site stats
बाह्रखरी :: Baahrakhari
देश
सरकारी जग्गा ‘व्यक्तिका नाममा गर्ने’ आठजनाविरुद्ध भ्रष्टाचार मुद्दा, २४ करोड बिगो दाबी  

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कैलालीको टीकापुरस्थित मालपोत कार्यालयका तत्कालीन प्रमुख मोहन स्नेही रसाइलीसहित आठजनाविरुद्ध भ्रष्टाचार मुदा दायर गरेको छ । उनीहरूले सरकारी जग्गा व्यक्तिका नाममा गरी भ्रष्टाचार गरेको भन्दै अख्तियारले आइतबार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

अख्तियारले आइतबार मुद्दा दायर गरेका अरू व्यक्तिमा नापी कार्यालय टीकापुरका तत्कालीन कार्यालय प्रमुख मानबहादुर चन्द, नायब सुब्बा अग्निबहादुर शाही, सर्वेक्षक दशरथ मण्डल, जग्गाधनी दर्ता प्रमाणपुर्जा बनाउने विन्द्रा रावल, कमलबहादुर रावल, सुशीलबहादुर रावल र विमलबहादुर रावल छन् ।

Argakhachi Cement Island Ad

कैलालीको साविक नारायणपुर–८ अन्तर्गतको कित्ता नम्बर–९०८ को क्षेत्रफल १५–०–० जग्गा फिल्डबुकमा ‘जंगल’ भनी कायम थियो । त्यसलाई कित्ताकाट गरी मालपोत कार्यालय टीकापुरबाट ०६८ सालमा व्यक्तिका नाममा कायम गरिएको भन्ने उजुरी परेपछि अख्तियारले अनुसन्धान थालेको थियो ।

उनीहरूले सरकारी जग्गा व्यक्तिका नाममा गर्दा २४ करोड ६ लाख ६९ हजार रुपैयाँ हिनामिना गरेको अख्तियारको ठहर छ । दायर मुद्दामा अख्तियारले उनीहरू सबैजनासँग २४ करोड ६ लाख ६९ हजार रुपैयाँ बिगो दाबी गरेको छ । 

प्रकाशित मिति: आइतबार, जेठ ६, २०८१  १५:४१
प्रतिक्रिया दिनुहोस्