
काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटमा युवा तथा खेलकुद मन्त्रालय मातहत रहेर निर्माण हुने क्रिकेट पूर्वाधारका निम्ति मात्रै एक अर्ब २९ करोड रुपैयाँ छुट्याएको छ ।
गएको जेठ १५ गते आर्थिक वर्ष २०८२/८३ को बजेट प्रस्तुत गर्दा उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले युवा तथा खेलकुद मन्त्रालयतर्फ कुल ६ अर्ब सात करोड ६४ लाख रुपैयाँ बजेट छुट्याएको घोषणा गरेका थिए ।
खेलकुद मन्त्रालयलाई छुट्याइएको रकम आगामी आर्थिक वर्षको कुल बजेटको ०.३१ प्रतिशत हो । सरकारले आगामी आर्थिक वर्षको लागि १९ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।
यसअघि आर्थिक वर्ष २०८१/८२ मा युवा तथा खेलकुदतर्फ बजेटको आकार तीन अर्ब ५० करोड रुपैयाँको थियो । चालु आर्थिक वर्षको तुलनामा आगामी आर्थिक वर्ष खेलकुद क्षेत्रको बजेटमा ७३.७१ प्रतिशत वृद्धि भएको छ ।
उपत्यकाबाहिरका क्रिकेट पूर्वाधारलाई ६६ करोड
युवा तथा खेलकुद मन्त्रालयअन्तर्गत राष्ट्रिय गौरवको आयोजनामा समावेश मोफसलको गिरिजाप्रसाद कोइराला क्रिकेट रंगशाला विराटनगरको पूर्वाधार निर्माणमा १६ करोड रुपैयाँ छुट्याइएको छ । यस्तै, प्रस्तावित कार्यक्रममा सुदूरपश्चिमको कैलालीस्थित फाप्लामा निर्माण हुने फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला तथा खेलग्राम पूर्वाधार निर्माण विकास समितिलाई १७ करोड रुपैयाँ बजेट राखिएको छ ।
काठमाडौं उपत्यकाबाहिर निर्माण हुने माथिका यी दुई योजनाबाहेक सरकारले खेलकुद मन्त्रालयको प्रस्तावित बजेटमा मोफसलका विभिन्न स्थानमा निर्माण हुने अन्य १३ वटा पूर्वाधारलाई ३३ करोड रुपैयाँ राखेको छ । जसमा डडेलधुरा र बर्दियाका समान तीन पूर्वाधार छन् । यसैगरी महोत्तरी, पर्सा, कास्की, बाँके र सुर्खेत र गुल्मीका समान एक क्रिकेट पूर्वाधारले बजेट पाएका छन् । सरकारले बर्दियाका तीन पूर्वाधारलाई तीन करोड छुट्याउँदा बाँकी १० पूर्वाधारलाई समान तीन करोड रुपैयाँ छुट्याएको छ ।
यस्ता छन् मोफसलका पूर्वाधार
बजेटमा अटाएका डडेलधुराका तीन पूर्वाधारमा परशुराम क्रिकेट रंगशाला, परशुराम नगरपालिका–१२, सुनधारा क्रिकेट खेलमैदान ननमणि योजना अमरगढी नगरपालिका–५ र पोखरी क्रिकेट खेल मैदान प्यारापिट निर्माण परशुराम नगरपालिका–४ मा छन् ।
यसैगरी, बर्दियाका तीन पूर्वाधारमा मयुरवस्ती खेलमैदान निर्माण, बढैयाताल गाँउपालिका–८, गुलरिया, इन्डोर क्रिकेट ट्रेनिङ सेन्टर हल निर्माण, गुलरिया नगरपालिका–४ र अमरज्योति मावि खेल क्रिकेट मैदान निर्माण, बिरैयाताल गाँउपालिका–२ मा छन् ।
महोत्तरीको जलेश्वर नगरपालिका–२, जलेश्वरमा इन्डोर क्रिकेट एकेडेमी भवनलगायत खेलकुद सामग्री, मधेस प्रदेशको पर्साको जगरनाथपुर गाउँपालिका–५, मधुवाहा टोलस्थित क्रिकेट मैदान रंगशाला, पोखरा क्रिकेट रंगशाला थप स्तरोन्नति निर्माण पोखरा, सिद्धार्थ क्रिकेट रंगशाला निर्माण, भैरहवा रुपन्देहीलाई बजेटले समेटेको छ ।
यस्तै, कोहलपुर क्रिकेट रंगशाला तथा महिला क्रिकेट एकेडेमी निर्माण कोहलपुर–२ बाँके, मैनतडा क्रिकेट रंगशाला निर्माण भेरीगंगा नगरपालिका–८ सुर्खेत र हूँगा क्रिकेट खेलमैदान निर्माण छरकोट–१ गुल्मी छन् ।
काठमाडौंका तीन क्रिकेट पूर्वाधारलाई कुल ६३ करोड
सरकारले आगामी वर्ष उपत्यकाबाहिर निर्माण हुने १५ क्रिकेट पूर्वाधारलाई ६६ करोड रुपैयाँ छुट्याउँदा काठमाडौं उपत्यकाभित्र निर्माण हुने तीन क्रिकेट पूर्वाधारलाई मात्रै ६३ करोड रुपैयाँ छुट्याएको छ । जसमा मूलपानी क्रिकेट रंगशाला, कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशाला र बूढानीलकण्ठको सुवर्णशमशेर क्रिकेट रंगशाला समावेश छन् ।
मूलपानी क्रिकेट रंगशाला तथा एकेडेमी निर्माण काठमाडौंलाई २० करोड रुपैयाँ छुट्याएको छ । यो आयोजनालाई सरकारले गिरिजाप्रसाद कोइराला क्रिकेट रंगशालासँगै राष्ट्रिय गौरवको आयोजनामा राखेको छ । यस्तै, सुवर्णशमशेर क्रिकेट रंगशाला निर्माण, बूढानीलकण्ठ काठमाडौंलाई तीन करोड छुट्याइएको छ ।
यस्तै, मन्त्रालयको वार्षिक कार्यक्रम तथा बजेटमा संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयअन्तर्गत त्रिभुवन विश्वविद्यालय क्रिकेट रंगशाला कीर्तिपुरको लागि आर्थिक वर्ष २०८२/८३ मा कुल ४० करोड रुपैयाँ छुट्याइएको छ । यसरी काठमाडौं उपत्यकाभित्रका तीन योजना र मोफसलका १५ योजना गरी क्रिकेट पूर्वाधारका १८ योजनालाई सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ मा कुल एक अर्ब २९ करोड रुपैयाँ बजेट छुट्याएको छ ।