site stats
बाह्रखरी :: Baahrakhari
विचार
Nabil BankNabil Bank
Siddhartha BankSiddhartha Bank
भारतमा राहुलको चमत्कार

नेपाललाई टी ट्वान्टी विश्वकप क्रिकेटमा १ रनले हराउने दक्षिण अफ्रिकाको नाम धेरैले सम्झेका होलान् । त्यही दक्षिण अफ्रिकामा हालै संसद्को चुनाव पनि भएको थियो । दक्षिण अफ्रिकाको रङ्गभेदी सरकारविरुद्ध भएको स्वतन्त्रता सङ्घर्षको पर्याय मानिने अफ्रिकी नेसनल कांग्रेसले यसपटक सत्ता जोगाए पनि बहुमत गुमायो । नेलसन मण्डेलाको त्यस पार्टीले सन् १९९४ देखि एकछत्र शासन गरेको थियो । 

भारतको संसदीय निर्वाचनका विषयमा त नेपाली पाठक नै पण्डित छन् । तैपनि, भनिहालौँ दस वर्ष एकछत्र राज गरेका  ‘मोदी है तो मुमकिन है’ भन्ने थेगो चलाउन सफल नरेन्द्र मोदीले पनि यसपटक बहुमत गुमाए । भारतीय जनता पार्टीको नारा त ‘अब की बार ४०० पार’ थियो तर ५४३ स्थानका लागि भएको निर्वाचनमा उसका २४० जनामात्र विजयी भए । सत्ता भने मोदीको पनि बच्यो पलटुरामहरूसँगको गठबन्धनमा । 

त्यसो त मेक्सिकोमा राष्ट्रपतिको र युरोपेली संसद्को पनि चुनाव भएको छ तर हाम्रालागि भारत र दक्षिण अफ्रिकाको चुनाव चर्चा सान्दर्भिक हुन्छ । भारत र दक्षिण अफ्रिका दुवै मुलुकहरूको इतिहासमा समानता छ । लामो स्वतन्त्रता सङ्घर्षमा एकअर्काको दह्रो प्रभाव पनि छ । संयोग अहिलेको चुनावी परिणाममा पनि अचम्मको समानता देखिएको छ - निकै बलिया ठानिएका दलहरूले सत्ता कायमै राखे पनि बहुमत गुमाएका छन् र एकछत्र राज गरेकाहरूले अब ‘गठबन्धन’ गरेर सरकार चलाउनुपर्नेछ ।

Prabhu Bank
Agni Group
NIC Asia

नेपालमा कम्युनिस्ट पार्टीहरूका लागि भारतीय जनता पार्टी र अफ्रिकन नेसनल कांग्रेसजस्ता ‘बुर्जुवा’ दलहरूको उत्थानपतन खासै चासोको विषय नहोला । तर नेपाली कांग्रेसका नेताहरूले भने यिनीहरूको अवस्थाबाट सिक्नुपर्ने हो । हुनत, नेपाली कांग्रेसका लागि भारतीय राष्ट्रिय कांग्रेसको पुनरुत्थान बढी चासोको विषय हुनुपर्थ्यो । (हुनत, चौथाईवालेका आफन्तले हाँकेको नेपाली कांग्रेसलाई भाजपाको हारले मुटु चसक्क भएको होला । यताका भाजपाका चाकरीदारले कांग्रेसको उत्थानमा चाख दिएका नहोलान् तर सगोत्री त कांग्रेसै हो ।)

गोदी मिडियाका ‘पप्पु’ : भारतीय जनताका नेता 

Global Ime bank

भारतीय कांग्रेस लगातार दुई चुनावमा परास्त भएपछि यसपटक दुबो भएको छ । नेपाली कांग्रेसलाई तर्साउन भारतीय कांग्रेस हुने डर देखाइन्थ्यो । राहुल गान्धीलाई ‘पप्पु’ भनेर उल्याइन्थ्यो । गोदी मिडियाले उनको मात्र होइन पण्डित जवाहरलाल नेहरूको समेत हुर्मत काड्ने गरेको थियो । तर, राहुलले हरेस खाएनन् । पहिले पाँच वर्ष अलि अलमलिएको देखिएका राहुल पछिल्लो पाँच वर्ष भने जनतासँग जोडिन पुगे । 

लामो समय सत्तामा बसेको भारतीय राष्ट्रिय कांग्रेसका नेताहरू जनताबाट टाढा पुगेका थिए । राहुलले जनतासँग जोडिने र जनताका कुरा सुन्ने अभियान चलाए । मूलतः उनको दुईवटा भारत यात्राले कांग्रेस बौरियो । सहिष्णुता, धर्मनिरपेक्षता, उदारताजस्ता भारतीय संविधानका विशेषताहरूप्रति जनतालाई फेरि सजग गराउन राहुलका यात्राहरू प्रभावकारी भए । कम्तीमा अब भारत ‘निर्वाचित अधिनायक’को शासन भएको मुलुकबाट बाहिर निस्केला कि ?

राहुलले एक्लै मोदीको वेग धानेका भने होइनन् र उनले देशभरका सबै प्रगतिशील लोकतन्त्रवादीलाई एकत्रित गराउने मियो पनि बने । ममता बनर्जीदेखि अखिलेश यादवसम्म सबैलाई सँगै हिँडाए । अर्थात्, सिद्धान्त मिल्नेहरूको गठबन्धन बनाएर कट्टरपन्थीहरूको वेग रोके । 

के सिक्लान् त नेपालका कांग्रेसहरूले ?

यसबाट नेपाली कांग्रेसका नेताहरूले सिक्नुपर्छ अब राजनीतिमा एक्लै हिँडेर सफल हुन सकिँदैन । गठबन्धन नेपालको त संविधानले नै अपरिहार्य बनाएको छ । कुनै पार्टीको एकल बहुमत हुँदैमा देशको भलो हुने पनि होइन रहेछ । नेकपा (नेकपा)को प्रचण्ड बहुमत थियो त । के भयो परिणाम ? नीतिगत भ्रष्टाचारका यति, ओम्नी, गिरीबन्धुजस्ता अनगिन्ती काण्ड भए । अन्ततः दुई दुईपटक संसद् विघटन गरियो । नेकपा भन्ने पार्टी नै समाप्त भयो । माओवादी आफ्नो बाटो लाग्यो । एमाले नै फुट्यो । अनि चुनावपछि फेरि गठबन्धनकै सरकार बन्यो ।

यसैले कांग्रेसका नेताहरूले उदार लोकतन्त्रमा विश्वास गर्नेहरूलाई विश्वासमा लिएर अगाडि बढ्ने प्रयत्न गर्नुपर्ने हो । उनीहरू त सुगाले जसरी गठबन्धन नगर्ने रटमात्रै लगाइरहेका छन् । पक्कै पनि कम्युनिस्टहरूसँग गठबन्धन गर्नु कांग्रेसका लागि प्रत्युत्पादक भएको छ । तर, यसको अर्थ गैरकम्युनिस्टहरूसँग विशेषगरी क्षेत्रीय दलहरूसँग पनि गठबन्धन नगर्ने हठ गर्नुपर्छ भन्ने ठान्नु हुँदैन । अहिले बोल्दा विचार नगरे पछि पछुताउनुपर्ने हुनसक्छ भन्ने हेक्का राख ।  

‘मैले जे भने त्यहीमात्र सत्य …?

बेलायती पत्रकार लेखक टम बर्गिसको ‘कुकुल्यान्ड : ह्वेर द रिच ओन द ट्रुथ’ शीर्षकको पुस्तक लेखपढमा रुचि भएका धेरै नेपालीले पनि पढिसकेको हुनुपर्छ । कारण त्यसमा नेपालसँग सम्बन्धित एउटा अध्याय पनि छ । नेपालको संसद् र समाजमै पनि खासै चर्चा पाउन भने त्यसले सकेन । कारण अनेकौं होलान् अहिले खोतल्नेतिर नलागौँ । 

‘कुकुल्यान्ड’ को पहिलो अध्याय ‘हार्ड वन ट्रुथ’ को सुरुमै लेखकले मोहम्मद अमेर्सीलाई उद्धृत गर्दै लेखेका छन् - ‘‘यसमा म कति क्षुब्ध छु भन्ने देखिने हुनाले म खुसी छु किनभने तिमी बेइमान पत्रकार हौ । तिमी बिल्कुलै इमानदार छैनौ । यो बकवास झुटको पुलिन्दा छाप्नुभन्दा पहिले तिमीले यो रेकर्डिङ आफ्ना प्रकाशकलाई सुनाउला भन्ने आशा छ ।’’  

मोहम्मद आर्मेसी साहै नै क्रुद्ध भएका छन् । म उनले भनेको मान्नेवाला छैन भनेर । मोहम्मद सबै उनको इच्छाअनुसार चलुन् भन्ने चाहन्छन् । उनले जे भने त्यही नै हो भन्ने सबैले स्वीकार गर्नुपर्छ भन्ने उनको चाहना छ । उनले आफ्नाबारे जे भने त्यही सबैले मान्नुपर्छ । …”

बर्गिसले गरेको मोहम्मद आर्मेसीको चित्रण पढेपछि तपाईँलाई कुनै वा धेरै नेपाली नेताको सम्झना हुन्छ ?   

र अन्त्यमा 

मापसे वा अरू ट्राफिक नियम उल्लङ्घन गर्नेहरूले ट्राफिकको ‘स्वयंसेवक’ बन्ने आदेश नमानेका भए के गर्नेथियो त सरकारले ? तिनलाई पिट्ने ? थुन्ने ? जरिवाना गर्ने ? कानुनले त्यसो गर्ने अधिकार सरकारलाई दिएको छ र ? कि सबैलाई सिरोहिया बनाउने ? केही दुःख दिने र बदला असुल भएको ठानेर छाडिदिने ? 

राष्ट्रपतिको आवतजावतमा जनसाधारणलाई रोक्ने काममा अति नै भएपछि २०७५ भदौमा लैनचौरमा मोटरसाइकल चालकहरूले प्रहरी घेरा तोडेर भिडियो भाइरल भएको थियो । सरकारको आदेशले नागरिकको सहने सीमा नाघ्यो भने त्यसको अवज्ञा त हुन्छ । त्यसबाट नागरिकमा राज्यप्रतिको विश्वास कमजोर पनि हुन्छ । यसैले कानुनविपरीत व्यक्तिको मर्यादामा अतिक्रमण हुनेगरी सरकारले कुनै काम गर्नु हुँदैन । लोकतन्त्रमा कसैको सनकमा शासन चलाउन पाइँदैन । व्यक्तिको मर्यादामा अतिक्रमण नगर ! प्रत्युत्पादक होला । 


 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असार २, २०८१  ११:४८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement