site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
राष्ट्र बैंकमा २६ वर्ष : पहिलो तलब, साइकल र सुट
SkywellSkywell

मीनभवनस्थित नेपाल कमर्स क्याम्पसमा आईकम पढेर अन्तिम जाँच दिएर बसेको थिएँ । बुबाले मलाई दिनुभएको लक्ष्य ६० प्रतिशतको भूतले तर्साइरहेकै थियो । यो अंक ल्याउन सकिएलाजस्तो लागेन । बुबाले पठाउने रसद पानी रोकिने भयो भन्ने भय थियो । त्यसैले म जागिरको खोजीतिर लागेँ ।

बानेश्वरमा केशव बाँस्कोटाज्यू बस्नुहुन्थ्यो । उहाँको घर तौलिहवा थियो । बानेश्वरमा एउटै टोलमा बस्दा उहाँले आफ्ना दाजुबाट गुप्ताजी भन्ने नाम पाउनुभएको रहेछ । त्यसैले हामी पनि उहाँलाई गुप्ता अंकल भनेर बोलाउँथ्यौँ ।

उहाँ नेपाल राष्ट्र बैंकमै काम गर्नुहुन्थ्यो । उहाँले नै राष्ट्र बैंकमा जागिर खुलेको छ, परीक्षा देऊ भनेर प्रोत्साहित गरिरहनुहुन्थ्यो । नभन्दै नेपाल राष्ट्र बैंक र साझा प्रकाशनको कर्मचारी आवश्यकतासम्बन्धी विज्ञापन प्रकाशित भएको देखेँ । यस पदका लागि एसएलसी आधारभूत योग्यता थियो । 

Dabur Nepal
NIC Asia

मलाई भने उहाँको कुरा खासै चित्त बुझ्दैनथ्यो । ‘म जागिर खानुपर्ने परिवारको मान्छे हो र ?’ मेरो भित्री मनमा यस्तै दम्भयुक्त प्रश्न आउँथ्यो । मैले राष्ट्र बैंकको जागिर खान उति मन नगरेको देखेपछि उहाँले नै भन्नुभयो, ‘तिमी सीए पढ्ने भन्छौं । भोलि राष्ट्र बैंकले नै सीए पढाउँछ नि !’ 

उहाँको यस पछिल्लो वाक्यले भने मलाई राष्ट्र बैंकको जागिरले आकर्षित गर्न थाल्यो । उहाँले नै परीक्षा फाराम ल्याइदिनुभयो । राष्ट्र बैंक समाचार भन्ने किताब पनि ल्याइदिनुभयो । त्यसमा परीक्षामा सोध्न सकिने प्रश्नसँग मिल्दाजुल्दा विषयवस्तुमा लेखहरू प्रकाशित गरिएका थिए । एउटा लेखको शीर्षक अझै पनि सम्झिन्छु, ‘देश विकासमा वाणिज्य बैंकको भूमिका ।’
 
यही शीर्षकको लेख पढेर राष्ट्र बैंकको जाँच दिन गएँ । नभन्दै परीक्षामा त्यही सोधेको थियो । त्यसै बेला साझा प्रकाशनको पनि जाँच दिएको थिएँ । लिखितमा त दुवैतिर मेरो नाम निस्किहाल्यो । 

भिनाजु खेमबहादुर रायमाझी राष्ट्रिय वाणिज्य बैंकमा प्रथम श्रेणीको अधिकृत होइसिन्थ्यो । गोरखापत्रमा राष्ट्र बैंकले प्रकाशन गरेको नतिजामा राजन सिंह नाम देखेपछि हत्त न पत्त पत्रिका बोकेरै बानेश्वरस्थित हाम्रो घरमा आइस्यो ।
 
‘तिम्रै नामजस्तो लाग्छ नि !’ उहाँले भनिस्यो । 

‘हजुर, मै हुँ,’ मैले पनि सानसँग भनेँ । 

उहाँलाई निकै खुसी लागेछ, मेरो नाम देखेर । आफ्नो मान्छेको प्रगतिमा खुसी हुने र आफै नै परेको सहयोग गर्न तयार हुने उहाँको स्वभाव रहेछ । उहाँले नै भनिस्यो, ‘नेपाल हो, यसो भनसुन पनि गर्नुपर्छ ।’

त्यसपछि मलाई केही प्रभावशाली पदाधिकारीकहाँ हातै समातेर लिएर गइस्यो । तीमध्ये एकजना डेपुटी गभर्नर युधीरशमशेर थापा थिए । जो चर्चित साहित्यकार पनि हुन् । उनको बसाइँ कुपन्डोलबाट उकालोभित्र जाने ठाउँमा अवस्थित घरमा थियो । त्यो ठाउँलाई त्यतिखेर इनार भन्ने गरिन्थ्यो ।

उनको घरमा पुगेपछि हामीले भेट्न आएको सन्देश भित्र पठायौँ । उनले आफ्नो बरन्डाबाट हेरे । भित्र पनि बोलाएनन् । हामीले तलैबाट नमस्कार ग¥यौँ । 

भिनाजुले भनिस्यो, ‘हजुर, यो मेरो भाइले राष्ट्र बैंकको सहायकमा लिखितमा पास गरेको रहेछ । अन्तर्वार्तामा हजुरले हेरिदिनुप¥यो ।’

उहाँले माथिबाटै ‘हवस्, जानूस्’ भन्नुभयो ।

मेरो दिमागमा एउटा प्रश्न आइरन्छ, भिनाजु खेमबहादुर रायमाझी हाम्रो घरमा किन आइस्यो ? पक्कै पनि आफ्नाले केही प्रगति गर्दै छन् भने त्यसमा टेवा दिनुपर्छ, केही गर्नुपर्छ भन्ने सहयोगी सोचले आइसेको हुनुपर्छ । त्यस्तो सोच सबैमा हुँदैन । असल आफन्तमा मात्र हुन्छ । त्यो उहाँमा थियो, देखियो । 

म आफैँ उहाँकहाँ गएर ‘हजुर, भन्दिनुप¥यो’ भनेको थिइनँ । म खोज्दै गएको थिइनँ । उहाँ आफै खोज्दै आइस्यो, आफ्नो मान्छे भनेर । अनि मलाई त्यहीबेलादेखि लाग्यो, मान्छे भइसकेपछि सहयोगी भावना त यस्तो पो हुनुपर्छ ।

बानेश्वरकै घरनजिक लक्ष्मणप्रसाद पौडेल (लक्षु दादा) बस्नुहुन्थ्यो । उहाँ पनि राष्ट्र बैंकमै काम गर्नुहुन्थ्यो । सायद, त्यतिखेर द्वितीय श्रेणीको अधिकृत हुनुहुन्थ्यो । उहाँले मलाई राष्ट्र बैंककै प्रशासन प्रमुख केशवनाथ शर्माको कार्यालयमा लिएर जानुभयो र नाम टिपाइदिनुभयो ।

मैले अन्तर्वार्ताका लागि विषयवस्तुमा खासै तयारी गरेको थिइनँ । तर, भलिबल, फुटबलजस्ता खेलमा रुचि थियो । अझ भनौँ, खेलहरू प्रायः सबै खेल्थेँ ।

अन्तर्वार्ता दिन जाँदा मैले एउटा चलाखी भने गरेको थिएँ । अन्तर्वार्ताका क्रममा प्रमाणपत्र र लब्धांकपत्रहरूको फाइल माग्छन् भन्ने थाहा थियो । त्यसैले कागजातको चाङमा माथिमाथि खेलकुदसम्बन्धी प्रमाणपत्र राखेँ र शैक्षिक प्रमाणपत्र मुनितिर पारेँ । नभन्दै मेरो चलाखीले काम ग¥यो । 

अन्तर्वार्ताकारले भने, ‘सर्टिफिकेटहरू ल्याउनुहोस् त !’

उनीहरूले यसो पल्टाएर हेरे । उनीहरूका नजर मेरा खेलकुदसम्बन्धी प्रमाणपत्रमै अडिए र आश्चर्यको भावमा भने, ‘तपाईं त खेलकुद गर्नुहुँदो रहेछ । भलिबल खेल्नुहुँदो रहेछ । फुटबल पनि खेल्नुहुँदो रहेछ ।’

मैले विनीत भावमा भनेँ, ‘हजुर खेल्छु ।’

‘राष्ट्र बैंकका लागि खेल्नुहुन्छ ?’

‘जागिर दिनूस् न हजुर, खेलिहाल्छु नि !’

अन्तर्वार्ताकारमध्ये एकजना डेपुटी गभर्नर ईश्वरीराज पाण्डे हुनुहुन्थ्यो । उहाँको त्यसबेलाको अनौठो लाग्ने भूमिका म कहिल्यै बिर्सन सक्दिनँ ।
भयो के भने अन्तर्वार्ताकै क्रममा केशवनाथ शर्माले मलाई सोध्नुभयो, ‘तपाईं बडो सुकिलो मुकिलो लुगा लगाएर आउनुभएको छ । हेर्दाखेरी त जागिर खानुपर्लाजस्तो छैन त ! जागिर खान किन आउनुभयो ?’

म अलि अक्मकिएँ । किनभने, म सम्पन्न परिवारकै मान्छे थिएँ । लुगा सुकिला हुने नै भए । तर यस प्रश्नको जवाफ मैले दिनुपरेन । पाण्डेले नै जवाफ फर्काइदिनुभयो, ‘धोएर सुकिलो हुने लुगाका लागि केको ख्यासख्यास भन्दिनूस् न ।’

मेरा लागि उहाँले त्यो जवाफ दिएर ठूलै अड्चन फुकाइदिनुभएको हो । तर, मैले त्यसलाई सहजरूपमा लिन सकिनँ । मलाई अचम्म लाग्यो । केहीबेर अन्यमनष्कमा परेँ । भलै त्यो प्रसंग लामो तन्किएन । त्यहीँ सकियो । 

यद्यपि, मेरो तर्फबाट उहाँले त्यो जवाफ किन दिनुभयो ? अहिलेसम्म पनि बुझ्न सकेको छैन । सेवाकाल वा अवकाशपछि पनि त्यसबारे सोध्ने अवसर वा आँट पनि जुट्न सकेन ।
अन्तिममा मलाई चेक (Check) र (Cheque) मा के फरक छ भनेर सोधिएको थियो । त्यस प्रश्नबाट भने सहजै पार पाएँ । एउटा बैंकको चेक र अर्को जाँच–परीक्षणसम्बन्धी चेकलाई अंग्रेजी हिज्जेसहित प्रस्टसँग जवाफ दिएँ ।

त्यसपछि उहाँहरूको निर्देशनबमोजिम बिदावारी भएर बाहिरिएँ । नतिजा आयो । राष्ट्र बैंकमा मेरो जागिर पक्का भयो ।

राष्ट्र बैंकको सहायक पदमा नियुक्तिपछि बैंक व्यवस्था विभागको तथ्यांक फाँटमा मेरो पदस्थापन भयो । त्यसबेला जम्मा चारवटा बैंक अस्तित्वमा थिए– नेपाल बैंक लिमिटेड, राष्ट्रिय वाणिज्य बैंक, कृषि विकास बैंक र नेपाल औद्योगिक विकास निगम (एनआईडीसी) । एनआईडीसी हाल राष्ट्रिय वाणिज्य बैंकमा विलय भइसकेको छ ।

यी चारवटै बैंकले पठाउने आवधिक विवरण एकत्रित गरी प्रतिवेदन तयार गर्नु हाम्रो फाँटको काम हुन्थ्यो । 

बैंक व्यवस्था विभागको तथ्यांक शाखामा कार्यरत रहँदा त्यहाँका साथीहरूमा ताराबहादुर केसी, लक्ष्मीबहादुर थापा, पूर्णलाल महर्जन, दिलबहादुर डंगोल, दिनेशबहादुर कार्की र रत्न शाक्य थिए । ताराबहादुर केसीलाई म तारा दाइ भन्छु र मेरो विवाहको धेरैजसो जिम्मेवारी उहाँले नै लिनुभएको थियो । उहाँ अमेरिकामै हुनुहुन्छ र मेरो सम्पर्कमा पनि । लक्ष्मीबहादुर थापा र दिनेशबहादुर कार्की हामीमाझ हुनुहुन्न । 

पहिलो तलब, साइकल र सुट

राष्ट्र बैंकको जागिर प्रवेश मेरो जीवनलाई स्वनिर्भर बनाउनेतर्फको प्रस्थानविन्दू थियो । हुन पनि मैले मेरो जीवनमा आफ्ना लागि एक कप चिया पनि बनाउनुपरेन । न विद्यार्थीकालमा प¥यो, न त्यसपछि नै । विद्यार्थीकालमा पनि चामल–सामल गाउँबाटै आउँथ्यो । तरकारी र अरू खर्चका लागि मासिक ३ सय रुपियाँ बुवाले पठाइसिन्थ्यो । घरको सबै काम गर्न एकजना गाउँबाटै सहयोगी ल्याएर बुबाले नै घरमा राखिसेको थियो । खाना पकाउने, भाँडा माझ्ने, लुगा धुने उनैले गरिदिन्थे ।

मैले पहिलोपल्ट जागिर खाँदा मासिक तलब ३ सय ३० रुपियाँ थियो । तीन महिनाको अग्रिम पेस्की लिन पाइन्थ्यो । मैले पहिलो तलबसँगै तीन महिनाको अग्रिम पेस्की लिएँ । ९ सय ९० रूपैयाँ पाएपछि एउटा साइकल किनेँ र एक जोर सुट किनेँ । यी दुवै मेरा सोखका विषय थिए । सहायक तहको जागिरमा सुट लगाएर हिरो साइकल चढ्दै राष्ट्र बैंकको जागिर खानुको शानै अर्कै थियो त्यसबेला ।

बानेश्वरबाट यसरी साइकल चढेर राष्ट्र बैंकको जागिर खान जाने हामी चारजना थियौँ । घरबाट एकैपटक निस्केर सँगै कार्यालय जान्थ्यौँ । लक्ष्मणप्रसाद पौडेल, जसलाई हामी लक्षु दादा भनेर बोलाउँथ्र्यौँ । उहाँ द्वितीय श्रेणीको अधिकृत हुनुहुन्थ्यो । कृष्णनारायण पौडेल तृतीय श्रेणीको हुनुहुन्थ्यो । उहाँ लक्षु दादाकै घरमा भाडामा बस्नुहुन्थ्यो । पछि उहाँ बेलायत गएर बस्नुभयो । अर्को केशवप्रसाद बाँस्कोटा, जसलाई हामी गुप्ता अंकल भन्थ्यौँ, प्रधान सहायक हुनुहुन्थ्यो । त्यही लहरमा सहायक राजनसिंह भण्डारी थपिएको थियो ।

आईकम पढुन्जेल मसँग न जागिर थियो, न साइकल नै । शंकरदेव क्याम्पस, बागबजारमा बीकम पढ्न थाल्दासम्म मसँग जागिर पनि भयो, साइकल पनि भयो । बिहानै उठेर साइकल चढेर सुइँय शंकरदेव जान्थेँ । क्याम्पसबाट छुटेपछि हतारहतार बानेश्वरमा खाना खएर राष्ट्र बैंकको टोलीसँग जागिरतिर दौडिन्थेँ ।

एलसी काण्डको छानबिन 

म जनकपुरमै छँदा एमाले सरकार परिवर्तन भयो । नेपाली कांग्रेसका नेता डा. रामशरण महत अर्थमन्त्री भएर आउनुभयो । त्यसबेला विदेशी मुद्रा अपचलनको समस्या धेरै देखियो । प्रतीतपत्र खोल्ने, विदेशी मुद्रा बाहिरिने तर त्यसवापत कुनै सामान नेपाल नआउने । यो ठूलै विकृति र राष्ट्रलाई नोक्सान हुने काम थियो । 

सरकारले त्यस प्रकरणमा छानबिन गर्न लवराज शर्माको नेतृत्वमा आयोग गठन ग¥यो । एलसी आयोगका नाममा त्यो चर्चित छ । डा. महत र डा. हरिहरदेव पन्त घनिष्ठ मित्र हुनुहुन्थ्यो । डाक्टर पन्तले भन्नुभएछ, ‘हाम्रो राष्ट्र बैंकमा एउटा लायकको केटो छ, राजन सिंह भण्डारी । त्यसलाई राख्नुभयो भने छानबिन प्रभावकारी हुन सक्छ ।’

म जनकपुर भएकै बेला उहाँले नै फोन गरेर ‘राजन, तिम्राबारेमा मैले यसरी भनेको छु’ भन्नुभयो । ‘ठीकै छ, म पनि जनकपुरबाट काठमाडौँ आउन पाउँछु’ भनेर सहमति जनाएँ । लगत्तै म काठमाडौँ सरुवा भएँ । आन्तरिक लेखापरीक्षण विभागमा मेरो काम तोकियो ।

त्यसबेला वैदेशिक व्यापारका नाममा प्रतीतपत्र (लेटर अफ क्रेडिट अथात् एलसी) दुरूपयोग गरेर ठूलो वित्तीय घोटाला गरिएका समाचार बाहिर आइरहेका थिए । केही व्यापारीले आफ्ना सहयोगी, कर्मचारी तथा गाउँका गरिब व्यक्तिका नाममा समेत बैंकमा खाता खोलेर राजनीतिक शक्तिकेन्द्र र बैंकभित्रकै खराब आचरणका कर्मचारीलाई प्रभावमा पारी यस्तो घोटाला गरिएको थियो । 

केही व्यवसायीले विदेशबाट समान झिकाउन प्रतीतपत्र खोल्ने तर सामान नल्याउने र भन्सारमा सामान नेपाल आएको नक्कली प्रज्ञापन पत्रलगायतका कागजात बनाई विदेशी मुद्रा भुक्तानी मात्र लिने गरेको पाइएको थियो  । वैदेशिक व्यापारका नाममा नेपालका बैंकबाटै विदेशी मुद्रा जान्थ्यो तर त्यसको अनुपातमा सामान नेपाल भित्रिँदैनथ्यो । खालि कागजात मात्र मिलाइन्थ्यो । अर्थात्, एलसीका माध्यमबाट नेपालले विदेशी मुद्रा मात्र गुमाएको थिएन, यसबाट प्राप्त हुने भन्सार राजस्वमा पनि क्षति भइरहेको थियो ।

छानबिन समितिले चार महिना लगाएर नेपालका बैंकले जारी गरेका ६ हजार एलसी छानबिनको दायरामा ल्याएका थियौँ । अध्ययनबाट चार अर्ब रूपैयाँ बराबरको विदेशी मुद्रा अपचलन भएको पत्ता लागेको थियो । यो रकम त्यस बेलाको नेपालको कुल गार्हस्थ्य उत्पादनको करिब १ प्रतिशत हुन्थ्यो । प्रतिवेदनमा ९४ कम्पनी र बाँकी बैंकका कर्मचारी गरी १ सय ४५ जनाको नामै किटान गरेका थियौँ । एलसीमार्फत् करिब ५० करोड रूपैयाँबराबर राजस्व गुमेको थियो । 

सरकारी स्वामित्व रहेका दुई ठूला राष्ट्रिय वाणिज्य बैंक र नेपाल बैंक लिमिटेडलगायत अधिकांश वाणिज्य बैंकहरू यसमा संलग्न थिए । धेरैजसो राष्ट्रिय वाणिज्य बैंकको विशाल बजार शाखाबाट खोलिएका थिए । 

प्रतीतपत्र प्रणालीमा देखिएका कमीकमजोरी हटाउन यो छानबिन निकै सहयोगी बनेको थियो । यो प्रकरण नरोकिएको भए देशले वैदेशिक मुद्राको संकट मात्र बेहोर्ने थिएन, गैरकानुनी अर्थतन्त्रको सञ्जाल निर्माण भई राज्यले ठूलो मूल्य चुकाउनुपर्ने थियो ।

(बैंकर राजन सिंह भण्डारीको हालै बजारमा आएको ‘आफैँलाई नियाल्दा’ पुस्तक अंश

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असार २६, २०८१  १३:३६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu