाट मैदानको सबैतिर देख्ने स्थानमा कमेन्ट्री बक्स हुनुपर्छ । तर, त्यो छैन । बाहिरको आवाज र इकोले पनि कमेन्ट्रीमा असर गर्छ । कमेन्ट्री बक्स निश्चित स्थान नै छैन । मैदानको चारैतर्फको दृष्य हेर्न सकिने र बाहिरको आवाज नआउने भए कमेन्ट्रीको स्तरमा पनि फरक पारिरहेको हुन्छ,” घिमिरेले बाह्रखरीसँग भने ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, साउन ७, २०८१  ०९:४९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu