site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
२८ वर्षीय युवा बन्लान् त फ्रान्सको प्रधानमन्त्री ? आज हुनेछ फैसला

पेरिस । फ्रान्सेली राजनीतिको शिखरमा जोर्डन बर्डेलाको उदय यति छिटो भएको छ कि उनलाई अझै पनि ‘कल अफ डिउटी’ खेलेर बिताएका किशोरावस्थाको बारेमा प्रश्न सोध्ने गरिएको छ ।

यिनै व्यक्ति यो हप्ता केवल २८ वर्षको उमेरमा फ्रान्सको प्रधानमन्त्री बन्न सक्ने अवस्था छ । यसो भएमा उनी गएको २०० वर्षमा युरोपका सबैभन्दा कान्छो प्रधानमन्त्री बन्नेछन् ।

उनी पुरानो पार्टीका नयाँ अनुहार हुन्, जो आफूलाई नयाँ बनाउन लागिपरेका छन् । नेसनल र्‍याली (आरएन) घोर दक्षिणपन्थी पार्टीमा डोयेन्न मरिन ली पेनले बर्डेलालाई नयाँ नेतृत्वका रूपमा चयन गरेकी हुन् । पहिलो चरणको निर्वाचनमा यो पार्टीले राष्ट्रपति इमानुएल म्याक्रोनको मध्यमार्गी गठबन्धनलाई निकै पछाडि पारेको थियो ।

दोस्रो तथा अन्तिम चरणको निर्वाचन आइतबार (आज) भइरहेको छ । यो चुनावमा बर्डेला नेतृत्वको पार्टीले आफ्नो विजय हुने अपेक्षा गर्दै आएको छ ।

यो चुनावमा पहिलोपटक मरिन र बर्डेलाको पार्टी नेसनल र्‍यालीलाई सरकार बनाउन नेसनल एसेम्बलीमा बहुमतको मौका मिल्न सक्छ ।

गएको आइतबार पहिलो चरणको निर्वाचन भएको थियो । उक्त निर्वाचनमा नेसनल र्‍यालीले अग्रस्थान हासिल गरेको थियो । त्यसपछि अरू दलहरूले अहिलेको निर्वाचनमा थुप्रै उमेदवारी फिर्ता गरी एकार्कालाई सघाएका छन् । यसको मतलब घोर दक्षिणपन्थी पार्टीका उमेदवारलाई हराउन सकियोस् ।

पहिलो चरणको निर्वाचनपछि बोल्दै नेसनल र्‍यालीकी नेत्री मरिनले राष्ट्रपति म्याक्रोनको समूहको सफाया भएको बताएकी थिइन् ।

सोही पार्टीका नेता बर्डेलाले पनि फ्रान्सेली जनताले मत दिए आफू प्रधानमन्त्री हुने बताएका थिए । फ्रान्सको ५७७ सदस्यीय नेसनल एसेम्बलीमा बहुमत प्राप्त गर्न २८९ सिटमा जित्न जरुरी छ । राष्ट्रपति म्याक्रोनले युरोपेली संसद्को चुनावमा नेसनल र्‍यालीको विजय देखेर अचानक चुनावको घोषणा गरेका थिए ।

आजको चुनावको नतिजापछि नेसनल र्‍यालीले सरकार बनाउने कि नबनाउने तय हुनेछ । यसैमा २८ वर्षीय बर्डेला प्रधानमन्त्री बन्न पाउँछन् कि पाउँदैनन् भन्ने पनि निर्भर छ । परिणाम जस्तोसुकै आए पनि राष्ट्रपति म्याक्रोनलाई त्यति सहज हुने अवस्था छैन ।

इटालियन आप्रवासीको एक मात्र सन्तान बर्डेला पेरिसको श्रमिकवर्गको उपनगर सेइन–सेन्ट–डेनिसमा हुर्केका थिए । उनी १६ वर्षको उमेरमा आरएनमा सामेल भए । पछि प्रतिष्ठित सोर्बोन विश्वविद्यालयमा भूगोलको डिग्री लिन थाले । पार्टीमा लाग्नुअघि उनी त्यहीँ पढ्दै थिए ।

बर्डेला सन् २०२२ देखि नेसनल र्‍यालीका अध्यक्ष छन् । उनी २०१९ मा युरोपेली संसद्को सांसद पनि भएका थिए । उनी अध्यक्ष बन्नुअघि उक्त पार्टीका २०१९ देखि २०२१ सम्म उपाध्यक्ष थिए । त्यसअघि, २०१७ देखि २०१९ सम्म पार्टी प्रवक्ता थिए । उनी २०१८ देखि २०२१ सम्म युथ विङको अध्यक्ष पनि थिए ।

पार्टीकी नेत्री मरिनले राष्ट्रपतिको चुनावमा म्याक्रोनसँग हारेपछि आफ्नो उत्तराधिकारीका रूपमा बर्डेलालाई छानेकी हुन् ।

मरिन पार्टीको दैनिक व्यवस्थापनबाट मुक्त, तर २०२७ मा राष्ट्रपतिका निम्ति पुनः उमेदवारी दिने लगभग निश्चित छ । उनले पार्टीको छवि ताजा र उजिल्याउने सफलता पाएकी छन् । आफ्ना बाबु जीन मेरीले उक्त पार्टीलाई एउटा जातिवादीका रूपमा अघि सारेकामा पछि छोरीले त्यसलाई केही सच्याएकी थिइन् ।

पुराना मतदातालाई यसले दोस्रो विश्वयुद्धताकाको भिची शासनको झल्को दिन्छ । तर, नयाँ मतदाता यो पार्टीमा आकर्षित भइरहेका छन् ।

बर्डेलाको टिकटक फलोअर निकै छन् । उनले बोनबोन (चकलेट) खाँदै गरेको भिडियो समेत ७.५ मिलियन पटकसम्म हेरिएको छ । केवल दुई वर्षमा बर्डेलाले उक्त पार्टीलाई स्वीकार्य र चयनयोग्य बनाउन सफलता पाएका छन् ।

राष्ट्रपति म्याक्रोनको गठबन्धनको प्रचार सामग्री भने त्यति गतिलो छैन । २८ वर्षीय बर्डेला फ्रान्सको प्रधानमन्त्री बन्छन् कि बन्दैनन् भन्ने आजको निर्वाचनले तय गर्नेछ । एजेन्सी

प्रकाशित मिति: आइतबार, असार २३, २०८१  १५:२२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro