site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Global Ime bankGlobal Ime bank
म्यानमारका बैंकहरू नेपाली सफ्टवेयरप्रति आकर्षित 
SkywellSkywell

काठमाडौं । म्यानमारमा नेपाली सफ्टवेयरप्रतिको आकर्षण बढ्दो छ । म्यानमार नेपाली सफ्टवेयरको माग बढ्न थालेपछि त्यहाँस्थित नेपाली दूतावासले ‘नेपाल–म्यानमार वाणिज्य सम्बन्ध : सफ्टवेयर व्यापारको प्रवर्द्धन’ कार्यक्रम आयोजना गरेको छ ।

“म्यानमारका तीन ठूला बैंकले नेपाली सफ्टवेयर प्रयोग गरिरहेका छन् । नेपाली ६ सफ्टवेयर म्यानमारका बैंकले प्रयोग गरेको पाइएको छ,” म्यानमारका लागि नेपाली राजदूत हरिषचन्द्र घिमिरेले बाह्रखरीसँग भने । 

म्यानमारबाट नेपाली सफ्टवेयर डिमान्ड बढेपछि अहिले नेपाली सूचना प्रविधि कम्पनीका प्रतिनिधिहरू याङ्गुन पुगेका छन् । उनीहरूले त्यहाँका बैंकिङ, फाइनान्स, माइक्रोफाइनान्स, सार्वजनिक तथा निजी सेवाप्रदायकहरूसँग छलफल गरिरहेका छन् । 

Dabur Nepal
NIC Asia

“म्यानमारमा सफ्टवेयरको माग र बजार ठूलो छ । नेपाली सफ्टवेयरलाई यहाँ रुचाइएको छ । अब हामीले हाम्रा सफ्टवेयर विश्वासनीय र सस्तो छन् भन्ने बुझाउन सकियो भने नेपाली सफ्टवेयरको बजार ह्वात्तै बढ्छ,” राजदूत घिमिरेले भने । 

MANMANR-2-1717311684.jpg
म्यानमारमा नेपाली सफ्टेयरको बढ्दो आकर्षण देखेर नै त्यहाँस्थित नेपाली दूतावासले सफ्टवेयर व्यापार प्रवर्द्धन कार्यक्रमको आयोजना गरेको हो । याङ्गुनमा आयोजना गरिएको कार्यक्रमको उद्देश्य नेपालको उदीयमान सूचना प्रविधि क्षेत्र, सफ्टवेयरको विकास र डिजिटल सेवा नेपालबाट म्यानमार निर्यात गर्नका लागि सम्भावित क्षेत्र पहिचान गरी नेपाल र म्यानमारका आइटी क्षेत्रका  सरोकारवालाहरूबीच सम्बन्ध स्थापना गर्नु रहेको राजदूत घिमिरेले बताए । 

कार्यक्रममा याङ्गुन क्षेत्रका मुख्यमन्त्री, म्यानमार फेडेरेसन अफ कमर्स एन्ड इन्डस्ट्री संघका अध्यक्ष पनि सहभागी भएका थिए । कार्यक्रममा म्यानमारका केन्द्रीय बैंकका उपगभर्नर, म्यानमार डिजिटल इकोनोमी एसोसिएसन (एमडीईए)द्वारा म्यानमारको डिजिटल सेवाहरू र सूचना प्रविधिबारे प्रस्तुतीकरण दिएका थिए ।

कार्यक्रममा फिनटेक अलायन्स नेपालका प्रतिनिधिले नेपालको सूचना प्रविधि क्षेत्रमा हालमा भएको विकासबारे प्रकाश पारेका थिए । उनीहरूले  नेपाली आईटी कम्पनीहरूले उपलब्ध गराउँदै आएका विभिन्न सेवाहरूको संक्षिप्त विवरण तथा कार्यक्रममा सहभागी नेपाली आईटी कम्पनीहरूको परिचय र उक्त कम्पनीहरूले प्रदान गर्ने सेवाहरुको विवरण प्रस्तुत गरेका थिए ।

कार्यक्रममा सहभागी आईटी कम्पनीहरूले आफ्नो स्टल/बुथहरूमा आफ्नो उत्पादन र सेवाहरूबारे जानकारी उपलब्ध गराएका थिए । म्यानमारका लागि नेपालका राजदूत घिमिरेले कार्यक्रममा पछिल्लो समय नेपालको सूचना प्रविधि क्षेत्रमा भएको प्रगतिबारे जानकारी गराएका थिए । 

MANMAR-3-1717311716.jpg
नेपालको आईटी उत्पादन र सेवाको परिपक्वताको प्रशंसा गर्दै उनले नेपालको बैंकिङ र फिनटेक क्षेत्रहरू आन्तरिक रूपमा विकसित तथा पूर्ण रूपमा भरपर्दो रहेको उल्लेख गरेका थिए ।

राजदूत घिमिरेले नेपाल सरकारले सूचना प्रविधि र सफ्टवेयर उत्पादनलाई उच्च महत्व दिएको भन्दै हालको निर्यात ५०० मिलियन अमेरिकी डलरबाट २५ बिलियन अमेरिकी डलर पुर्‍याउनुका साथै १५ लाख  रोजगारी सृजना गर्ने महत्वकांक्षी लक्ष्य घोषणा गरेको बताएका थिए ।

नेपाल–म्यानमार व्यापारलाई पारस्परिक लाभका लागि पूरक बनाउन एकअर्काको आईटी/फिनटेक उत्पादन तथा सेवाहरू, उद्यमीहरूको सञ्जाल बढाउन र अत्यावश्यक सेवाहरू प्रदान गरी यस क्षेत्रलाई अझ मजबुत बनाउन जरुरी रहेको जनाए । 

याङ्गुन क्षेत्रका मुख्यमन्त्री यू सो थेइनले कार्यक्रममा सहभागी नेपाली आईटी कम्पनीहरूलाई म्यानमारमा स्वागत गर्दै उनले दुई देशका आईटी क्षेत्रहरू बीचको सहकार्यलाई सहज बनाउने प्रतिबद्धता व्यक्त गरेका थिए ।

म्यानमार फेडेरेसन अफ कमर्स एन्ड इन्डस्ट्री संघका अध्यक्ष यू ए विनले नेपाली आईटी क्षेत्रले व्यवसाय, प्रक्रिया र आउटसोर्सिङमा गरेको प्रगतिको प्रशंसा गरेका थिए । उनले डिजिटल रूपान्तरण विकल्प नभई व्यवसायको अस्तित्वका लागि महत्वपूर्ण भएको बताए । सफ्टवेयरको मागलाई आपूर्तिसँग मिलाउन र म्यानमारको बैंकिङ, लघुवित्त र रेमिट्यान्स क्षेत्रमा सान्दर्भिक सफ्टवेयरको सम्भावित प्रयोग विस्तार गर्न महत्वपूर्ण भूमिका खेल्न सकिने उनले बताएका थिए ।

म्यानमार सिटिजन्स बैंकका प्रमुख कार्यकारी अधिकृत पदमा कार्यरत नेपाली प्रवासी भेषराज खतिवडाले आफ्नो अनुभव साट्दै नेपाली कम्पनीहरूलाई म्यानमारमा आईटी र डिजिटल सेवाको क्षेत्रमा विद्यमान खाडल पहिचान गरी लाभ लिन आग्रह गरेका थिए ।

म्यानमार डिजिटल इकोनोमी एसोसिएसनका अध्यक्ष आङ जायर ल्विनले  कार्यक्रमको उद्देश्य म्यानमारको व्यापार चक्र, आईटी कम्पनीहरू, बैंकहरू, लघुवित्त र वित्तीय संस्थालाई नेपाली सूचना प्रविधि क्षेत्रका कम्पनीहरुबारे सूचना प्रवाह गर्नु रहेको जनाएका थिए ।

कार्यक्रममा फिनटेक अलायन्स नेपालका प्रतिनिधिहरूले म्यानमारमा डिजिटल बृद्धिलाई सहज बनाउन उपयुक्त प्रविधिको विकास गर्न नेपाली आईटी कम्पनीहरूले सहकार्य गर्ने इच्छा व्यक्त गरेका थिए ।

कार्यक्रमका प्रमुख वक्ता तथा प्रमुख अतिथि म्यानमार केन्द्रीय बैंकका उपगभर्नर डा. लिन आङले नेपाली आईटी कम्पनीहरूद्वारा प्रदर्शन गरिएको कोर बैंकिङ सफ्टवेयर, वालेट, कम्प्लायन्स सोलुसन, केवाईसी व्यवस्थापन, रेमिटेन्स सफ्टवेयर, पेइङ रिसिभिङ एपीआई सफ्टवेयर, माइक्रोफाइनान्स संस्था र सहकारीले प्रयोग गर्ने सफ्टवेयर, मोबाइल बैंकिङ सफ्टवेयर बारेमा चासो राखेका थिए ।
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, जेठ २०, २०८१  १२:४७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu