site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
सीपी लोहनीको पदचाप पछ्याइरहेको नेपाली सिने उद्योग
तस्बिर : एसपी कोइरालाको फेसबुकबाट साभार ।

काठमाडौं । छेउको चिताबाट धुवाँको मुस्लो मडारिँदै वायुमण्डलमा विलीन भइरहेको थियो । खरानीमा परिणत भइरहेको श्रीमान‍्को शरीर एकटकले नियालिरहँदा उनको मस्तिष्कमा के खेलिरहेको थियो, त्यो अरूले अनुमान लगाउने कुरा भयो । छेउमा रहेकाले देख्ने त आँसु न हो । गहभरि आँसुमा थिइन्, माला सिन्हा । अर्थात्, सीपी लोहनीकी श्रीमती । सिनेमाको रिल लाइफमा उनले यस्ता दृश्य कति देखिन् होला, कतिमा अभिनय गरिन् होला । तर, यो रिलमा होइन । रियलमा उनका आँखाबाट आँसु बगिरहेका थिए । सिन्दूर पखालिँदै थियो ।

नजिकै रहेका सुरेन्द्र खड्कासँग मालाले भनिन्– तिमी थियौ साथै थियौ फरक थियो जिन्दगी, तिमी गयौ खुसी गयो फरक भयो जिन्दगी... गीत त यही पलका लागि लेखिएको रहेछ है !

प्रसंग हो, सोमबार दिउँसो निधन भएका नायक सीपी लोहनीको । ८६ वर्षको उमेरमा निधन भएका उनी निजी क्षेत्रबाट निर्मित पहिलो नेपाली सिनेमा ‘माइतीघर’का नायक थिए । उनीसँग सोही सिनेमामा स्क्रिन सेयर गरेकी थिइन्, बलिउडबाट आएकी मालाले । जिन्दगीको आधाभन्दा धेरै समय सँगै बिताएका श्रीमान‍्ले सधैँका निम्ति मालालाई एक्लो बनाएर समाधिमा लिन भए । वियोगमा छटपटाइरहेकी श्रीमतीले श्रीमान‍्ले अन्तिमपटक गाएको गीत सम्झिइन् ।

Dabur Nepal
NIC Asia

अनि, चूडामणि देवकोटाले सम्झिए आफ्नो गीत गाउने सीपीलाई । “दाइ गायक हुँदै नायक हुनुभयो । नायक भएपछि किन हो थाहा भएन, चलचित्रमा काम गर्नु भएन । त्यसपछि हामीले पुनः उहाँलाई गायकमै फर्कायौँ,” गीतकार चूडामणि नोस्टाल्जिक हुन्छन्, “गीत गाउन छोडेको ४२ वर्षपछि हामीले उहाँलाई गीतमा फर्कायौँ । गाउन लगायौँ ।”

४२ वर्षपछि सीपीले गाएको त्यही गीत मालाले पतिको वियोगमा आर्यघाटमा सम्झिइन् । तिमी थियौ साथै थियौ... पछि उनले अरू गीत गाएनन् । एल्बमको नाम नै चूडामणिलगायत व्यक्तिले ‘पुनरागमन’ राखेका थिए । कारण, उनलाई पुनः गायनमा फर्काउने उद्देश्य थियो ।

सीपी भोकलमा यति सूक्ष्म तरिकाले काम गर्थे, चित्त नबुझेसम्म स्टुडियो नै जाँदैन थिए । “यो गीत नै दाइले चार वर्ष प्राक्टिस गरेपछि गाउनुभएको हो । हरेक गीत राति अबेरसम्म हार्मोनियम रेट्नुहुन्थ्यो,” चूडामणि सम्झिन्छन्, “आफूलाई जबसम्म पर्फेक्ट लाग्दैन थियो, तबसम्म रेकर्डिङ नै गर्नु हुन्न थियो ।”

सीपी, गीतकारहरू चूडामणि, सुरेन्द्र खड्का, डा. विमल कोइराला, डा. उषा श्रेष्ठ, एसपी कोइरालालगायत व्यक्तिको समूह थियो । “हामी साँझबाट बसेपछि बिहान २/३ बजेसम्म गाउँदै बस्थ्यौँ । दाइ अनेक खालका गीत गाउनुहुन्थ्यो । माला भाउजू पनि सँगै बस्नुहुन्थ्यो,” उनी भन्छन्, “हिन्दी र नेपाली गजल गज्जबले गाउनुहुन्थ्यो । मेरो गीतलाई यो कुन हिन्दी गीतभन्दा कम छ भनेर मजासँग हार्मोनियममा फिट्नुहुन्थ्यो । आलाप लिनुहुन्थ्यो ।”

सीपीले गाएको देखेपछि मालाले पनि रहर गरिन् । “म पनि गायनबाटै कला क्षेत्रमा आएको हुँ, मेरा लागि पनि गीत तयार गर्नुस्, म पनि गाउँछु भन्नुभयो,” चूडामणि सम्झिन्छन्, “तर, भाउजूको आमा बिरामी भएकाले कहिले एन्डिया जाने, कहिले आफ्नै समस्याका कारण गाउनचाहिँ पाउनु भएन । बुवाआमाको गीतसंगीतप्रतिको मोह देखेर छोरी प्रतिभाले पनि जिस्काएर हामीलाई म पनि गाउने हो, मेरा लागि गीत तयार गर्नुस् भन्नुहुन्थ्यो ।”

सीपीले एउटा तारा..., काला कुर्तैले... लगायत दर्जनौँ गीतमा स्वर भरे । रेडियोे नेपालमा थुप्रै गीत गाए ।

कविकेशरी बस्नेत (राष्ट्रिय खेलाडी), भेषबहादुर थापा (परराष्ट्रविद् तथा पूर्वमन्त्री) पनि सीपीकहाँ पुग्थे । सीपीसँगै गीतसंगीत र देश–दुनियाँका विषयमा गफिन्थे । 

४२ वर्षपश्चात् गायकीमा फर्किएपछि उनमा पुनः गीतसंगीतप्रति दिलचस्पी बढेको थियो । तिमी थियौ साथै थियौ... पश्चात् उनले अर्काे गीत पनि रेकर्ड गर्ने प्रयास गरेका थिए । तर, उमेर र गलाले साथ दिएन । उनी स्टुडियो पुगेर फर्किए ।

उनले सिनेमामा किन धेरै काम गरेनन्, केही कुरा हुन्थ्यो ? “उहाँ गीतसंगीतकै कुरा गर्नुहुन्थ्यो । सिनेमाका बारेमा खासै कुरा नगर्ने । जतिसुकै लामो बसाइ भए पनि दाइ (सीपी लोहनी) व्यक्तिगत कुरा गर्नु हुन्न थियो,” चूडामणि भन्छन् ।

सीपीको घर डिल्लीबजारमा थियो । त्यहाँका स्थानीय र कला क्षेत्रसँग सम्बन्धित व्यक्ति डिल्लीबजारका तीन तारामध्ये एक सीपीलाई मान्थे । “डिल्लीबजारमा सीपी दाइ, पुष्प नेपाली र रुवी जोशी बस्नुहुन्थ्यो । उहाँहरूलाई डिल्लीबजारका तीन तारा भनिन्थ्यो,” चूडामणि भन्छन्, “तीनैजना कला क्षेत्रका उत्कृष्ट व्यक्ति । तीनजनामध्ये एकजना बाँकी हुनुहुन्थ्यो, उहाँ पनि अस्ताउनुभयो ।”

सँगैका साथीलाई सीपीले विस्तारै हात हल्लाएर सधैँका लागि बिदा लिए । तर, उनलाई साथीहरूले भुल्न सकेका छैनन् । सीपीको रमाइलो गर्ने बानी र हँसमुख स्वभाव गीतकार सुरेन्द्र खड्काको स्मृतिमा अझै ताजै छ । गीतसंगीतप्रतिको सीपीको मोह उनी सम्झिइरहन्छन् ।

“उहाँ गीतसंगीत भनेपछि हुरुक्कै हुने । घण्टौँ हार्मोनियममा बिताएको पत्तै पाउनु हुन्नथ्यो,” सुरेन्द्र भन्छन्, “यो लगावले नै हो उहाँलाई हामीले संगीतमा पुनरागमन गराएको ।”

सीपी र सुरेन्द्र एउटै टोलका हुन् । घरमा आउजाउ भइरहन्थ्यो । त्यसैले सीपीका धेरै कुरा उनलाई थाहा छ । सीपीको नायकको यात्रा पनि बडो गजबको छ । सीपी ‘माइतीघर’को गीत रेकर्ड गराउन मुम्बई गएका थिए । त्यो बेला गीत रेकर्ड गराउन मुम्बई जानुपर्थ्यो ।

सीपी पनि त्यहीक्रममा मुम्बई पुगेका थिए । गीत रेकर्ड गराए । त्यो बेला सिनेमाका अधिकांश प्राविधिक काम मुम्बईबाटै गरिन्थ्यो । सिनेमाको योजना नेपालमा भन्दा मुम्बईमै धेरै हुन्थ्यो । निर्माण टिम पनि मुम्बईमै थियो । ‘माइतीघर’मा हिरोको रोल गर्ने भनिएका व्यक्तिसँग निर्माणपक्षको खटपट भयो । हिरोका लागि तयारीमा रहेका भानुकुमार शाहसँग कुरा नमिलेपछि सीपीलाई अफर गरियो । “सिनेमा जसले निर्माण गरिरहेको थियो, ऊसँग सीपी दाइको पारिवारिक सम्बन्ध भएकाले उहाँले नाइँ भन्न सक्नु भएन,” सुरेन्द्र भन्छन्, “त्यसैले उहाँले ‘माइतीघर’मा अभिनय गर्नुभयो । त्यसपछि भने उहाँले अरू चलचित्रमा काम गर्नु भएन ।”

सुरेन्द्रका अनुसार, त्यति बेला सीपी भन्सार विभागमा काम गर्थे । पछि उनी अर्थ मन्त्रालयको उपसचिव भए । लामो समय सरकारी सेवामा रहेका सीपी रघुपति जुटमिलका महाप्रबन्धक पनि भएका थिए । त्यसो त उनी टेबलटेनिसका खेलाडी समेत हुन् ।

‘माइतीघर’ हिट भयो । गीतदेखि चलचित्रसम्म दर्शकले रुचाए । तर, उनले अरू सिनेमा खेलेनन्, किन ? “उहाँको सिनेमा हिट भयो । धेरैले रुचाए । उहाँको कामको पनि प्रशंसा भएको थियो,” अग्रज नायक विश्व बस्नेत भन्छन्, “तर, उहाँले किन अरू सिनेमामा काम गर्नु भएन, मलाई पनि थाहा छैन । मलाई लाग्छ, उहाँले चाहनुभएको भए खेल्न सक्नुहुन्थ्यो ।”

उनी सरकारी सेवामा रहेका कारण सिनेमा नखेलेको धेरैले भन्ने गरेका छन् । तर, सरकारी सेवा नै सिनेमा खेल्नका निम्ति बाधक नरहेको हुन सक्ने बस्नेत बताउँछन् ।

मुम्बईमा गीत रेकर्ड गराउन जाँदा पटक–पटक भेट भए पनि धेरै गफ गर्ने अवसर नपाएको बताउँदै उनी भन्छन्, “भेट्ने भन्दा भन्दै हाम्रो भेट हुनै पाएन ।”

सुरुका वर्षमा यादव खरेल र सीपीको टोल एउटै थियो, डिल्लीबजार । यादवलाई उनको अभिरुचिबारे केही जानकारी छ । त्यसो त ‘माइतीघर’मा यादव र सीपीले सँगै अभिनय पनि गरेका छन् । “मैले बुझेसम्म सीपी नाटक, चलचित्रको अभिनयमा रुचि भएको मान्छे होइन,” यादव भन्छन्, “उहाँ गीतसंगीत र सरकारी सेवामा रमाउनुहुन्थ्यो । त्यसैले उहाँले अरू सिनेमामा काम गर्नु भएन ।” यादव र सीपीले मुम्बईको इनडोर स्टुडियोमा ‘माइतीघर’को छायांकन गरेका थिए ।

एउटै मात्र सिनेमा खेलेर नायकको दरिलो छवि बनाउन सफल व्यक्ति हुन्, सीपी । जसले पहिलोपटक हिँडेको बाटोमा आज समग्र नेपाली चलचित्र क्षेत्र हिँडिरहेको छ । निजी क्षेत्रका सिनेमामा हाल दैनिक सयौँ चलचित्रकर्मीले काम गरिरहेका छन् । उनकै पदचापमा नेपाली रजतपटका कलाकारले आफूलाई स्थापित गर्दै यसैलाई करिअर बनाइरहेका छन् ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, वैशाख १८, २०८१  १८:०१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro