दमौली । तनहुँ जिल्लालाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको छ । यसअगाडि जिल्लाका दशवटै पालिकालाई पूर्ण खोप सुनिश्चित पालिका घोषणा गरिएको थियो ।
स्वास्थ्य कार्यालयद्वारा मंगलबार आयोजित कार्यक्रममा १६ महिनादेखि ५९ महिनासम्मका सम्पूर्ण बालबालिकालाई राष्ट्रिय खोप कार्यक्रमको तालिका अनुसार १५ महिनाभित्र पाउनुपर्ने सबै खोप लगाइसकेको सुनिश्चिततासहित पूर्ण खोप जिल्ला घोषणा गरिएको थियो ।
स्वास्थ्य कार्यालयका प्रमुख विद्या तामाङले खोप लगाउन छुटेका सबै बालबालिकाको तथ्यांक संकलन गरी खोप लगाइएको जानकारी दिइन् । उक्त अवसरमा जिल्ला समन्वय समितिका प्रमुख एवं जिल्लास्तरीय खोप समन्वय समितिका संयोजक शान्तिरमण वाग्लेले खोप सुनिश्चिततालाई दिगोपना राख्नुपर्ने बताए ।
जिल्लाका दशवटै पालिकाका ८५ वडाका बालबालिकाले पूर्णरुपमा खोप पाएको सुनिश्चित भएपछि पूर्ण खोप सुनिश्चित पालिका घोषणा गरिएको स्वास्थ्य कार्यालयका खोप अधिकृत शंकरबाबु अधिकारीले जानकारी दिए ।
व्यास नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख प्रमोद सोतीले १६ महिनादेखि पाँच वर्षसम्मका दुई हजार ८१८ बालबालिकालाई सबै खोपको पहुँचमा ल्याइएको जानकारी दिए ।
१५ महिनासम्मका एक हजार ११ बालबालिकालाई पनि खोप लगाइएको उनको भनाइ छ । रासस