site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
सरकारले चार वर्षमा पहुँचवाला नेता–कार्यकर्तालाई बाँड्यो पौने ३६ करोड 

काठमाडौं । सरकारले आर्थिक सहायताका नाममा राजनीतिक पहुँच भएका व्यक्ति तथा नेता–कार्यकर्तालाई नियमविपरीत रकम बाँडेको पाइएको छ । पछिल्लो चार वर्षमा मात्र सरकारले राजनीतिक पहुँच भएका व्यक्ति तथा नेता–कार्यकर्तालाई ३५ करोड ८५ लाख ८२ हजार रुपैयाँ बाँडेको छ ।

मन्त्रिपरिषद्को निर्णणका आधारमा गृह मन्त्रालयले आर्थिक वर्ष २०७९/८० मा मात्र नियमविपरीत दुई करोड ५३ लाख ५० हजार रुपैयाँभन्दा बढी रकम पहुँचवाला नेता–कार्यकर्तालाई बाँडेको पाइएको छ । सरकारले नियमविपरीत उक्त रकम वितरण गरेको महालेखापरीक्षकको कार्यालयले आइतबार सार्वजनिक गरेको ६१औँ वार्षिक प्रतिवेदनमा औँल्याइएको छ ।

“मन्त्रालयले मन्त्रिपरिषद्‌बाट निर्णय भएको आधारमा औषधि उपचारको लागि १०३ जनालाई तीन करोड ८८ लाख ५० हजार रुपैयाँ एकमुष्ट आर्थिक सहायता प्रदान गरेकोमा कार्यविधिमा उल्लेख भएको भन्दा दुई करोड ५३ लाख ५० हजार रुपैयाँ बढी भुक्तानी गरेको छ । यस्तो खर्चलाई कानुनमा समावेश गरी व्यवस्थापन गरिनुपर्दछ,” महालेखाको प्रतिवेदनमा उल्लेख छ ।

Dabur Nepal
NIC Asia

नागरिक राहत, क्षतिपूर्ति तथा आर्थिक सहायतासम्बन्धी कार्यविधि, २०६८ मा आफैँ उपचार गराउन नसक्ने अवस्था भएमा सरकारले आर्थिक सहायता उपलब्ध गराउने व्यवस्था गरिएको छ । क्यान्सर, हृदयरोग, अल्जाइमर, पार्किन्सन्स वा मिर्गौलाजस्ता कडा रोग लागेमा यस्तो आर्थिक सहायता उपलब्ध गराइने कार्यविधिमा उल्लेख छ ।

यस्ता बिरामीले स्वदेश वा विदेशमा गई उपचार गराउँदा मेडिकल बोर्डको सिफारिसबमोजिम पूर्वराष्ट्रपति, पूर्वउपराष्ट्रपति र पूर्वप्रधानमन्त्रीलाई १५ लाख रुपैयाँसम्म उपलब्ध गराउने व्यवस्था कार्यविधिमा गरिएको छ । पूर्वप्रधानन्यायाधीश र पूर्वसभामुखलाई उपचारका निम्ति आर्थिक सहायता शीर्षकमा १० लाख रुपैयाँसम्म उपलब्ध गर्न सकिने व्यवस्था छ ।

यस्तै, साहित्य, संगीत, कला, राजनीति, सार्वजनिक प्रशासनलगायत राष्ट्रिय जीवनका अरू क्षेत्रमा उल्लेख्य योगदान पुर्‍याएका महत्त्वपूर्ण व्यक्तिलाई रोगको प्रकृति हेरी पाँच लाखसम्म र विपन्न नागरिकलाई एक लाख रुपैयाँसम्म सम्बन्धित अस्पतालका नाममा सोझै उपलब्ध गराइने कार्यविधिमा उल्लेख छ ।

सरकारले भने कार्यविधिमा तोकिएभन्दा बढी रकम नेता–कार्यकर्तालाई उपलब्ध गराउँदै आएको छ । कार्यविधिविपरीत रकम बुझ्नेमा बहालवाला राष्ट्रपति, पूर्वराष्ट्रपति, प्रधानमन्त्री र मन्त्रीहरू बढी छन् ।

आर्थिक वर्ष २०७८/७९ मा आर्थिक सहायताका नाममा सरकारले २५२ जनालाई प्रतिव्यक्ति ४६ हजारदेखि २० लाखसम्मका दरले १६ करोड २६ लाख ९८ हजार रुपैयाँ बाँडेको थियो ।

पूर्वप्रधानमन्त्रीलाई बढीमा १५ लाख र विभिन्न विधामा उल्लेख्य योगदान पुर्‍याएका व्यक्तिहरूलाई बढीमा सात लाखसम्म आर्थिक सहायता दिन सकिनेमा उक्त वर्ष मापदण्ड नघाई २७ जनालाई सात लाख २५ हजारदेखि २० लाखसम्मका दरले तीन करोड तीन लाख ३६ हजार रुपैयाँ वितरण गरिएको थियो ।

सरकारले यसप्रकारको आर्थिक सहायता आर्थिक वर्ष २०७६/७७ मा नौ करोड ११ लाख ६७ हजार र २०७७/७८ मा सात करोड ९३ लाख ६७ हजार रुपैयाँ भुक्तानी गरेको थियो ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: सोमबार, जेठ १४, २०८१  १२:१८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro