काठमाडौं । सहकारीको बचत अपचलनबारे छानबिन गर्न बनाइने संसदीय समितिको कार्यादेश (टीओआर) तय गर्न बैठक जारी छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को सरकारी निवास बालुवाटारमा बैठक बसेको हो ।
यहीबीच प्रधानमन्त्री प्रचण्डले सहमतिको विन्दु खोज्न भन्दै कहिले सत्ता त कहिले प्रतिपक्ष दलका नेतासँग छुट्टाछुट्टै संवाद समेत गरिरहेका छन् । “प्रधानमन्त्रीज्यूले सत्ता र प्रतिपक्षसँग अलग–अलग संवाद गरिरहनुभएको छ । आजै हामी सहमतिमा पुग्ने कोसिसमा छौँ,” बैठकमा सहभागी एक नेताले बाह्रखरीसँग भने ।
उक्त कार्यादेश तय गर्न गठित कार्यदलसहित प्रधानमन्त्रीको निवासमा अहिले शीर्ष नेताहरू छलफलमा जुटेका छन् ।
उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने सहकारी अपचलनमा संलग्न भन्दै प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले कार्यादेशमै उनको नाम उल्लेख गरेर छानबिन गरिनुपर्नेमा जोड दिएको छ । सत्तापक्षले यो माग स्वीकार गरेको छैन ।