काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल आगामी मंगलबार (जेठ २९ गते) स्वीट्जरल्यान्ड जाने भएका छन् । अन्तर्राष्ट्रिय श्रम सम्मेलनको ११२औँ उच्चस्तरीय सत्रमा हुने सामाजिक न्यायका लागि विश्वव्यापी गठबन्धनको उद्घाटन कार्यक्रममा सहभागी हुन राष्ट्रपति पौडेल स्वीट्जरल्यान्डको जेनेभा जान लागेका हुन् ।
उनले जेठ ३१ गते सामाजिक न्यायका लागि विश्वव्यापी गठबन्धनको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्ने तय भएको परराष्ट्र मन्त्रालयले आइतबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
उनको जेठ ३० गते स्वीट्जरल्यान्डका राष्ट्रपति भायोला एमहेर्डसँग द्विपक्षीय वार्ता गर्ने कार्यक्रम रहेको छ ।
जेनेभाबाट असार १ गते राष्ट्रपति पौडेल जर्मनीको बर्लिन प्रस्थान गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ । जर्मनीका राष्ट्रपति फ्रान्क–वाल्टर स्टाइनमेयरको निमन्त्रणामा उनी जर्मनी जान लागेका हुन् । राष्ट्रपति पौडेलले असार ३ गते जर्मनीका समकक्षीसँग द्विपक्षीय वार्ता गर्ने कार्यक्रम छ ।
भ्रमणमा राष्ट्रपति पत्नि सविता पौडेल, राष्ट्रपतिका परराष्ट्र मामिलाका विज्ञ डा. सुरेशचन्द्र चालिसे, राष्ट्रपतिको कार्यालय तथा परराष्ट्र मन्त्रालयका सचिवहरू, स्वीट्जरल्यान्ड र जर्मनीका लागि नेपाली राजदूतहरूलगायत सहभागी हुनेछन् ।
राष्ट्रपति पौडले असार ५ गते स्वदेश फर्कने कार्यक्रम छ ।