कोलकाता । निजी भ्रमणका क्रममा भारत आएका बंगलादेशको सत्तारूढ पार्टीका सांसद अनवारुल अजीमको सुनियोजित तरिकाले हत्या गरिएको बंगलादेशका गृहमन्त्री असदुज्जमान खानले बताएका छन् । उक्त घटनामा संलग्न तीनजनालाई पक्राउ गरिएको समेत उनले जनाएका छन् ।
गृहमन्त्री खानले बुधबार ढाकास्थित आफ्नो निवासमा पत्रकार सम्मेलनको आयोजना गरी भने, “यो हत्या सुनियोजित तरिकाबाट भएको छ । बंगलादेश प्रहरीले यो मामिलामा तीन व्यक्तिालाई गिरफ्तार गरेको छ । उनीहरूसँग सोधपुछ भइरहेको छ ।”
भारतीय प्रहरीले पनि घटना अनुसन्धानमा सहयोग गरिरहेको उनले जनाएका छन् । यसअघि, कोलकातामा विधाननगर प्रहरी उपउच्चायुक्त मानव शृंगलाले बीबीसीसँगको कुराकानीमा मे १३ का दिन सांसद चढेको गाडीको चालकसँगको बयानमा उनीसँगै त्यसमा सवार व्यक्तिले सांसदको हत्या गरेर शव टुक्रा–टुक्रा पारेर फालेको बताएको जनाएका छन् ।
मोबाइलको रेकर्डअनुसार उनी कोलकातामा आफ्ना मित्रको घरबाट महानगरको न्यु मार्केट इलाकामा गएको देखिएको छ । त्यसपछि मे १७ का दिन उनको फोन विहारको कुनै स्थानमा केही समयका निमित ‘अन’ भएको थियो । त्यससम्बन्धी जानकारी कोलकातास्थित बंगलादेशको उच्चायोगलाई भारतीय अधिकारीहरूले दिएका हुन् ।
अजीम कोलकातामा आफ्ना मित्र गोपाल विश्वासको घरमा एक दिन बसेका थिए । उनको घरबाट मे १३ मा ती सांसद भाडाको कारमा निस्किएका थिए ।
बंगलादेशको कोलकातास्थित उच्चायोगको कार्यालयका अनुसार, शनिबार बंगलादेशका प्रधानमन्त्रीले सांसद बेपत्ता भएको सूचना दिएको र त्यसपछि उच्चायोगले भारतको विदेश मन्त्रालयलाई जानकारी गराएको थियो ।
सांसदका कोलकातास्थित मित्र विश्वासले जानकारी गराएअनुसार, सांसदले त्यहाँ कोही राम्रो न्युरोलोजिस्टसँग जँचाउन चाहेको बताएका थिए । आफूलाई त्यसबारेमा जानकारी नभएकाले साल्टलेकस्थित अपोलो अस्पतालमा जान सुझाव दिएको उनले बताएका छन् ।
सांसदको हत्या भएको बंगलादेशका गृहमन्त्रीले बताए पनि शव अझै फेला फेलापरेको छैन । बीबीसी हिन्दीबाट ।