काठमाडौं । प्रतिनिधिसभा सदस्य शान्ति विकले बलात्कार घटनाका अपराधीलाई कठोर कानुनी कारबाही गर्न सरकारसँग माग गरेकी छन् ।
सोमबारको प्रतिनिधिसभा बैठकमा आकस्मिक समयमा बोल्दै सांसद विकले खोटाङको हलेसी तुवाचुङ नगरपालिका–१२ को एक विद्यालयमा शिक्षकले नाबालिकालाई बलात्कार गरेको भन्दै कडा कारबाही गर्न माग गरेकी हुन् । उनले विद्यालय जस्तो पवित्र स्थलमा समेत बालिकाहरू सुरक्षित हुन नसकेका भन्दै कडा कानुनी व्यवस्था गर्नुपर्ने बताइन् । पीडितलाई न्याय दिलाउन र समाजमा यस्तो घट्ना नदोहोरिन सरकारले कडा कदम चाल्नुपर्ने उनको भनाइ थियो ।
"खोटाङको हलेसी तुवाचुङ नगरपालिका–११, राजापानीस्थित ज्योति मा.वि. पढ्ने १३ वर्षीय बालिका आफू सुरक्षित भएको महशुस गर्न पाइन् त ? आफ्नै शिक्षकजस्तोको गिद्धे नजर स्कुलजस्तो पवित्र थलोमा, शिक्षा क्षेत्रमा बालिकाहरु असुरक्षित छन् भन्ने कुराको आधार प्रमाणित हो । कहिलेसम्म विद्यालय, घर, अफिसलगायत कुनै पनि क्षेत्रमा म सुरक्षित छु भन्ने त्रास मनमा बोकेर कुदृष्टिको मनोविज्ञानको चुनौती सामना गर्ने ?," उनले प्रश्न गरिन् ।