काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले पार्टी विभाजन गर्न लागेको चर्चापछि आत्तिएको सुनाएका छन् । ललितपुरको बालकुमारीमा आजदेखि सुरु भएको केन्द्रीय कमिटी बैठकमा उनले जनता समाजवादी पार्टी विभाजन भएको र आफ्नो पार्टी पनि विभाजन गर्ने चर्चा चलेको बताए ।
“हाम्रो पार्टीको पनि विभाजनको हल्ला चले । अर्को पार्टी खडा गर्नका लागि तयारी भइसकेको भन्ने चर्चा पनि चल्यो । ६ जना जाँदैछन् भन्ने हल्ला चले, चलाइए,” उनले भने, “हामी पनि आत्तियौँ । के हो वास्तविकता । बसेर फेरि छलफल गर्यौं । छलफल गर्दा जति गणना गर्दा पनि देखिँदैन ।”
नेपालले पार्टीमा असन्तुष्टि भए छलफल गरेर टुंगो लगाउन सकिने बताए । “असन्तुष्टिलाई राम्रो ढंगले प्रस्ट पार्ने । सन्तुष्ट त कसरी पार्न सकिएला र,” उनले भने “एकछिनका लागि चित्त बुझाउने र विश्वास दिलाउने हाम्रो कोसिस हुनुपर्दछ ।”