
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले त्रिभुवन विश्वविद्यालयको उपकुलपतिको कार्यालयमा भएको तोडफोडको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
मन्त्रालयका प्रवक्ता शिवकुमार सापकोटाले विज्ञप्ति जारी गरेर तोडफोड तथा अन्य पदाधिकारीको कार्यालयमा तालाबन्दी गरिएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाए ।
“विश्वविद्यालयजस्तो विशुद्ध प्राज्ञिक संस्था र लाखौँ विद्यार्थीको भविष्य निर्माणका लागि दैनिक पठनपाठन प्रणाली सञ्चालनमा क्रियाशील रहनु पर्ने निकायमा कुनै पनि बहानामा यस्ता हिंसात्मक, गैरकानुनी र शैक्षिक क्यालेन्डरलाई बाधा पुर्याउने कुनै पनि कार्य सदैव निन्दनीय र भर्त्सनायोग्य हुन्छ,” विज्ञप्तिमा भनिएको छ ।
यस विषयमा शिक्षामन्त्री रघुजी पन्तले सूक्ष्म अध्ययन गरिरहेको र दोषीलाई कानुनी कारबाहीको दायरामा ल्याउन गृह प्रशासनसँग परामर्श गरिरहेको उनले जानकारी दिए ।
“त्रिभुवन विश्वविद्यालय ऐन, २०४९ को दफा १७ (३)अनुसार सहकुलपतिका हैसियतबाट माननीय मन्त्रीज्यूले उक्त घटनाका सम्बन्धमा सुक्ष्म अध्ययन गरिरहनुभएको छ,’ विज्ञप्तिमा भनिएको छ, “साथै मन्त्रीज्यूले यस्तो अनुशासनहीन र गैरकानुनी कार्यमा संलग्न जोसुकै भए पनि गम्भीर अनुसन्धानबाट पहिचान गरी तिनलाई कानुनी कारबाहीको दायरामा ल्याउन गृह प्रशासनको उच्च तहसँग परामर्श गर्दै सम्बन्धित पदाधिकारीलाई आवश्यक अनुरोध गर्नुभएको छ ।”
भविष्यमा कुनै पनि विश्वविद्यालय तथा शैक्षिक संस्थामा यस्ता अप्रिय घटना हुन नदिने गरी सम्बन्धित पक्षबाट स्वतःस्फुर्त रूपमा सावधानीपूर्ण प्रयत्न गर्न मन्त्रालयले सबैलाई आग्रह गरेको छ ।
यही जेठ १४ गते त्रिवि उपकुलपति कार्यालयमा तोडफोड भएको थियो ।