site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
आगलागीको समयमा अपनाउनुपर्ने सतर्कता
फाइल तस्बिर ।

काठमाडौं । पछिल्लो समय देशका विभिन्न स्थानमा आगलागी र डढेलोका घटना दिनहुँ सार्वजनिक भइरहेको छ । त्यस्ता घटनामा जनधनको ठूलो क्षति हुने गरेको छ ।

आगलागी र डढेलोमा परी हरेक वर्ष नेपालमा सरदर ८० जनाको मृत्यु हुने गरेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका अनुसार, नेपालमा बर्सेनि सरदर दुई हजार ५०० भन्दा बढी डढेलोका घटना हुन्छन् । त्यसबाट झन्डै दुई लाख हेक्टर वनक्षेत्रमा हानि हुन्छ । डढेलोले वन्यजन्तु र पर्यावरणमा पनि क्षति पुर्‍याउँछ ।

सावधानी अपनाए आगलागी/डढेलोबाट हुने जनधनको क्षति कम गर्न सकिन्छ । आगलागी हुनै नदिन विभिन्न उपाय अपनाउन सकिन्छ ।

आगलागीको मुख्य कारण आगोको प्रयोगमा सावधानी नअपनाउनु हो । खाना पकाउँदा, फोहोर जलाउँदा सावधानी नअपनाउँदा र काम सकिइसकेपछि पूर्ण रूपमा आगो ननिभाउँदा आगलागी हुनसक्छ ।

यस्तै, कमजोर विद्युतीय संरचना तथा सामग्री (विद्युतीय तार, प्लग, वायरिङ)को प्रयोग गर्नाले आगलागी हुनसक्छ ।

ग्यास, मट्टीतेल, पेट्रोल, डिजेलजस्ता अति प्रज्वलनशील पदार्थको सावधानीपूर्वक प्रयोग र सुरक्षित भन्डारण गर्नुपर्ने प्राधिकरणले जनाएको छ ।

चुरोटको ठुटो ननिभाई फाल्दा पनि आगलागी हुनसक्छ ।

पूर्वतयारीका उपाय
प्राधिकरणका अनुसार, आगलागी हुन नदिन पूर्वतयारीका विभिन्न उपाय अपनाउन सकिन्छ । सलाई, लाइटर, मट्टीतेल, पेट्रोलजस्ता अति प्रज्वलनशील वस्तुको प्रयोगमा सावधानी अपनाउनुपर्छ । त्यस्ता वस्तु बालबालिकाले भेट्ने ठाउँमा राख्न हुँदैन ।

यस्तै, विद्युतीय सामग्रीमा बढी ‘लोड’ दिन हुँदैन । खाना पकाउने ग्यासको पनि सुरक्षित प्रयोग गर्नुपर्छ ।

आगो ताप्न प्रयोग गरिने हिटर, मकल वा अरू वस्तुले कोठा तताउँदा कम्तीमा हावा खेल्ने गरी एउटा झ्याल खोल्नुपर्छ । हिटर रातभर बालेर छोड्न हुँदैन । बाथरुममा पानी तताउँदा ग्यास हिटरको प्रयोग गर्दा पनि हावा खेल्ने गरी कम्तीमा एउटा झ्याल खोल्नुपर्छ ।

आगलागीको समयमा अपनाउनुपर्ने सतर्कता
आगलागीको सुरुआती चरणमा सम्भव भएसम्म सुरक्षित रहेर आगो निभाउने प्रयास गर्नुपर्छ । सम्भव नभए जमिनमा घोप्टो परेर सुरक्षित ठाउँबाट बाहिर निस्किनुपर्छ ।

आगलागीमा परेकालाई अवस्थाअनुसार दौडेर, पल्टँदै वा अरू सुरक्षित तरिकाबाट बाहिर निस्कन लगाउने तथा सहयोग गर्नुपर्छ । दमकल र प्रहरीलाई खबर गर्नुपर्छ ।

प्राधिकरणका अनुसार, शरीरमा आगो लागेमा उक्त व्यक्तिलाई दौडन दिन हुँदैन । भुईंमा सुताएर टाउकोदेखि पैतालासम्म कम्बल वा बोराले ढाकिदिनुपर्छ । त्यसपछि तुरुन्तै नजिकको स्वास्थ्य संस्थामा लैजानुपर्छ । उक्त व्यक्तिलाई प्रशस्त झोल खानेकुरा दिनुपर्छ ।

आगलागी भएको ठाउँमा भित्र जानुपरेमा तालिमप्राप्त व्यक्ति मात्र जानुपर्छ । त्यसरी भित्र जाँदा भिजेको कपडा, बोरा, कम्बल आदि ओढेर कम्मरमा डोरी बाँधी निहुरिएर मात्र जान प्राधिकरणको सुझाव छ ।

आगलागीको समयमा सिटी फुकेर वा साइरन बजाएर मानिसको सहभागिता जुटाउनुपर्छ । अग्निनियन्त्रक यन्त्रको प्रयोग वा उपलब्ध जनशक्तिलाई लाइनबद्ध गरी पानी, हरियो स्याउला, बालुवा, माटोजस्ता वस्तुको प्रयोग गरी आगो निभाउनुपर्ने प्राधिकरणले जनाएको छ ।

आगलागीपछिको सतर्कता
आगलागी प्रभावितको अवस्था हेरी सुरक्षित आश्रयस्थलमा राख्नुपर्छ । स्वास्थ्य सेवा, राहतसँगै खानेपानी, सरसफाइको व्यवस्था मिलाउनुपर्छ । यस्ता काममा महिला, गर्भवती, बालबालिका, ज्येष्ठ नागरिक, अशक्त र अपांगता भएका व्यक्तिका विशेष आवश्यकता र सबै व्यक्तिका तत्कालीन आवश्कतालाई ध्यान दिनुपर्छ ।

यस्तै, क्षतिको विवरण संकलन, मूल्यांकन र पुनःस्थापनाको काम गर्नुपर्छ । यसो गर्दा गर्भवती, बालबालिका, ज्येष्ठ नागरिक, महिला, अशक्त, अपांगता भएका व्यक्तिलाई प्राथमिकता दिनुपर्छ ।

प्रभावित परिवार र समुदायमा फेरि यस्ता घटनाले असर नपरोस् भनी जनचेतना फैलाउनुपर्छ । जीविकोपार्जनका कार्यक्रम सञ्चालन गरी समुदायको उत्थानशीलता बढाउनुपर्ने प्राधिकरणले जनाएको छ ।

प्रकाशित मिति: सोमबार, वैशाख १०, २०८१  १०:१७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro