
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डा. स्वर्णिम वाग्लेले पार्टीले संगठन आवश्यक भएको महसुस गरेको बताएका छन् । शनिबार काठमाडौंमा राष्ट्रिय स्वतन्त्र पार्टीको स्थापनाको अवसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा उनले पुरानो पार्टीको भद्धा नक्कल नगर्ने बताए ।
उनले पार्टीलाई कार्यकर्ता र संगठन आवश्यक रहेको र यसको पछिल्लो उदाहरण इलाम र तनहुँमा देखिएको स्पष्ट पारे । संगठन नहुँदा समुदायसम्म पुग्न कठिन भएको उनको ठहर छ ।
“संगठन नहुँदा हामीलाई पेनिट्रेट गर्न गाह्रो भयो । सबैभन्दा खड्केको इलामको निर्वाचनको मौन अवधिमा हो । त्यो समय जुन किसिमले अफवाह फैलाइए, त्यसलाई चिर्न टोलटोलमा साथीहरू भएनन्,” उनले भने, “मौन अवधिमा विज्ञप्ति निकाल्न नमिल्ने, भिडियो वक्तव्य निकाल्न नमिल्ने, नेताहरूले भाषण गर्न मिल्दैन । त्यो अन्तिम घडीको अफवाहहरू चिर्न कार्यकर्ता नै चाहिन्थ्यो ।”
पातलो चुस्त संरचना रास्वपाले कल्पना गर्नैपर्ने बताए । उपसभापति वाग्लेले रास्वपा अभियानको रुपमा अब अघि बढ्ने जानकारी दिए ।