काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले तेस्रो कार्यकालको लागि लिने शपथ ग्रहण कार्यक्रममा सहभागी हुन विभिन्न देशका पाहुना दिल्ली पुग्न थालेका छन् ।
यसै क्रममा आइतबार बिहान माल्दिभ्सका राष्ट्रपति मोहम्मद मुइज्यू दिल्ली पुगेका छन् । पछिल्लो समय भारतसँग सम्बन्ध राम्रो नभएका मुइज्यूले भारतीय प्रधानमन्त्रीको निमन्त्रणा स्वीकार गरी दिल्ली गएका हुन् ।
मुइज्यूले केही महिनाअघि माल्दिभ्समा भएको राष्ट्रपति निर्वाचनअघि भारत विरोधी अभियान चलाएका थिए । उनले आफू राष्ट्रपति भएका बेला माल्दिभ्समा रहेका भारतीय सेनालाई फिर्ता पठाउने प्रतिबद्धता जनाएका थिए ।
राष्ट्रपति भएपछि उनले भारतीय सेनालाई फिर्ता समेत पठाएका थिए । मुइज्यू शपथग्रहण कार्यक्रममा सहभागी हुन आएपछि अब माल्दिभ्स र भारतबीचको सम्बन्ध सुध्रिने विश्वास धेरैले लिएका छन् ।
बंगलादेशकी प्रधानमन्त्री शेख हसिना शनिबार नै शपथग्रहण समारोहमा सहभागी हुन दिल्ली पुगेकी छन् । भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले विभिन्न देशका पाहुना आउने क्रम जारी रहेको सामाजिक सञ्जाल एक्समार्फत जानकारी दिएका छन् ।
मौरिससका प्रधानमन्त्री प्रविन्दकुमार जगन्नाथ पनि मोदीको शपथग्रहण कार्यक्रममा सहभागी हुन दिल्ली पुगेको भारतीय विदेश मन्त्रालयका प्रवक्ता जयसवालले जनाएका छन् ।
नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आइतबार अपराह्न १ बजे मोदीको शपथग्रहण समारोहमा सहभागी हुन दिल्लीतर्फ जाँदै छन् ।