site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
महिला फुटबलमा कर्णाली पछि छ भन्ने मानसिकता चिर्दा...
Tiktok banner adTiktok banner ad

काठमाडौं । “खेलाडीले एकआपसमा बनाएको एकजुट र जित्नैपर्छ भन्ने भावनाले गर्दा कर्णालीलाई राष्ट्रिय लिगसम्म पुर्‍याउन सफल भयौँ । महिला फुटबलमा कर्णाली पछि छ भन्ने नेपाली मानसिकता चिर्न सफल भयौँ,” सुर्खेतमा भएको राष्ट्रिय महिला लिगबाट कर्णालीलाई राष्ट्रिय लिगसम्म उकाल्न सफल भएपछि कप्तान सिर्जनासिंह ठकुरीले बाह्रखरीसँग यसरी आफ्नो खुसी पोखिन् ।

कर्णालीकै राजधानी सुर्खेतमा वैशाख ७ देखि २१ गतेसम्म भएको राष्ट्रिय महिला लिगको छनोटमा कर्णालीले सबैलाई चकित तुल्याउँदै तेस्रो स्थानसहित राष्ट्रिय लिगसम्मको यात्रा तय गर्‍यो । कर्णालीले लिगको अन्तिम खेल खेल्न बाँकी हुँदा सबै खेल खेलिसकेको मधेस १० अंकसहित तालिकाको तेस्रो स्थानमा थियो । यसैकारण राष्ट्रिय लिगमा छनोट हुन अन्तिम खेलमा गण्डकीविरुद्ध सुदूरपश्चिमलाई जित्नैपर्ने दबाब थियो । वैशाख २० गते प्रदेश राजधानीमा गण्डकीविरुद्ध २–० को जित निकालेपछि कर्णाली मधेसलाई पछि पार्दै राष्ट्रिय लिगमा छनोट हुने तेस्रो टोली बन्यो ।

लिग सुरु हुनुअघि कर्णालीले राष्ट्रिय लिगमा स्थान बनाउने भन्ने कल्पना सायदै कसैको थियो । प्रतियोगितामा मधेस, कोसी र सुदूरपश्चिमजस्ता बलिया प्रदेशको उपस्थितिले पनि कर्णाली छनोट हुन्छ भन्ने कसैको अड्कल थिएन । तर, कप्तान सिर्जनामा भने आफ्नो टिमलाई राष्ट्रिय लिगसम्म ल्याउँछु भन्ने दृढ विश्वास थियो ।

karnali-foto-1715608668.jpg
 

“कर्णालीलाई प्रतियोगिताअघि कसैले पनि राष्ट्रिय लिगमा छनोट हुने टिमको रूपमा लिएका थिएनन्,” सिर्जना भन्छिन्, “तर, मलाई कर्णालीबाट खेल्न बोलाउँदा भने जसरी हुन्छ टिमलाई राष्ट्रिय लिगसम्म ल्याउँछु भन्ने मानसिकता बनाएकी थिए । टिम व्यवस्थापन राम्रो हुन नसके पनि खेलाडीले इख लिएर खेले ।”

प्रतियोगितामा मधेसलाई पछि पारेको कर्णालीले ६ खेल खेल्दा १२ अंक जोड्यो । प्रतियोगितामा मधेसविरुद्ध १–० को जित निकाल्नु कर्णालीको सनसनीपूर्ण नतिजा थियो । 

कर्णालीको नजिता 
प्रतियोगिताका ६ खेलमध्ये चार खेलमा जित र दुई खेलमा हारको नतिजासहित १२ अंक जोड्दै कर्णालीले तेस्रो स्थान हासिल गरेको हो । पहिलो खेलमा कोसी प्रदेशविरुद्ध ३–० को हार व्यहोरे पनि दोस्रो खेलमा मधेसविरुद्ध १–० को जित निकाल्दै कर्णालीले प्रतियोगितामा सनसनी मच्चायो । तेस्रो खेलमा वाग्मतीविरुद्ध ३–२ को र चौथो खेलमा लुम्बिनीविरुद्ध ४–१ को जित निकालेको कर्णालीले पाँचौँ खेलमा भने सुदूरपश्चिम प्रदेशविरुद्ध १–० को हार बेहोर्न पुग्यो । अन्तिम खेलमा गण्डकीविरुद्ध २–० को जित निकालेसँगै कर्णालीले पहिलोपटक राष्ट्रिय लिगसम्मको यात्रा निश्चित गरेको थियो । 

karnali-3-1715608668.jpg
 

“यो कर्णाली प्रदेशको इतिहासमै महिला फुटबलको सबैभन्दा ठूलो उपलब्धि हो । कर्णालीका चेलीहरूले नाम राखे । यो सबै उपलब्धिको श्रेय उनीहरूलाई नै जान्छ  । हाम्रो कर्णालीका चेलीहरू पनि कमजोर छैनन् भन्ने सन्देश दिएका छन्,” छनोटको अन्तिम खेलमा गण्डकीविरुद्धको जितपछि कर्णालीका प्रशिक्षक दिलीप थापाले भने ।

राष्ट्रिय लिगमा छनोट हुँदा थापा जति खुसी छन्, त्यति नै गम्भीर पनि छन् । लिगमा तीन बलिया विभागीय टिमविरुद्ध खेल्न कर्णालीको यो टोलीले नभ्याउने बुझेका थापा अहिलेदेखि नै प्रदेश र जिल्ला फुटबल संघले खेलाडीहरूलाई बन्द प्रशिक्षणमा राख्नुपर्नेमा जोड दिन्छन् । 

karnali-2-1715608667.jpg
यो लयलाई कायम राख्न अब प्रदेश र जिल्ला फुटबल संघहरूले ग्रासरुट प्रशिक्षणमा तत्कालैदेखि जोड दिनुपर्छ,” प्रशिक्षक थापा थप्छन्, “राष्ट्रिय लिगमा यो टिमले पुग्दैन । टिम फर्मेसन मिलाउन एक महिलाअघि नै बन्द प्रशिक्षणमा राख्नुपर्छ । अब टिमलाई अझ बलियो बनाएर लैजानु पर्छ ।”

पहिलेको जस्तो नहोस् 
कर्णालीकी कप्तान सिर्जनाले यसअघि २०७८ चैतमा भएको राष्ट्रिय महिला लिगमा ललितपुरको कप्तानी सम्हालेकी थिइन् । तर, उक्त लिग पूरा हुन भने पाएन । 

लिगको पहिलो चरण चितवनको शारदानगरमा चैत १० देखि ३० गतेसम्म भएको थियो । पहिलो चरणको १५ दिनपछि विराटनगरमा दोस्रो चरण गर्ने भनिए पनि अखिल नेपाल फुटबल संघ (एन्फा)ले एक वर्षसम्म त्यसलाई पूर्णता दिन सकेन । अन्ततः २०७९ को फागुनमा एन्फाले उक्त लिग समाप्त भएको घोषणा गर्‍यो । पहिलो चरणको अंक तालिकाबाट नै विजेता, दोस्रो र तेस्रो टोली चुनेको एन्फाले त्यसको एक वर्षपछि महिला लिगका निम्ति छनोटको आयोजना गरेको हो । 

सिर्जनाले दुई वर्षअघि लिग खेल्दाको पारिश्रमिक र एन्फाबाट घोषित पुरस्कार अझैसम्म पाएकी छैनन् । उनी २०७८ को राष्ट्रिय लिग छनोटमा उत्कृष्ट रक्षक चुनिएकी थिइन् । पुरस्कारका निम्ति एन्फा धाउँदा–धाउँदै वाक्क बनिसकेकी सिर्जनाले अब आउँछ भन्ने आश पनि छोडिसकिन् । उनको चाहना अब आउने लिग पनि पहिलेजस्तै नहोस् भन्नेमात्रै छ ।

karnali-4-1715608667.jpg
“क्लबले पारिश्रमिक र एन्फाले घोषणा गरेको पुरस्कार नै अहिलेसम्म दिएको छैन । निवेदन, इमेल, छलफल सबै गरेर थाकिसके,” सिर्जना भन्छिन्, “अब आउँछ भन्ने आश नै छैन । तर, अब हुन लागेको महिला लिगमा पनि त्यस्तो नहोस् भन्ने कामना गरेको छुँ ।”

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, जेठ १, २०८१  ०६:२६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro