site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
सिटौलाको प्रश्न– कैलाश सिरोहियालाई पक्राउ गर्न गृहमन्त्रीले किन आदेश दिनुभयो ?
फाइल तस्बिर ।

काठमाडौं । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले सरकारले कानुनको कपटपूर्ण प्रयोग गरी जनताको आवाज थुन्ने काम गरेको आरोप लगाएका छन् । सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई दुराशय ढंगले पक्राउ गरिएको बताए ।

‘अदालतको प्रक्रियाबाट पक्राउ पुर्जी आयो, अदालतले छोडिहाल्ला भन्ने’ प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भनाइ रहेको भन्दै उनले हल्का जवाफ नदिन आग्रह गरे । “...आज दुःखका साथ भन्नुपर्छ, कैलाश सिरोहियालाई पक्राउ गर्न किन गृहमन्त्रीले आदेश दिनुभयो ? मैले नबुझेको कुरा यहाँ छ । प्रधानमन्त्रीसँग पनि भन्यौँ,” उनले भने, “अदालतको प्रक्रियाबाट पक्राउ पुर्जी आयो, अदालतले छोडिहाल्ला नि भन्ने किसिमको जवाफ दिनुभयो । यो त हल्का जवाफ भयो प्रधानमन्त्रीज्यू, यसरी भन्न भएन हामीलाई कम्तीमा ।”

अदालतलाई दोष दिएर उम्कने ठाउँ नरहेको उनले उल्लेख गरे । उनले सरकार ‘एक्टिभ’ नभई अदालतले पक्राउ गर्ने आदेश नदिने जिकिर गरे । “सरकारले प्रहरीलाई अदालतमा पत्र लिएर जाऊ, पक्राउ पुर्जीको आदेश माग है नभनेको भए अदालतले आफैँ भएको हो त ? अदालत आफैँ एक्टिभ भएको हो त ? अदालतले पक्राउ गर भनेर पुलिसलाई निर्देशन दिएको होइन नि,” उनले भने, “सरकार एक्टिभ हो । अदालतलाई दोष दिएर उम्किने ठाउँ सरकारको छैन ।”

उनले संसद् सामान्य विषयमा अवरुद्ध भइरहेको पनि बताए । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले संसदीय छानबिन समिति बनाउन मार्गप्रशस्त गर्नुपर्नेमा उनले जोड दिए । तर, त्यसो नगर्नुले आरोप प्रमाणित हुने उनको भनाइ छ ।

उनले कांग्रेस व्यक्तिगत रूपमा कुनै पूर्वाग्रह राखेर अघि नबढ्ने पनि बताए । “एउटा सामान्य कुरालाई लिएर संसद् अवरुद्ध भएको छ । म सामान्य कुरा भन्दछु । गृहमन्त्रीमाथि आरोप लाग्यो, सारा प्रेसजगत्ले लेख्यो,” उनले भने, “संसद्‌मा प्रतिपक्षले कुरा उठायो । संसदीय छानबिन समिति गठन गरौँ है भनेर कुरा त राखेको हो, प्रतिपक्षले बढी केही कुरा राखेको होइन ।”

नेता सिटौलाले संविधानमा उल्लिखित नागरिक हक कार्यान्वयन भए/भएनन् भन्ने बारेमा सबैले समीक्षा गर्न आवश्यक रहेको औँल्याए । उनले संविधानको कार्यान्वयन जनताको हितमा कति भयो भनेर समीक्षा गर्न जरुरी रहेकामा जोड दिए । राजनीतिक दलहरूले सत्ता टिकाउन मिहिनेत र गिराउन षड्यन्त्र गरिरहन नहुने उनले बताए । न्युज एजेन्सी नेपाल

प्रकाशित मिति: सोमबार, जेठ १४, २०८१  १०:५३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro