
काठमाडौं । पटकपटक दिएको समयसीमामा दर्ताको प्रक्रियामा नआएपछि सरकार फेसबुकप्रति लचक बनेको छ । गत चैत ७ गते एकमहिने समयसीमा सकिएपछि सरकारले पुनः एक हप्ता म्याद थप गरेको थियो । तर, फेसबुकले दर्तामा चासो नदिएपछि सरकार पछि हट्न बाध्य भएको हो ।
मन्त्रालयका प्रवक्ता गजेन्द्रकुमार ठाकुरले अब दर्ताको म्याद नतोकिने बताए । तर, ढिलोचाँडो मेटासहितका कम्पनी दर्तामा आउनैपर्ने उनको भनाइ छ ।
“औपचारिकरूपमा मेटाले हालसम्म कुनै जानकारी दिएको छैन । अब म्याद तोकिँदैन, विस्तारै दर्ताको प्रक्रियामा आउला,” उनले भने, “फेसबुक रिस्ट्रचरिङ फेजमा रहेका कारण पनि तत्काल दर्तामा नआएको भन्ने सुन्नमा आएको छ । दर्ता गर्न त आउनैपर्छ ।”
सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले दर्तामा नआए फेसबुकको माउ कम्पनी मेटालाई बन्द गर्ने बताएका थिए ।
नेपालमा टिकटक, भाइबर, एसएआरएल र सारांश मिडिया ल्याबमात्र दर्ता भएका छन् । तर, अझै केही ठूला कम्पनी दर्तामा आएका छैनन् ।
सरकारले सामाजिक सञ्जाल सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सूचीकरण गराउन, नेपालभित्र सम्पर्क विन्दु, आवासीय गुनासो सुन्ने अधिकारी र स्वनियमन परिपालनाको निगरानी गर्ने अधिकारीको समेत व्यवस्था गर्न निर्देशिका ‘सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्न निर्देशिका, २०८०’ लागु गरेको छ । तर, पटकपटकको प्रयासमा समेत ठूला प्लेटफर्म दर्ता हुन आएका छैनन् ।