काठमाडौं । यदि गर्मीमा पानीको अभावका कारण तपाईंको गला लगातार सुकी रहेको छ र चक्कर आइरहेको छ, आँखा रातो भइरहेको छ वा पिसाब पहेँलो भइरहेको छ भने यो स्वास्थ्यका लागि खतराको घण्टी हुन सक्छ ।
शरीरमा पानी र इलेक्ट्रोलाइट्सको कमीले स्वास्थ्यमा गम्भीर परिणाम उत्पन्न हुन सक्छ । यो प्रभावलाई डिहाइड्रेसन(निर्जलीकरण) अर्थात् शरीरमा पानीको कमी भन्न सकिन्छ । इन्डियन मेडिकल एशोसिएसन महाराष्ट्रका पूर्वअध्यक्ष डा. अविनाश भोंडवेका अनुसार डिहाइड्रेसनका कारण हालत गम्भीर हुन सक्छ । गर्मीमा लगातार पसिनाका कारण शरीरमा पानीको मात्रा कम हुन्छ यसबाहेक शरीरमा नु्नको मात्रा पनि कम हुन सक्छ ।
अब यो सोच्न सक्नुहुन्छ कि एसीमा रहँदा त पसिना नआउन सक्छ । तर हरेक समय एसीमा बस्नाले तिर्खा कम हुन्छ । स्वास्थ्य विशेषज्ञहरूका अनुसार यसले शरीरमा प्रतिकूल तथा दीर्घकालीन असर गर्न सक्छ । बढ्दो तापमानमा यदि शरीरको ठीक ढंगले रेखदेख गरिएन भने स्वास्थ्यमा गम्भीर असर पर्न सक्छ ।
डिहाइड्रेसन कुन समयमा हुन्छ ?
- यदि तपाईं लामो समयसम्म चर्को घाममा बस्नु भयो भने हिट स्ट्रोकले डिहाइड्रेसन हुन सक्छ ।
- समग्रमा तापक्रम नै बढी छ भने पनि यो समस्या आउँछ ।
- यदि तपाईं कुनै हिसाबले बिरामी हुनुहुन्छ भने त्यतिबेला पनि तपाईंलाई पानीको कमी हुन सक्छ ।
- धेरै मादक पदार्थ सेवन वा क्याफिनयुक्त पेयका कारण पनि शरीरमा पानीको कमी हुन जान्छ ।
- धेरै व्यायाम गर्नाले पसिना आएपछि पनि यो अवस्था आउन सक्छ ।
- तपाईंलाई धेरै पिसाब लाग्ने औषधि दिइएको छ भने पनि पानीको अभाव हुन सक्छ ।
डिहाइड्रेसनका लक्षण के हुन् ?
- धेरै तिर्खा लाग्नु ।
- पिसाब धेरै पहेँलो र गन्हाउने हुनु ।
- सामान्यभन्दा कम पिसाब आउनु ।
- चक्कर लाग्नु ।
- थकान महसुस हुनु ।
- मुख, ओठ र जिब्रो सुक्खा हुनु ।
- आँखा गहिरो भएजस्तो महसुस हुनु ।
यदि तपाईं यस्तो लक्षण महसुस गरिरहनु भएको छ भने तपाईंलाई डिहाइड्रेसन भएको हुन सक्छ । यस्तो अवस्थामा शरीरमा पानी र नुनको कमी पूरा गर्ने प्रयास गर्नु पर्दछ । र, चिकित्सकको मदत लिनु पर्दछ ।
शरीरमा पानी कम हुँदा के हुन्छ ?
धेरै मानिसहरू शरीरमा पानी कम भएको कसरी थाहा पाउने भनेर सोचिरहेका हुन्छन् । यसको पहिलो संकेत हाम्रो पिसाबबाट देखिने गरेको छ । यदि पिसाब पहेँलो वा रातो भयो भने यसको अर्थ शरीरमा पानी कम हुनु हो । यसबारेमा डा. अविनास भोंभडेको भनाइ छ, “घाममा लगातार हिँड्ने र तातो भट्टीसँगै काम गर्नाले पानीको मात्रामा कमी मात्रै हुँदैन कि सोडियम, पोटासियम, क्लोराइड र बाइकार्बोनेट जस्ता इलेक्ट्रोलाइट्सको मात्रामा कमी आउँछ । यस अवस्था लामो समयसम्म रह्यो भने शरीरमा म्याग्नेसियम र क्याल्सियमको मात्रा कमी हुन जान्छ ।”
एक वयस्कको शरीरमा ६० देखि ७० प्रतिशत पानी हुन्छ । डा. भोंडवेका अनुसार यदि पानीको यो स्तरमा धेरै अन्तर भयो भने हाम्रो शरीरका मेटाबोलिज्म प्रभावित हुन्छन् । अर्थात् खाएको खाना पच्दैन । साथै, व्यक्तिलाई सास लिन पनि मुस्किल पर्दछ ।
उनका अनुसार यतिमात्रै होइन यो अवस्था लामो समयसम्म रहेमा सो व्यक्तिको सास र दिमागमा पनि असर गर्दछ र उसको मृत्यु पनि हुन सक्छ । पानीको कमीले छाला सुक्खा हुने अवस्था समेत सिर्जना हुन्छ ।
विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का अनुसार डिहाइड्रेसन कम पानी पिउनाले मात्रै हुने होइन । पखालाका कारण पनि शरीरमा पानीको कमी हुन जान्छ । पखालाका समयमा पानी र नुनको मात्रा शरीरमा कम हुन्छ । यसका साथै बान्ता, पसिना, मूत्र त्याग तथा सास लिँदा पनि शरीरमा पानी र नुनको मात्रा कम हुने डब्ल्यूएचओको भनाइ छ । यो अवस्थामा व्यक्ति सुस्त हुने, बेहोस हुने, आँखा धसिएको महसुस हुने लक्षण देखिन्छ । उसलाई पानी पिउने इच्छा भने हुँदैन । यस्तो अवस्थाले डिहाइड्रेसनबाट गम्भीर अवस्था आउने सो संस्थाको भनाइ रहेको छ ।
पानीले मात्रै हुन्न ?
डा. रेवत कानिंदे मुम्बइका हुन् । उनी जेजे अस्पतालमा चिकित्सा अधिकारी हुन् । उनी भन्छन्, “यदि तपाईं भीषण गर्मीमा डिहाइडे«सनबाट बच्न चाहनु हुन्छ भने पानी पिएर मात्रै हुँदैन । पानीका साथै अर्को तरल पदार्थ पनि पिउनुपर्छ ।”
उनका अनुसार तथापि, गर्मीमा धेरै पानी पिउनु जरुरी छ । तर, शरीरको तिर्खा मेटिएको हुँदैन । शरीरमा पानीको कमी रोक्नको लागि हामीलाई शर्वत, फलफूलको जुस, मोही जस्ता तरल पदार्थ पिउनु जरुरी हुन्छ ।
उनका अनुसार गर्मीको समयमा शरीरमा पानीको मात्रा बनाइ राख्नु जरुरी हुन्छ । आम रुपमा हाम्रो शरीरमा ७० प्रतिशत हिस्सा पानीको रहने गरेको छ । शरीरमा पानीको जरुरत पर्दछ । यस्तोमा विशेषज्ञहरूको भनाइ छ कि एकैपटक धेरै पानी पिउनु ठीक हुँदैन । यसले गर्दा तिर्खा लाग्दा पानी पिउन याद गर्नुपर्छ । स्वास्थ्य विशेषज्ञ तिर्खा लागेका बेलामा एकै पटक दुई वा तीन गिलास पानी पिउनु नहुने बताउँछन् । पानी विस्तारै पिउनु उपयुक्त हुने उनीहरूको भनाइ छ । यदि तपाईंले एकैपटकमा धेरै पानी पिउनुभयो भने पेटमा तनावका कारण तपाईंलाई भोक कम भएर जान्छ ।
डा. कानिंदे ग्रीष्मकालीन आहारको बारेमा पनि सल्लाह दिन्छन् । उनको सल्लाह यस्तो छ :
- गर्मी समयमा बाहिरको तेलीय खाना नखानुस् ।
- खाना खाएर मात्रै घर बाहिर निस्कनुस् ।
- भिटामिन सीका लागि राम्रो हुने तरबुजा, खरबुजा, सुन्तला, मौसम, अंगुर, आँप, अनार जस्ता फलफूल आहारमा सामेल गर्नुस् ।
- यस्तै, अमला जस्ता भिटामिन सी हुने तथा सोडियम, पोटासियम, म्याग्नेसियम जस्ता तत्त्व हुने खाना पनि खानुस् ।
बच्चालाई पानी कम भएमा के हुन्छ ?
बच्चाहरू गर्मीमा खेलिरहेका हुन्छन् । यस्तो अवस्थामा उनीहरूलाई भोक तिर्खा याद हुँदैन । यसले गर्दा उनीहरूलाई पानी कमीको समस्या उत्पन्न हुन सक्छ । यस्तो बेलामा आमा बाबुले उनीहरूको स्वास्थ्यमा विशेष ध्यान दिनु जरुरी हुन्छ ।
फरिदावादको अमृता अस्पतालका चिकित्सक हेमन्त ताहिलरमानी बच्चाको बारेमा यस्तो सुझाव दिन्छन् :
- बाबुआमाले याद राख्नुपर्छ । खेल्न जाँदा पानीको बोतल पनि लग्न दिने । चर्को घाममा पनि खेल्न नदिने ।
- खानामा तरबुजा, सुन्तला स्ट्रबरी, सागपात दिने ।
- बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म बच्चालाई खेल्न नदिने ।
- बच्चालाई हल्का रंगको कपडा लगाउन दिने ।
- बच्चाको शरीरमा पानीको मात्रा निकै कम भएमा ओरल डिहाइड्रेसन साल्ट दिनु पर्दछ । बीबीसी