site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
पाँच महिनापछि उडानमा आयो निगमको ‘न्यारोबडी’
फाइल तस्बिर ।

काठमाडौं । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमको ‘न्यारोबडी’ ग्राउन्डेड भएको पाँच महिनापछि नियमित उडानमा आएको छ । निगमको कलसाइन नम्बर ‘नाइन एन–एकेएक्स’ लुम्बिनी जहाज आज (सोमबार) इजरायलबाट नेपाल ल्याइँदै छ । 

यो जहाज पछिल्लो पटक नोभेम्बर ३० मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ग्राउन्डेड भएको थियो । उक्त जहाज मर्मतका लागि निगमले इजरायलको इजरायल एयरस्पेस इन्डष्ट्रिज (आईएआई)सँग सम्झौता गरेको छ । जनवरी १२ मा जहाज इजरायलस्थित आईएआई पठाइएको थियो । जहाज इजरायल पठाएको १०० दिनपछि उडानमा फर्किएको हो । “जहाज आज राति इजरायलबाट नेपाल आउँदै छ । इजरायलबाट दुबई हुँदै त्यहाँबाट नियमित उडानमा यात्रु बोकेर नेपाल आउनेछ,” निगमका प्राविधिक प्रवक्ता देवेन्द्र पुनले भने । 

उक्त कम्पनीले ९० दिनमा इन्जिन मर्मत गरिदिने सम्झौता गरेको थियो तर, केही ढिलाइ गरेको हो ।

निगमको न्यारोबडी ‘नाइन एन–एकेएक्स ३२० लुम्बिनी’ जहाज सुरुमा २०८० असार ३१ गते अर्थात् जुलाई १६, २०२३ मा ग्राउन्डेड भएको थियो । जुलाई १६ मा ग्राउन्डेड जहाज सेप्टेम्बर २८ बाट भाडाको इन्जिन प्रयोग गर्दै नियमित उडानमा आएको थियो । त्यतिबेला उक्त जहाज ६१ दिन ‘ग्राउन्डेड’ भएको थियो । बिग्रेको इन्जिन मर्मतको लागि इजरायलमै छोडेर भाडाको इन्जिन लिएर जहाज उडानमा ल्याइएको थियो । इजरायलमा जुलाई १६ मा छोडेको इन्जिन मर्मत भएको हो । 

उक्त जहाज पुनः नोभेम्बर ३० मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ग्राउन्डेड भयो ।  नोभेम्बर ३० मा बिग्रेको इन्जिन भने अझै मर्मत भएको छैन । त्यसको ठाउँमा भाडाको इन्जिन प्रयोग गरिएको छ भने इन्जिन कहिलेसम्म मर्मत हुन्छ भन्ने कुरा यकिन नभएको निगमका एक कर्मचारीले बताउँछन् ।  

निगमले एउटा न्यारोबडीबाट दैनिक एक करोड १५ लाख रुपैयाँ आम्दानी गर्छ । यो रकम निगमले आफैँले सार्वजनिक गरेको तथ्यांक हो । जहाजको इन्जिन समयमा मर्मत नहुँदा निगमले करोडौँ रुपैयाँ गुमाइसकेको छ ।

‘ग्राउन्डेड’ जहाजमा प्रयोग भएको भाडाको इन्जिनका लागि प्रतिदिन दुई हजार अमेरिकी डलर खर्च गर्दै आइरहेको छ । नियमित उडान हुन नसक्दा निगमले एकातर्फ दैनिक करोडमाथिको आम्दानी गुमाइरहेको छ । भने अर्कोतर्फ बजार हिस्सा समेत गुमाउँदै आएको छ । निगमको बजार हिस्सा २५ प्रतिशतबाट घटेर १४ प्रतिशतमा झरिसकेको छ । 

प्रकाशित मिति: सोमबार, वैशाख १०, २०८१  १४:२४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro