पोखरा । ‘तपाईंहरू ३० सांसद पुर्याएर आउनुहोस्, ३१ पुर्याउने जिम्मा मेरो ।’ चाहे कांग्रेस राप्रपा गठबन्धन होस् वा एमाले माओवादी गठबन्धन । स्वतन्त्र सांसद दीपक मनाङे (राजीव गुरुङ) ले दुवै गठबन्धनलाई दिने तयारी जवाफ हो, यो ।
दुवै गठबन्धन संख्या–३० पुर्याउने राजनीतिमा लाग्छन्, मनाङे चाहिँ ३१ पुर्याएर मन्त्री बन्ने ‘पोलिटिक्स’मा लाग्छन् । गण्डकीमा सबैभन्दा धेरैपटक मन्त्री बन्ने कीर्तिमानी उनै मनाङेको नाम अंकित हुन पुगेको छ । बुधबार छैटौँपटक मन्त्री बन्दै गर्दा एउटा संयोग पनि परेको छ ।
हिजैका मितिमा अर्थात् तीन वर्षअघिको जेठ २९ गते मनाङे तेस्रोपटक मन्त्री बन्न पुगेका थिए । कृष्णचन्द्र नेपाली पोखरेलको सरकारभन्दा अघि उनी पृथ्वीसुब्बा गुरुङ सरकारमा २ पटक मन्त्री बनेका थिए ।
बार्गेनिङ राजनीतिबाट अगाडि बढेका मनाङे छैटौँपटक मन्त्री बनेसँगै गण्डकी मन्त्रिपरिषदमा तेस्रो वरीयतामा पुगेका छन् । गण्डकीको अप्ठ्यारो गणितीय खेलमा मनाङेले विस्तारै आफूलाई शक्तिशाली बनाउँदै लगेका छन् ।
अन्यथा, कुनैबेला न्युन बजेट भएको युवा तथा खेलकुद मन्त्रालय सम्हालेका मनाङेले प्रदेशसभाको दोस्रो कार्यकालमा भने सुरुवातदेखि नै अर्बौँ विकास बजेट खेलाउने भौतिक पूर्वाधार मन्त्रालयमा हक जमाएका छन् । गण्डकी प्रदेशसभाको अंक गणितले उनलाई त्यो अवसर दिएको छ ।
उनले सरकार जोगाउने विषयमा त्यतिबेला मात्र बोल्छन्, जतिबेला उनी मन्त्री बन्ने ‘कन्फर्म’ हुन्छ । छैटौँपटक मन्त्री बनिसकेका मनाङले सपथ ग्रहणपछि मन्त्रालयमा पद बहाली गरे । अनि निर्धक्कसाथ भने, “यस्तै अवस्था आइरह्यो भने ६ पटक होइन, २० पटक पनि मन्त्री बन्नुपर्ने हुन सक्छ ।”
उनी सत्ता जोगाउनकै लागि कित्ता बदली गरेका हुन् वा मन्त्री बन्न, त्यो त उनले नै जानुन् । तर, पछिल्लो समयमा मध्यवाधि निर्वाचन खर्चिलो हुने र प्रदेशसभा जोगाउनुपर्ने तर्कमा उनले जोड दिइरहेका छन ।
“....त्यसपछि झन् मध्यावधि चुनावमा जान्छ भन्ने लागेपछि मैले छोडेको हुँ । लामो राजनीति गर्नुभन्दा यही कार्यकाल राम्रो राजनीति गरौँ भन्ने लाग्यो । राम्रोसँग काम गरे आफ्नो जिल्ला त बनिहाल्छ । एमालेलाई सपोर्ट गर्दा कांग्रेस रिसाउँदो रहेछ, कांग्रेसलाई सहयोग गर्दा फेरि एमाले रिसाउँदो रहेछ । फस्ने त हामी भयौँ नि । हामीले केही गल्ती नै गरेको छैन । फुटेको उनीहरू हो, म कहिल्यै फुटेको छु र ?,” उनको भनाइ थियो ।
पुराना योजनाको करोडौँ दायित्व, समयमा भुक्तानी नपाउने, ठेकेदारले काम नगरेका प्राविधिक कामहरू कार्यान्वयन गर्ने र प्रदेशको सबैभन्दा ठूलो बजेट चलाउने मन्त्रालयमा उनको कार्यसम्पादन कस्तो हुन्छ, त्यो भने हेर्न बाँकी नै छ ।
तर, मन्त्रालयको समस्याबारे आफू जानकार रहेको दाबी चाहिँ मनाङेको छ ।
पाँचौपटक मन्त्री बन्दा उनले भनेका थिए, “मन्त्रालय जुनै भएपनि केही फरक पर्दैन । यो मन्त्रालयमा बजेट एकदमै धेरै छ, तर एकदमै बदनाम मन्त्रालय छ । ठेकेदार भनेका बिजनेसम्यान हुन् । बिजनेसम्यानलाई सबैभन्दा धेरै दुःख दिने मन्त्रालय यही रहेछ ।”
उनले यतिमात्र भनेनन्, आफू चलाख बनेको पनि खुलाए । “अब म चलाख पनि भएको छु, कुनै पार्टीमा म नछिर्ने । मलाई स्वतन्त्र भएर जिताएका हुन् । पार्टीमा जाँदाबित्तिकै के थाहा भोलि केन्द्रमा केही होला, म त सेफ बसेको छु । हामीले बजेट लैजाने हो, जिल्लाको विकास गर्ने हो ।”
छैटौँपटक मन्त्री बन्दैगर्दा मनाङे गण्डकीको राजनीतिमा यस्तो मोडमा छन् कि नचाहेर पनि उनलाई लिनुपर्ने बाध्यता छ ।
सुरुमा मन्त्री बनाउँदा पृथ्वीसुब्बा गुरुङले जे गरेका थिए, खगराज अधिकारीले पनि त्यही गरेका हुन् । कृष्णचन्द्र नेपाली पोखरेलले मनाङेलाई च्याप्दा सुरेन्द्रराज पाण्डेले नचाहेर पनि छुटाउन सक्ने अवस्था छैन ।
प्रदेशसभामा प्रवेश पाउन झेल्नुपरेको कानुनी झमेलादेखि त्यसबीचमा उनले गरेका हातपात, भारतीय गाडी प्रयोगदेखि उनको असंसदीय बोलीले मनाङे जहिले चर्चामा रहे । चर्चाले उनी राजनीतिको केन्द्रमा रहिरहे, मन्त्री बनिरहे ।
सुरेन्द्रराज पाण्डे सरकारमा पहिलोपटक चैत ५ गते चौथोपटक मन्त्री बनाउँदा मनाङेले भनेका थिए, “अब म ४ वर्ष पोलिटिक्स गर्छु ।”
त्यसको २० दिन पछाडि खगराज अधिकारी सरकारमा मन्त्री बने । जेठ १६ गतेसम्म मन्त्री रहेका मनाङे फेरि १४ दिनपछि सत्तामा फर्किए । गण्डकीमा सबैभन्दा बढी र धेरैसमय मन्त्री बन्ने रेकर्ड उनको नाममा छ ।
०७४ मा स्वतन्त्र निर्वाचित
०७४ को निर्वाचनमा मनाङको प्रदेश (ख) बाट प्रदेशसभामा एक हजार ४१० मत ल्याएर स्वतन्त्र उम्मेदवारमा उनी विजयी भएका हुन् । उनका प्रतिस्पर्धी कर्म गुरुङले एक हजार २० मत ल्याएका थिए । त्यतिबेला मनाङेलाई पृष्ठभूमिमा एमालेले सहयोग गरेका थिए ।
२०५०–०५१ सालतिर ठमेलमा मनाङका मानिसले होटल तथा रेस्टुरेन्ट खोल्न थालेपछि ठमेल भनेकै मनाङेहरूको हो भन्ने अफवाह फैलाउँदै मनाङेले हप्ता एवं मासिक असुली गर्न थालेका थिए । धम्क्याउँदै पैसा असुल्दै आएका उनको आपराधिक यात्राको बाधक बने केही समय चक्रे मिलन ।
केही समय राप्रपामा पनि रहे उनी । राप्रपामा खासै उपलब्धि नभएपछि उनी लक्ष्मण चौधरीको संघीय समाजवादी पार्टीमा प्रवेश गरे । ०६८ मा उक्त पार्टीमा प्रवेश गरेका उनी केही समय भूमिगतजस्तै बने ।
ठमेलमा रेस्टुरेन्ट व्यवसायीबाट सलामी (कमिसन) उठाउने मनाङे पटक–पटक पक्राउ पर्दै जेल परेर छुटेका अभियुक्त थिए । अकूत सम्पत्तिमा सम्पत्ति शुद्धीकरण विभागले मनाङेविरुद्ध विशेष अदालतमा मुद्दासमेत चलाएको थियो तर उनले सफाइ पाए ।
गुन्डागर्दीसँगै ठेक्कापट्टा, होटल, डान्सबार र रेस्टुरेन्ट सञ्चालकसमेत बने । राजनीति गरे अपराध छिपाउन सकिन्छ, प्रहरी चंगुलबाट बच्न सकिन्छ भन्ने अभिप्रायले नै उनी विभिन्न दलमा प्रवेश गरे । २०६० पुस ११ गते चक्रे मिलनलाई धारिलो हतियार प्रयोग गरेको अभियोगमा उनी पक्राउ परेका थिए । जेल बसेर छुटेका उनी त्यसपछि ०६५ फागुन र ०७० साल फागुनमा पक्राउ परे ।
सेनाका मेजरलाई कुटपिट गरेको आरोपमा पक्राउ परेका मनाङेलाई तत्कालीन काठमाडौंका सीडीओले ६ महिना कैद सुनाएपछि अदालतले एक वर्ष कैद सजाय सुनाएको थिए ।
उनी महानगरीय प्रहरी वृत्त लैनचौर, हनुमानढोका परिसर, टेकु परिसरसँगै काठमाडौंका धेरै प्रहरी कार्यालयका थुनामा बसिसकेका छन् । ०७३ पुस २८ गते राप्रपा प्रवेश गरेका उनी ०७४ असोजमा एकाएक एमालेमा पुगे ।
तर एमालेबाट टिकट नपाएपछि उनी स्वतन्त्रबाट सांसद बनेका थिए । सांसद बने पनि उनले तत्काल शपथ खान भने पाएनन् ।
पुरानो मुद्दामा उनलाई पुनरावेदन अदालत पाटनले उनलाई पाँचवर्ष जेल सजाय सुनाएको थियो । तर, लामो समय गोप्य राखिएको फैसला पाँच वर्षपछि २०७४ साल माघ २ गते सार्वजनिक भयो । त्यसपछि प्रहरीले उनको खोजी सुरु गरेको थियो ।
अन्ततः २०७५ वैशाख ६ गते उनी पक्राउ परे, जतिबेला उनी चुनाव जितेर गण्डकी प्रदेशसभाको सांसद बनिसकेका थिए । उनलाई स्वयम्भूको तीनधारा क्षेत्रबाट पक्राउ गरिएको थियो । ०७५ पुस ५ गते सर्वोच्चको आदेशमा उनी रिहा भए ।
सर्वोच्चको आदेशमा पुसको पहिलो साता थुनामुक्त भएपछि प्रदेशसभा सचिवालयमा प्रतिनिधिमार्फत् पुस ११ गते मनाङेले शपथग्रहणका लागि निवेदन दिएका थिए । १५ माघ ०७५ मा शपथ लिएपछि प्रदेशसभा सदस्य बनेका उनी गण्डकी सरकारको हेरफेरमा पनि तानातानमा परे ।
त्यही प्रकरणमा उनी पृथ्वीसुब्बा गुरुङ नेतृत्वको सरकारमा २०७८ वैशाख १६ गते पहिलोपटक मन्त्री बने । तर, नेकपा विभाजनको फुटले एमाले माओवादी ब्युँतिए । नेकपा एकीकृत समाजवादी जन्मियो । केन्द्रको बाछिटा प्रदेशमा पनि आइपर्यो । तत्कालीन गुरुङ सरकार अल्पमतमा पर्यो । सरकार जोगिने आशमा तत्कालीन मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले उनलाई खेलकुदमन्त्री बनाए ।
पृथ्वीसुब्बा ठूलो दलका हिसाबले दोस्रोपटक मुख्यमन्त्री बने र मनाङे पनि दोस्रो पटक खेलकुदमन्त्री । त्यतिबेलाको निर्णायक राष्ट्रिय जनमोर्चा टुंगोमा पुगेको थिएन । कतापट्टि लाग्ने टुंगो नभएका कारण मनाङे गुरुङकै सरकारमा अल्पमतको मन्त्री बनिरहे ।
तर, जनमोर्चाले ओली सरकारको विपक्षमा बस्ने निर्णय गर्यो । कांग्रेससहितको गठबन्धनको पक्षमा उभियो । त्यसपछि अल्पमतमा परेको सरकारसँग मनाङे पनि टाढिए ।
उनलाई त्यसपछि बनेको कांग्रेस माओवादी गठबन्धनले सहयोग माग्यो । मनाङेले त्यही भने, “तिमी ३० लिएर आउ, ३१ म पुर्याइदिन्छु ।”
माओवादीले समर्थन फिर्ता लिँदा पृथ्वीसुब्बा गुरुङ नेतृत्वको प्रदेश सरकार संकटमा पर्दा उनले मन्त्री बनाउनुपर्ने शर्त राखे ।
यो गठबन्धनलाई मनाङे नल्याउनु धरै थिएन । अन्ततः २०७८ जेठ १९ गते कांग्रेसका कृष्णचन्द्र नेपाली पोखरेलको नेतृत्वको सरकार बन्यो । तेस्रोपटक खेलकुदमन्त्री भए । प्रदेशसभाको पहिलो कार्यकालमा तीनपटक मन्त्री बन्ने रेकर्ड उनको नाममा रह्यो ।
फेरि निर्विरोध
अघिल्लो पटक एमालेको समर्थनमा चुनाव जितेका मनाङे मंसिरको चुनावमा निर्विरोध निर्वाचित भएर प्रदेशसभा छिरे । चुनाव जितेलगत्तै ५ दलीय गठबन्धनको सरकार बन्ने र फेरि मन्त्री बन्ने योजनाका साथ मनाङे १९ मंसिरमा नेकपा एकीकृत समाजवादी छिरे ।
तर, केन्द्रमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नै प्रधानमन्त्री बन्न एमाले लगायतका दलसँग समीकरण गरेपछि गण्डकीममा खगराज अधिकारी २०७९ पुस २५ गते मुख्यमन्त्री बने ।
खगराज सरकारमै मन्त्री हुने योजनासहित केन्द्रमा जे गठबन्धन भए पनि गण्डकीमा ‘खगराज दाइ’लाई नै समर्थन गर्ने बताए । नियुक्तिमा समर्थन पनि गरे । तर, खगराजले मन्त्री नबनाउने देखेपछि विश्वासको मत भने दिनै गएनन् ।
तर, १०५ दिनमा नै खगराज अधिकारीको सरकार ढल्यो । पुरानो कांग्रेससहितको गठबन्धन ब्युँतियो । मनाङे गण्डकीमा चौथोपटक मन्त्री बन्ने सम्भावना खोज्न थाले । उनी निर्विरोध निर्वाचित भएता पनि त्यतिबेलाको गठबन्धनमा आबद्ध दल एकीकृत समाजवादी पार्टीमा प्रवेश गरेका थिए ।
स्वार्थ चाहिँ मन्त्री बन्नु नै थियो । नेकपा एसले केन्द्रको गठबन्धनमा अर्थ राख्ने भएकाले गण्डकीमा मनाङेलाई मन्त्री बनाउन दबाब पनि दिए । कांग्रेस माओवादीको सहज बहुमत पुगेको हुँदा २०८० वैशाख १४ गते मुख्यमन्त्री बनेका सुरेन्द्रराज पाण्डेले विवादित छविका मनाङेलाई ‘इग्नोर’ गरिदिए । स्वयं माधवकुमार नेपालले भन्दापछि पाण्डेले मानेनन् ।
तर, मन्त्री बन्न मनाङेसँग एक भोट थियो । केन्द्रमा फागुन २१ गतेपछि राजनीतिक उपक्रम फेरिएपछि त्यतिबेला ‘इग्नोर’ गरेका सुरेन्द्रराज पाण्डेले मनाङेलाई आफ्नो पक्षमा ल्याउन वार्ता गरे, मन्त्री बनाउन तयार भए ।
अन्ततः चैत ५ गते भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्रीको रुपमा गण्डकी सरकारमा चौथोपटक मन्त्री बने । पाण्डेको नेतृत्वमा उनी जम्मा २० दिन मात्र मन्त्री बने । सुरेन्द्रराज पाण्डेले अल्पमतमा पर्ने देखेपछि उनले स्वाभाविक रुपमा यसअगाडि झैँ कित्ता बदले ।
त्यही बदलिएको कित्ताका कारण चैत २५ मा उनी पाँचौपटक मन्त्री बने । त्यसको दुई महिनामा उनी फेरि सुरेन्द्रराज पाण्डे सरकारमा मन्त्री बनेका हुन् ।