site stats
बाह्रखरी :: Baahrakhari
देश
१८ वर्षदेखि चोरीको श्रृंखला चलाइरहेका रामेछापका कमल र धनलाल

काठमाडौं । प्रहरीको उपत्यका अपराध अनुसन्धान कार्यालय ललितपुरको टोलीले जेठ ३ गते चोरीमा संलग्न एक समूहलाई पक्राउ गर्‍यो । उक्त समूहले वैशाख ९ मा ललितपुर महानगरपालिका–२१, खोकनास्थित नवराज गुरुङको घरबाट सुनचाँदीका गरगहना, नगद तथा मोबाइल समेत चोरी गरेका थिए ।

प्रहरीले चोरी गर्ने समूहको खोजी तीव्र पार्‍यो । करिब तीन हप्ताको नियमित खोजीपछि चोरीमा संलग्न ६ जनालाई पक्राउ गर्न सफल भएको हो । चोरीमा संलग्न समूहलाई पक्राउ गर्न कार्यालयको टोली रामेछाप समेत पुगेको थियो ।

प्रहरीले चोरी गर्ने समूहका नाइके ३७ वर्षीय कमल थापा मगरलाई रामेछाप दोरम्बा गाउँपालिका–४, गौसराबाट पक्राउ गरेको हो । त्यस्तै, अन्य पाँचजना भने ललितपुर र काठमाडौंको विभिन्न ठाउँबाट पक्राउ परेका थिए ।

Argakhachi Cement Island Ad

पक्राउ पर्नेहरूमा रामेछाप दोरम्बाकै ३५ वर्षीय धनलाल थापामगर, सिन्धुपाल्चोकका मेलम्चीका २८ वर्षीय सुवास सुनार, काठमाडौं कागेश्वरी मनहरा नगरपालिका–६, का रेशक विक, काठमाडौं टोखाका ४१ वर्षीय योगेश डाँगी र सप्तरीका २२ वर्षीय मोहम्मद समिर छन् ।

उनीहरूमाथि जिल्ला प्रहरी कार्यालय ललितपुरले थप अनुसन्धान अघि बढाएको छ । प्रहरीको टोलीले उनीहरूको साथबाट सुनको सिक्री, क्रिष्टलजडित सुनसहित अन्य विभिन्न सुनका गरहगना गरेर ३५ थान, चाँदीको गहना एक थान र नगद २४ हजार रुपैयाँसमेत बराद गरेको छ ।

प्रहरीको अनुसन्धानका क्रममा चोरीमा संलग्न रामेछाप दोरम्बाका कमल थापा मगर र धनलाल थापामगर मुख्य आरोपी भएको खुलेको छ ।

यस्तो छ मगरद्वयको चोरीको श्रृंखला

चोरी मुद्दामा पक्राउ परेका कमल र धनलालमाथि अनुसन्धान जारी राखेको ललितपुर प्रहरी आफैँ चकित परेको छ । कमल र धनलालले १८ वर्षअघिदेखि नै चोरी धन्दामा लागेको ‘पकटे’ भएको खुलेको हो ।

पक्राउ परेका कमल यसअघि नै १८ पटक चोरीडकैती मुद्दामा पक्राउ परेर छुटेको खुलेको छ । त्यस्तै, धनलाल पाँचपटक पक्राउ परेर छुटेको खुलेको उपत्यका प्रहरी कार्यालयका एसपी रवीन्द्र रेग्मीको भनाइ छ ।

प्रहरीले राखेको क्रिमिनल रेकर्ड (सीआरएस) मा कमल पहिलोपटक २०६३ मा डाँका चोरीमा पक्राउ परेको देखिएको छ । त्यसपछि भने उनको चोरी र लुटापाटको श्रृंखला अहिलेसम्म चलेको हो । 

प्रहरीको रेकर्डले उनी दोस्रोपटक २०६४ जेठ ११ मा पक्राउ परेको देखाएको छ । चोरी र डाँका मुद्दामा २०६४ मा तीनपटक पक्राउ परेका थिए । त्यसरी पक्राउ पर्दै जेल बस्दै छुट्दै आएका कमल सुध्रिने बाटो तिर लागेनन् ।

उनी फेरि २०७१ भदौ १ मा पुन पक्राउ परे । सो श्रृंखलालाई उनले नियमति राखे । २०७८ सालमा मात्रै उनी चोरी मुद्दामा पाँचवटा घटनामा संलग्न भएको खुलेको छ ।

पछिल्लो समय २०८० भदौ १७ मा प्रहरी वृत्त सिंहदरबारले चोरी मुद्दामा नै उनलाई पक्राउ गरेको खुलेको हो । फेरि एक वर्ष नहुँदै ललितपुरको अर्को चोरीको घटना उनी हाल प्रहरीको थुनामा छन् ।

त्यस्तै, धनलाल समेत पहिलोपटक ०६६ सालमा काठमाडौं प्रहरीले चोरी मुद्दामा पक्राउ गरेको देखिएको छ । त्यसयता उनी पनि पटक–पटक गरी पाँच चोरीको घटनामा संलग्न भएको खुलेको हो । उनीहरूले चोरी गरेर नै हाइफाइ जीवन बिताइरहेको प्रहरीले जनाएको छ ।

पटक–पटक पक्राउ पर्दा पनि किन चोर्न छाड्दैनन्

हाल पक्राउ परेका कमल र धनलाल खान नपाएर खानाका लागि चोरी गर्दै हिड्ने समूह होइन् । उनीहरु पेसेवर ‘चोर’ हुन् । प्रहरीको अनुसन्धानले उनीहरूले चोरी धन्दामै लागेर लाखौँ रुपैयाँ जम्मा गरेको तथा चोरीको रकमले मोजमस्ती गर्नेदेखि जुवा खेल्ने गरेको खुलेको छ । त्योबाहेक सजिलै पैसा कमाउने उद्देश्यले चोरीमा संलग्नहरू चोर्र्दै हिड्ने गरेको प्रहरीको भनाइ छ ।

२०७४ को मुलुकी अपराध संहिताको २४३ को दफाअनुसार नकबजनी चोरी गर्नेलाई तीनदेखि पाँच वर्ष कैद र ३० हजारदेखि ५० हजार जरिबाना हुने व्यवस्था गरेको छ । त्योबाहेक तीनजनाभन्दा बढीको समूहले डकैती गरेमा सातदेखि १० वर्ष र हतियार देखाएर डकैती गरेमा भने सातदेखि १४ वर्ष कैद सजायको व्यवस्था गरेको छ ।

अनुसन्धान कार्यालका एसपी रेग्मीले यसअघिको कानुनमा चोरी मुद्दामा सामान्य धरौटीमा छुट्दै आएका कारण उनीहरूले चोरी नै पेसा बनाएको दाबी गरे ।

प्रकाशित मिति: बुधबार, जेठ ९, २०८१  १५:३७
प्रतिक्रिया दिनुहोस्