
काठमाडौं । नेपाल एसाेसिएसन फर सफ्टवेयर एन्ड आईटी सर्भिसेस कम्पनिज (नास आईटी)ले आर्थिक वर्ष २०८१-८२ को बजेटका निम्ति सरकारलाई विभिन्न सुझाव दिएको छ । आइतबार काठमाडाैँमा पत्रकार सम्मेलन गर्दै सफ्टवेयर तथा आईटी कम्पनीको संस्था नास आईटीले नेपाललाई ग्लोबल टेक हबको रूपमा विकास गर्न सुझाव दिएको हो ।
नास आईटीले आगामी वर्षको बजेटबाट विश्वसँग प्रतिपर्धा गर्नका लागि १० वर्षको लागि कर प्रोत्साहन नीति अगाडि सार्दै शून्य प्रतिशत कर्पोरेट कर र आठ प्रतिशत निर्यात क्रेडिट सुविधाको व्यवस्था गर्नुपर्ने माग गरेको छ ।
बजेटमार्फत सूचना प्रविधि स्टार्टअप र उद्यमीलाई वित्तीय पहुँच पुऱ्याउन कर्जाको व्यवस्था गर्न, आईटी कम्पनीका लागि बिमा पोलिसी ल्याएर पाँच वर्षसम्म प्रिमियम लागतको ९० प्रतिशत अनुदान दिन नास आईटीले माग गरेको छ ।
यस्तै, आईटी पार्क तथा आईटी हब सञ्चालन गर्न, सफ्टवेयर खरिद गर्दा स्थानीय कम्पनीलाई प्राथमिकता दिन, अन्तर्राष्ट्रिय आईटी प्रदर्शनी भाग लिन, विदेशमा शाखा कार्यालय स्थापन गर्न सक्ने तथा आईटी बोर्ड गठनको व्यवस्था गर्न समेत संस्थाको माग छ ।
यसबाहेक नेपाली आईटी कम्पनी, उत्पादन र उद्योगको प्रवर्द्धन गर्न दूतावाससँग सहकार्य गर्नुपर्ने, ठूला सफ्टवेयरलाई पूर्वाधार परियोजना व्यवहार गर्नुपर्ने, पीपीपी मोडललाई प्रोत्साहन गर्नुपर्ने, खरिद प्रक्रियालाई सुधार गर्नुपर्ने माग गरिएको छ ।
सरकारले यी व्यवस्था गर्न सके आगामी १० वर्षमा नेपाली आईटी उद्योग निर्यात सात खर्बको बनाउन सकिने र ग्लोबल टेक हबको रूपमा विकास गर्न सकिने नास आईटीले विश्वास लिएकाे छ । योसँगै देशमा पाँच लाख रोजगारी सिर्जना गर्न सकिने नास आईटीको आंकलन छ ।
कार्यक्रममा नास आईटीका उपाध्यक्ष्य सन्तोष कोइरालाले अहिले आईटीएमा नेपालसँग विश्व स्तरको जनशक्ति रहेको बताए । त्यसकारण नेपालबाट आईटी निर्यातको ठूलो सम्भावना रहेको उनको भनाइ छ ।
नास आईटीका कोसाध्यक्ष्य अभय पौडेलले सरकारले आईटी उद्योगको प्रोत्साहानका लागि नीतिगत क्षेत्रमा निकै सुधार गर्न आबस्यक रहेको बताए । उनले सरकारले निश्चित मूल्यका आईटी उत्पादनका ठेक्का नेपाली कम्पनीलाई मात्र दिने गरी नीति ल्याउन आवश्यक रहेको बताए । नेपालका आईटी कम्पनीले गर्न नसक्ने र ठूला ठेक्काका लागि मात्र ग्लोबल टेन्डर आह्वान गर्नुपर्ने उनको भनाइ छ ।
प्रविधिको विकास र प्रवर्द्धनका लागि स्थापन हुने आईटी बोर्ड स्वायत्त निकाय हुनुपर्ने र त्यसका लागि छुट्टै ऐन आउनुपर्ने आईटी उद्यमीको भनाइ छ ।
सरकारले सहरका विभिन्न भागहरूमा अवस्थित १५ हजारदेखि ३० हजार वर्ग फिट भवनहरू भाडामा लिएर आईटी पार्कमा हुने सुविधाहरूको व्यवस्था गरी साना आईटी पार्कमा परिणत गर्न नास आईटीको भनाइ छ ।
नास आईटीले नेपाललाई ग्लोबल टेक हबको रूपमा विकास गर्ने भिजन रहेको बताउँछ। स्थापना कालदेखि नै यो संस्थाले नेपालको आईटी क्षेत्रलाई अगाडि बढाउन नवप्रवर्तन, सशक्तीकरण, सहकार्य, क्षमता अभिवृद्धि र नीति पैरवीमा काम गर्दै आएको बताएको छ।