site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Global Ime bankGlobal Ime bank
पाँच सरकारी सेवामा राष्ट्रिय परिचयपत्र जोडिँदै, लाइसेन्सको काम पनि गर्ने

काठमाडौं । सरकारले वितरण गर्दै आएको राष्ट्रिय परिचयपत्रलाई अब केही सार्वजनिक निकायसँग आबद्ध गराइने भएको छ । गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले परिचयपत्रलाई अन्य निकायसँग जोड्ने तयारी भइरहेको बताएको हो ।

विभिन्न सरकारी सेवासँग अन्तरसम्बन्धित गराएर हरेक निकायमा पटकपटक एउटै विवरण उपलब्ध गराउनुपर्ने झन्झट अन्त्य गर्ने उद्देश्यले २०७५ सालदेखि यसको वितरण सुरु भएको थियो ।

हालसम उद्देश्यअनुरूप परिचयपत्र प्रयोगमा आउन सकेको छैन । पासपोर्ट बनाउन परिचयपत्र बनाउनैपर्ने झन्झट छ ।

अब भने चाँडै नै अन्य सरकारी सेवासँग राष्ट्रिय परिचयपत्रलाई आबद्ध गरिन लागेको विभागका निर्देशक मुकेशकुमार केशरीले बताए ।

उनका अनुसार स्वास्थ्य बिमा बोर्ड, व्यक्तिगत स्थायी लेखा नम्बर (प्यान) कार्ड, सामाजिक सुरक्षा प्रणाली र व्यक्तिगत घटना दर्तामा राष्ट्रिय परिचयपत्र जोडिन लागेको हो । यसका साथै सवारीचालक अनुमतिपत्र (लाइसेन्स)को विवरणसमेत परिचयपत्रबाटै थाहा हुने गरी विभागले प्रणाली बनाएको छ ।

“यी पाँच सेवामा चाँडै नै राष्ट्रिय परिचयपत्र जोड्दै छौँ । त्यसपछि ती निकायमा नागरिकले परिचयपत्रबाटै आवश्यक सेवा लिन सक्छन्,” विभागको राष्ट्रिय परिचयपत्र व्यवस्थापन महाशाखाका निर्देशक केशरीले भने ।

परिचयपत्रमा रहेको क्यूआर स्क्यान गरी ट्राफिक प्रहरीले उक्त व्यक्तिको लाइसेन्स भए/नभएको चेकजाँच गर्न सक्ने गरी प्रणाली विकास गरिएको समेत उनले बताए ।

“यो सबै प्रणाली बनिसकेको छ, अहिले परीक्षणका क्रममा छ । सम्बन्धित निकायबाट स्वीकृति पाएपछि लाइभ गर्छाैं,” उनले भने ।

आगामी साउन १ गतेदेखि पूर्णरूपमा नै यी सेवाका लागि परिचयपत्र प्रयोग हुने बताइएको छ ।

यसबाहेक विभागले राष्ट्र बैंकको प्रणाली र कम्पनी दर्ता प्रणालीसँग समेत राष्ट्रिय परिचयपत्र आबद्ध गर्न काम गरिरहेको बताएको छ ।

परिचयपत्रमा रहने क्यूआर स्क्यान गरी ट्राफिक प्रहरीले सम्बन्धित व्यक्तिको लाइसेन्सको ‘डिटेल’ हेर्न सक्नेछ । यसरी नै हरेक निकायलाई फरकफरक ‘की’ दिइने र सोही निकायका अधिकारीले स्क्यान गर्दा सो निकायसम्बन्धी विवरण देखिने उनले बताए ।

सामाजिक सुरक्षा प्रणाली अन्तर्गत सुरुमा २८ जिल्लामा राष्ट्रिय परिचयपत्रकै आधारमा वृद्धभत्ता दिने गरी काम भइरहेको उनले बताए । यसरी हालसम्म हरेक निकायमा जाँदा नागरिकता चाहिने प्रक्रियाबाट ‘फड्को मारेर’ परिचयपत्रबाटै काम हुने गरी विभाग सबै निकायसँग समन्वय गरिरहेको निर्देशक केशरीको भनाइ छ ।

विभागका अनुसार छाप्नका लागि उपलब्ध एक करोड २१ लाख १७ हजारमध्ये हालसम्म सम्म ३० लाख १९ हजार भन्दा बढी राष्ट्रिय परिचयपत्र कार्ड प्रिन्ट भएका छन् । 

छापिएकामध्ये २१ लाख भन्दा बढी कार्ड वितरणका लागि विभिन्न जिल्ला प्रशासन कार्यालयमा पठाइएको छ । परिचयपत्र बनाउन एक करोड ४३ लाखभन्दा बढी नागरिकको विवरण संलकन भएको छ ।

प्रकाशित मिति: मंगलबार, जेठ २२, २०८१  ०७:२०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro