काठमाडौं । मधेस प्रदेश सरकारको विषयमा छलफल भएको छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाको निवास बूढानिलकण्ठमा बोलाएर छलफल गरेका हुन् ।
प्रतिपक्षको बैठकमा देउवाले सत्तारूढ दल नेकपा (एकीकृत समाजवादी)लाई पनि बोलाएका थिए । बैठकमा मधेस सरकार सत्ता पक्षको हातमा जान नदिन छलफल भएको एक नेताले बताए । छलफलमा नेकपा एसका अध्यक्ष माधव नेपालले आफू यो विषयमा सकारात्मक भएको र पार्टीमा छलफल गरेर निर्णय दिने बताएको ती नेताले जानकारी दिए । “म तपाईंहरूले उठाउनुभएको कुरामा सकारात्मक छु । यो विषयमा पार्टीमा छलफल गर्छु र निर्णय दिन्छु भन्नुभयो,” ती नेताले भने ।
नेपालको पार्टी एसका प्रमुख सचेतक मेटमणि चौधरीले पनि मधेस सरकारको विषयमा छलफल भएको जानकारी दिए । “सामान्य छलफल भएको हो,” उनले भने ।
यता, जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले पनि मधेस सरकार जोगाउन प्रतिपक्ष दलहरू एक ठाउँमा उभिने सहमति भएको बताए ।