site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
राजनीति
Global Ime bankGlobal Ime bank
देउवा–ओलीसहित मन्त्रीहरुले किन गरे प्रधानमन्त्रीको अवमूल्यन ? 
SkywellSkywell

काठमाडौं । सामान्यतः संसदीय अभ्यासमा प्रधानमन्त्रीले संसदमा सम्बोधन गर्दा प्रतिपक्ष दलको नेता, सत्तापक्षका शीर्ष नेता, सबै मन्त्रीको उपस्थित रहने गर्छ । त्यसैगरी प्रमुख प्रतिपक्षी दलका नेताले बोल्ने दिनमा पनि प्रधानमन्त्रीसहित शीर्ष नेताको उपस्थिति अनिवार्यजस्तै मानिन्छ ।

तर बिहीबार प्रतिनिधिसभा बैठकमा फरक दृष्य देखियो ।  प्रधानमन्त्रीसँग सांसदको प्रश्नोत्तर कार्यक्रम तय भएको थियो । नियमित प्रश्नोत्तर कार्यक्रममा सहभागी हुने प्रधानमन्त्री हुन् पुष्पकमल दाहाल प्रचण्ड ।

प्रतिनिधिसभा नियमावली २०७९को परिच्छेद ९ मा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर गर्न सकिने व्यवस्था गरिएको छ ।

Dabur Nepal
NIC Asia

दफा ५६ मा भनिएको छ, “प्रधानमन्त्री वा निजको कार्यक्षेत्रसँग प्रत्यक्षरुपमा सम्बन्धित महत्वपूर्ण विषयमा प्रश्न सोध्नको लागि सभामुखले प्रत्येक महिनाको पहिलो हप्ताको कुनै एक दिनको बैठकको पहिलो एकघण्टा निर्धारण गर्नेछ ।”
प्रधानमन्त्रीको भारत भ्रमण र प्रश्नोत्तरको पनि समय मिलेकाले बिहीबारका लागि समय तय गरिएको थियो । नेकपा एमालेसहित प्रमुख प्रतिपक्षमा रहेको कांग्रेसका केही सांसदहरुले प्रधानमन्त्रीको भारत भ्रमणका विषयमा कुरा उठाएका थिए ।

प्रधानमन्त्रीले बैठकको सुरुमै आफ्नो भारत भ्रमण र राष्ट्रपतिको युरोप भ्रमणका बारेमा जानकारी गराएर प्रश्नोत्तर थालिएको थियो । तर यस्तो महत्वपूर्ण कार्यसूची रहेकै दिनमा न त प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस संसदीय दलका नेता थिए न त पदाधिकारी नै ।

प्रमुख प्रतिपक्ष दलका नेता शेरबहादुर देउवा केहीबेर संसद् बैठकमा सहभागी भएर बाहिरिएका थिए । प्रधानमन्त्रीले सम्बोधन गर्न थालेपछि देउवा बाहिरिएका थिए भने केही मन्त्रीहरु पनि प्रधानमन्त्रीले सम्बोधन गर्न थालेपछि बाहिरिएका थिए ।

तर सत्ता साझेदार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भने संसद् पुगे तर बैठकमै सहभागी भएनन् । उनी पनि प्रधानमन्त्री नबोल्दै त्यहाँबाट बाहिरिए । प्रधानमन्त्री दाहालले यसलाई अवमूल्यन भनेका छन् ।
पछिल्लोपल्ट प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच चिसो बढेको छ ।

प्रधानमन्त्रीले सांसदहरुको प्रश्नको जवाफ दिइसकेपछि अन्तिममा भने, “अमूक प्रधानमन्त्रीलाई अलि अवमूल्यन गरेको पक्कै होइन होला ।”

दाहालले आकस्मिकबाहेक कुनै पनि मन्त्री अनुपस्थित नहुने प्रचलन पनि रहेको स्मरण गराए ।

मन्त्रीहरु रवि लामिछाने, वर्षमान पुन, रेखा शर्मा, शक्तिबहादुर बस्नेत, दामोदर भण्डारी, पदम गिरी, बलराम अधिकारी र धनबहादुर बूढामात्रै थिए ।

२३ सदस्यीय मन्त्रिपरिषदमा बाँकी मन्त्रीहरु भने अनुपस्थित थिए ।

त्यसैलाई संकेत गर्दै दाहालले भने, “सदनको एउटा प्रचलन गरिमा जे भने पनि प्रधानमन्त्रीले बोल्ने दिनमा सत्ता र प्रतिपक्षका सबै नेता र माननीय सदस्य तथा इमर्जेन्सीबाहेक सबै मन्त्रीहरु उपस्थित हुने प्रचलन नेपालको इतिहासमा स्थापित थियो । तर अब क्रमशः त्यो पातलिन थालेको छ । हामीले अमूक प्रधानमन्त्रीलाई अलि अवमूल्यन गरेको पक्कै होइन होला । यो प्रक्रिया जारी रह्यो भने हामी सबैले आफै आफैँले आफै आफैँलाई अवमूल्यन गरेको ठहरिन्छ ।”

यसलाई प्रमुख प्रतिपक्ष कांग्रेसले भने प्रधानमन्त्रीकै कारण यस्तो भएको बताउँदै दुःख मनाउ गर्नुपर्ने कुनै कारण नभएको टिप्पणी गरेको छ ।

कांग्रेस नेता हृदयराम थानीले प्रधानमन्त्रीले जस्तो कर्म गरे उस्तै फल प्राप्त भएको बताए ।

“उहाँले जुन बाटो खनेको हो त्यही बाटो हिँड्नुभएको हो । यसमा प्रधानमन्त्रीले दुःखमनाउ गर्नैपर्दैन,” थानीले भने, “हाम्रो सभापति पनि आउनुभएको थियो । केहीबेर बसेर हिँड्नुभयो । अहिले जे वातावरण बनेको छ देशमा, त्यो प्रम प्रचण्डकै प्रयत्नको परिणाम हो । उहाँका उपप्रधानसहित अन्य मन्त्रीहरु किन उपस्थित भएनन् ? सत्तापक्षका नेताहरु किन देखिएनन् ? अब उहाँले आफैसँग प्रश्न गर्ने बेला भएको छ ।”

एमालेका प्रमुख सचेतक महेश बर्तौलाले पनि प्रधानमन्त्री बोल्दा मन्त्री आफैँ उपस्थित हुनुपर्ने भए पनि नहुनु दुखद् भएको टिप्पणी गरे ।

“प्रधानमन्त्रीलाई यस्तो लाग्नु स्वाभाविक हो,” उनले भने, “यसमा अन्यथा लिनु हुँदैन, हाम्रै अध्यक्ष पनि हुनुहुन्थेन । उहाँ हाउस चल्न ढिला हुने देखेर अर्को कार्यक्रमका लागि बाहिरिनुभएको हो ।”
बर्तौलाले उपप्रधानमन्त्री र मन्त्रीहरु किन आएनन् भन्ने विषय गम्भीर भएको बताए ।

“आफ्नै क्याबिनेटको मन्त्री नआउने भन्ने हुँदैन । अकस्मात बाहिर भएको अवस्था फरक हो नभए आउनुपर्छ तर देखिनुभएन,” उनले भने, “सबै माननीय र मन्त्रीहरुले ख्याल गर्नुपर्ने विषय हो । सबैको विवेकमा भर पर्ने कुरा हो यो । प्रधानमन्त्री देशको कार्यकारी भएको हुनाले उहाँले बोलेको महत्वकै कुरा हुन्छ ।”

सरकारको नेतृत्व गरिरहेको नेकपा माओवादी केन्द्रबाटै उपपप्रधान एवम् परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ र संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङ पनि अनुपस्थित रहे । 

माओवादीका प्रमुख सेचतक हितराज पाण्डेले पर्यटनमन्त्रीले भने आफूलाई ढिला आउने जानकारी गराएको सुनाए । 

“आज प्रधानमन्त्री बोल्दै हुनुहुन्छ भनेर सूचना नै जारी गरेको थिएँ । सूचना अभावका कारण उहाँहरु आइनपुग्नुभएको होइन । पर्यटनमन्त्रीले भने आफू केही समय ढिलो हुने जानकारी गराउनुभएको थियो । उहाँ आइसक्नभएको छ । उपप्रधान एवम् परराष्ट्रमन्त्रीले प्रधानमन्त्रीसँगै बिदा लिनुभयो कि ? त्यसबारे मलाई जानकारी भएन ,” उनले भने । 

उनले प्रतिपक्षी दलका नेता शेरबहादुर देउवासहित अरु नेता पनि छिट्टै निस्किएकाले प्रश्न उठेको बताए ।

“प्रतिपक्षी दलका नेता पनि एकछिन बसेर जानुभयो । अरु नेताका विषयमा पनि प्रश्न उठाउनुभएको हो । त्यसबारे छलफल होला,” उनले भने ।

रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले पनि प्रधानमन्त्रीले भनेका कुरा ठिक भएको बताउँदै कोही पनि मन्त्रीले आफूलाई पनि जानकारी नगराएको बताए ।

संसद्मा अनुपस्थित हुने अवस्था भएमा प्रमुख सचेतकमार्फत् जानकारी गराउनुपर्ने व्यवस्था रहेको छ ।

“प्रम बोल्दा सामान्य हिसावले सबै पार्टीका शीर्ष नेता मन्त्रीहरु बस्ने अभ्यास थियो,” उनले भने, “तर, मलाई पनि सबै पार्टीका सबै शीर्ष नेता मन्त्री आउनुहुन्छ भन्ने आशा थियो । तर, त्यस्तो भएन । यो राम्रो कुरा भएन ।”
उनले आफ्नै पार्टीका पनि कुनै मन्त्रीले भ्याउँदिन भनेर नभनेको जानकारी गराए ।

“भ्याउँदिन भनेर कुनै मन्त्रीले भन्नुभएको थिएन,” उनले भने, “सभापतिज्यू काठमाडौंबाहिर हुँदा त आउनुभयो तर केही मन्त्री आउनुभएन । सबै कुरा भनिएको र लेखिएको हुँदैन अभ्यासले स्थापित गर्ने कुरा हो । यो कुरालाई हामीले गम्भीर रुपमा लिनैपर्छ ।”

प्रधानमन्त्रीले सम्बोधनका क्रममा मन्त्रीले पनि आफूलाई टेर्न छाडेको संकेत गरेका थिए । विशेष गरेर नेकपा एमालेका तर्फबाट सरकारमा सहभागी रघुबीर महासेठप्रति प्रधानमन्त्रीको संकेत थियो । आफूले खुद्रे कार्यक्रम संघीय बजेटमा समावेश नगर्न भने पनि राखिएको भन्दै उनले असन्तुष्टि जनाएका थिए ।

“माननीय मन्त्रीजीहरुले पनि योजना निर्माण गर्दा, कार्यक्रम बनाउँदा सरकारले बनाएको प्रधानमन्त्रीकै निर्देशनलाई जति गम्भीरतापूर्वक लिनुपर्ने हो...,” प्रधानमन्त्री दाहालको भनाइ थियो,“भन्दा भन्दै पनि साना योजना समावेश गरिएको छ । भोलि तपाईंहरु पनि मन्त्री र प्रधानमन्त्री हुँदै हुनुहोला ।”
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असार ६, २०८१  १७:३३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro