site stats
बाह्रखरी :: Baahrakhari
विदेश
कारको ठक्करबाट दुईजनाको मृत्यु, चालक नाबालकलाई  ‘निबन्ध’ लेख्ने सर्तमा जमानत

पुणे। भारत महाराष्ट्रको पुणेमा एक नाबालकले तीव्र गतिमा चलाएको पोर्स कारले मोटरसाइकललाई ठक्कर दिँदा दुईजनाको मृत्यु भएको घटनामा संलग्न नाबालकलाई ‘निबन्ध’ लेख्ने सर्तमा अदालतले जमानत दिएको छ ।

१८ मे का दिन पुणेको कल्याणीनगरमा सो दुर्घटना भएको थियो । सो घटनामा बाइकमा सवार अनिष अवधिया र अश्विनी कोस्टा दुवैको मृत्यु भएको थियो । ती नाबालकले मादक पदार्थ सेवन गरेर कार चलाएको पाइएको थियो ।

सो मामिलामा नाबालकका बुबा र उनी मादक पदार्थ सेवन गर्न गएको पबका म्यानेजर र कर्मचारीविरुद्धमा प्रहरीले मुद्दा दर्ता गरेको छ । प्रहरीले गएको सोमबार नाबालकका बुबासहित चारजनालाई पक्राउ गरेको थियो । राति साढे २ बजे नाबालकले चलाएको कारले मोटरसाइकललाई ठक्कर दिएको थियो ।

सोसम्बन्धी मुद्दामा स्थानीय अदालतले नाबालकले १५ दिनसम्म ट्राफिक प्रहरीका साथ रहेर बाटोमा ट्राफिकलाई मद्दत गर्नुपर्ने र सोसम्बन्धी रिपोर्ट बनाउनुपर्ने, सडक दुर्घटना र त्यसको समाधानको विषयमा ३०० शब्दको निबन्ध लेख्नुपर्ने, मादक पदार्थ सेवन रोक्नका लागि मनोचिकित्सकसँग परामर्श गर्नुपर्ने र भविश्यमा कुनै दुर्घटना भएको देखेमा पीडितलाई मद्दत गर्नुपर्ने सर्त राखेको छ ।

सो सर्त मानेपछि ती नाबालकलाई जमानत मिलेको बताइएको छ । भारतको कानुनमा त्यसप्रकारको घटनामा बाबु आमालाई दोषी मानिने गरेको जनाइएको छ । बीबीसी
 

प्रकाशित मिति: बुधबार, जेठ ९, २०८१  ०९:१७
प्रतिक्रिया दिनुहोस्