विराटनगर । कोसी प्रदेशमा आर्थिक मामिला तथा योजना मन्त्रालय थाती राख्दै मन्त्रीमण्डल विस्तारको तयारी गरिएको छ । मुख्यमन्त्री हिक्मत कार्कीले शुक्रबार मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेका हुन् ।
नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)ले आर्थिक मामिलामा भने आ–आफ्नो दाबी प्रस्तुत गरेका छन् । मन्त्रालयको भागबण्डा मिलाउन माओवादीका कोसी प्रदेश इन्चार्ज विराटनगर आएका थिए ।
मुख्यमन्त्री कार्की संविधानको धारा १६८ को उपधारा ५ बमोजिम वैशाख २७ गते नियुक्त भएका थिए । उनको नियुक्ति प्रक्रिया असंवैधानिक भएको भन्दै निवर्तमान मुख्यमन्त्री केदार कार्कीले सर्वोच्च अदालतमा रिट दर्ता गराएका छन् । त्यसमा जेठ ९ गते पूर्ण इजलासमा सुनुवाइ हुँदै छ ।
शुक्रबार एमालेबाट तीन मन्त्री र दुई राज्यमन्त्री, माओवादी केन्द्रका दुई मन्त्री र एक राज्यमन्त्री नियुक्त हुँदैछन् । मन्त्री हुनेमा एमालेबाट एकराज कार्की, पाँचकर्ण राई र लिलावल्लभ अधिकारी सोही दलबाट राज्यमन्त्री सिर्जना राई र निरन राई वा छवी चुँडाल छन् ।
यता, माओवादीबाट मन्त्रीतर्फ राजेन्द्र कार्की, नारायण बुर्जा मगर र दुर्गा चपागाईं तथा राज्यमन्त्री सपना दर्जी र बन्दना झाँगड छन् । साँझ ४ बजे उनीहरूको शपथ हुने बताइएको छ ।