काठमाडौं । संघीय संसद्अन्तर्गत आज तीनवटा संसदीय समितिको बैठक बस्दै छ । विकास, आर्थिक मामिला तथा सुशासन समिति, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति र संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्न लागेको हो ।
विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा सुशासन प्रवर्द्धन एवं भ्रष्टाचार निवारण सम्बन्धमा राष्ट्रिय सतर्कता केन्द्रबाट भएका कामका बारेमा छलफल हुनेछ । बैठक बिहान ११ बजे बस्नेछ ।
सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा सार्वजनिक नीतिको आवश्यकता, महत्व, कार्यान्वयनको अवस्थालगायत विषयमा छलफल गर्ने कार्यसूची छ ।
मध्याह्न साढे १२ बजे बस्ने बैठकमा छलफल र जवाफका लागि नीति अनुसन्धान प्रतिष्ठानका कार्यकारी अध्यक्षलाई बोलाइएको छ ।
संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक पनि आजै बस्दै छ । बैठकमा लुम्बिनी विकास कोषबाट भएका कामकारबाही, प्रमुख सवाल, समस्या र भावी कार्ययोजनाबारे छलफल हुनेछ ।
बैठक बिहान ११ बजे बस्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।