
काठमाडौं । अमेरिकी साइबर सुरक्षा कम्पनी क्राउडस्ट्राइकले विश्वभर विभिन्न कम्प्युटरहरूमा आएको समस्याको कारण पत्ता लागेको बताएको छ ।
माइक्रोसफ्ट अपरेटिङ सिस्टम विन्डोज प्रयोग भएका र क्राउडस्ट्राइकको एन्टीभाइरस प्रयोग भएका कम्प्युटर शुक्रबार डाउन भएका छन् ।
क्राउडस्ट्राइकका सीईओ जर्ज कुर्ट्जले समस्या पत्ता लागिसकेको र समाधान भइरहेको बताएका छन् । लिनक्स र म्याकमा भने समस्या नरहेको उनको भनाइ छ ।
सामाजिक सञ्जाल एक्समा उनले लेखेका छन्, “विन्डोज प्रयोगकर्ताका लागि भएको सिंगल कन्टेन्ट अपडेटका कारण आएको समस्या समाधानका लागि क्राउडस्ट्राइकले ग्राहकहरूसँग मिलेर काम गरिरहेको छ ।”
उनले यो कुनै सुरक्षा घटना वा साइबर आक्रमण नभएको र समस्या पत्ता लागेर समाधान भइरहेको बताएका छन् । उनले कम्पनीको वेबसाइटबाट जानकारी लिइराख्न आग्रह गर्दै अपडेट दिइरहने भनेका छन् ।
सीईओ कुर्ट्जले समस्या सामना गरिरहेका कम्पनी एवं संस्थाहरूलाई क्राउडस्ट्राइकसँग निरन्तर सम्पर्क गर्न आग्रह गर्दै आफ्नो पूरै टिम सपोर्टमा लागेको बताएका छन् ।
अमेरिकाको सेयर बजारमा शुक्रबारको प्रिओपनिङमा कम्पनीको सेयर मूल्य २१ प्रतिशत घटेको छ । यसले रातारात कम्पनीले १६ अर्ब अमेरिकी डलर गुमाएको बीबीसीले उल्लेख गरेको छ ।
कम्प्युटरहरूमा आएको समस्याका कारण भारत, बेलायत, अस्ट्रेलियालगायत कयौँ देशमा विमानस्थल, अस्पताल, बैंक लगायतको सेवा प्रभावित भएको छ ।