site stats
बाह्रखरी :: Baahrakhari
विदेश
इरानी ड्रोन र मिसाइल रोक्ने इजरायलको सुरक्षा कवच, जसले विश्वमा पाइरहेको छ चर्चा 

काठमाडौं । फेरि एकपटक इजरायलको ‘एन्टी मिसाइल डिफेन्स सिस्टम’ विश्वमा चर्चामा आएको छ । यो ‘आइरन डोम’ नामले विश्वमा चिनिन्छ । 

इरानले शनिबार राति इजरायलमा ड्रोन र क्रुज मिसाइल प्रहार गरेपछि आइरन डोमको चर्चा चुलिएको हो ।  इरानले प्रहार गरेको ३०० सयभन्दा बढी ड्रोन र क्रुज मिसाइललाई आइरान डोमले रोक्न सफल भएको थियो । 

आइरन डोमले ती प्रहारलाई आकाशमै निस्क्रिय बनाएको थियो त्यो पनि इजरायली क्षेत्रमा प्रवेश गर्नु अगावै । थोरै मात्र इजरायली क्षेत्रमा प्रवेश गरेका थिए । 

इजरायलले प्यालेस्टिन चरमपन्थी समूह हमास र लेबनानको हजबुल्लाहबाट आफूलाई सुरक्षित राख्न आइरन डोम प्रणालीको व्यापक प्रयोग गर्दै आएको थियो । अहिले इरानले गरेको आक्रमणमा पनि इजरायलले यसको प्रयोग गरिरहेको छ ।

इजरायली सेनाका अनुसार इरानले शनिबार राति गरेको ९९ प्रतिशत प्रहारलाई आइरन डोमले असफल बनाइदिएको छ । आइरन डोमले इजरायली भूमिलाई सुरक्षित बनाएको छ ।  हालै इजरायलले हमास र अन्य प्यालेस्टाइनी संगठनहरूले आफूमाथि १५ सयभन्दा बढी रकेट प्रहार गरेको बताएको थियो ।

Global Ime bank

तर इजरायलको सुरक्षा कवच ‘आइरन डोम’का कारण यी अधिकांश रकेटहरू जमिनमा पुग्नुअघि नै नष्ट भएका थिए । यस सुरक्षा कवचको नाम हो– आइरन डोम एन्टी मिसाइल डिफेन्स सिस्टम । इजरायली अधिकारीहरूका अनुसार यो प्रविधि ९० प्रतिशत केसहरूमा प्रभावकारी साबित भएको छ । यसले आवासीय क्षेत्रमा रकेटहरू जमिनमा खस्नुअघि नै नष्ट गरिदिन्छ । 

‘आइरन डोम’ले कसरी काम गर्छ ?

आइरन डोम विशाल मिसाइल रक्षा प्रणालीको एउटा हिस्सा हो । लाखौं डलर खर्च गरेर इजरायलले आइरन डोम प्रणाली निर्माण गरेको हो ।  यो प्रणालीले क्षेप्यास्त्र आवासीय क्षेत्रमा खस्छ वा खस्छैन भन्ने आफै पत्ता लगाउँछ । त्यति मात्र होइन यसले कुन मिसाइलले आफ्नो लक्ष्य छोडेको छ त्यो पनि पत्ता लगाउँछ । 

आइरन डोम प्रणालीले त्यस्तो मिसाइल तथा रकेटलाई मात्र नष्ट गर्छ वा खसाल्छ जुन आवासीय क्षेत्रमा खस्न लागेका हुन्छन् । यही क्षमता, गुण र प्रविधिका कारण आइरन डोम निकै भरपर्दो बनेको छ ।

इजरायलमा कम्तिमा १० आइरन डोम ब्याट्रीहरू छन् ।  प्रत्येक ब्याट्री रडारले सुसज्जित छन् । आइरन डोमले इजरायली भूमीतर्फ आउँदै गरेका मिसाइल र रकेटहरू स्वचालित रुपमा पत्ता लगाउँछन् । 

त्यसपछि कमाण्ड–एन्ड–कन्ट्रोल प्रणाली प्रयोग गर्दछ जसले रकेट तथा मिसाइल कुन दिशाबाट आउँदैछ, आवासीय भूमिमा झर्छ वा झर्दैन भन्ने पत्ता लगाउँछ ।  रकेट तथा मिसाइल आवासीय भूमिमा लक्षित छ भने त्यसलाई हावामै नस्ट गर्न आइरन डोमले जमीनबाट मिसाइलहरु प्रहार गर्छ ।

टाइम्स अफ इजरायल अखबारका अनुसार प्रत्येक ‘इन्टरसेप्टर’ मुल्य करिब १.५ लाख डलर पर्छ । अर्थात् एउटा मिसाइल तथा रकेट रोक्नको लागि दुई करोड रुपैयाँभन्दा बढी खर्च हुन्छ । इजरायलले सन् २००६ मा लेबनानको इस्लामिक समूह हजबुल्लाहसँगको युद्धपछि यो प्रविधिमा काम गर्न थालेको थियो ।

त्यतिबेला हजबुल्लाहले इजरायलको भूमिमा हजारौं रकेट प्रहार गरेको थियो, जसकाकारण दर्जनौं इजरायली मारिएका थिए । यो घटनाको एक वर्षपछि इजरायलको सरकारी कम्पनी राफेल डिफेन्सले देशको सुरक्षाको लागि एउटा भरपर्दो सुरक्षा प्रणाली विकास तथा निर्माण गर्ने घोषणा गरेको थियो । 

यस परियोजनाका लागि इजरायलले अमेरिकाबाट २० करोड डलर सहयोग प्राप्त गरेको थियो । यो रकम अहिलेको विनिमयदर अनुसार साढे २६ अर्ब रुपैयाँभन्दा बढी हो ।  धेरै वर्षको अनुसन्धानपछि सन् २०११ मा यो प्रणालीको परीक्षण गरिएको थियो । 

परीक्षणका क्रममा यो प्रणालीले दक्षिणी सहर बेरशेबाबाट प्रहार गरिएका मिसाइलहरुलाई खसाल्न–नष्ट गर्न सफल भएको थियो । 

आइरन डोमलाई पूर्ण विश्वास गर्न सकिन्छ ?

आइरन डोमले इजरायलीहरूको रक्षा गरेकोमा कुनै शङ्का छैन ।  यसमा सबैभन्दा ठूलो विश्वास इजरायलको नै छ । यदि आइरन डोमको विकास हुँदैनथ्यो भने धेरै मिसाइल र रकेट इजरायली भूमिमा झरेका हुन्थे । धेरै इजरायलीको ज्यान गएको हुन्थ्यो । 

तर, यो प्रणाली पूर्णतया ‘मिसाइल प्रुफ’ भने होइन ।  बीबीसीका पूर्व रक्षा एवं कूटनीतिक संवाददाता र विदेशी मामिलाका विज्ञ जोनाथन मार्कसका अनुसार एस्केलोन सहरको सुरक्षा गर्न राखिएको आइरन डोमको प्रणालीको ब्याट्री पछिल्लो इजरायल–गाजा युद्धमा खराब भएको थियो । यस्तो पहिलो पटक भएको थियो ।

यो प्रविधिले हाल प्यालेस्टिनको गाजाबाट आउने रकेटलाई ध्वस्त पार्छ । तर भविष्यमा यो अन्य दुश्मनका विरुद्ध पनि त्यति नै प्रभावकारी हुन सक्नेमा शंका गर्छन् विज्ञहरु ।  जेरुसेलम पोष्टका खुफिया सम्पादक योनाह जेरेमी बबका अनुसार हजबुल्लाह छोटो अवधिमा धेरै मिसाइलहरू प्रहार गर्न सक्षम छ । यस्तो परिस्थितिमा यो प्रविधिले त्यति राम्रो काम गर्न नसक्ने बब बताउँछन् । 

हालका वर्षहरूमा इजरायलीहरू यस प्रविधिप्रति आभारी छन् । किनकि यसले उनीहरूको जीवन बचाउँदै आएको छ । तेल अवीभ विश्वविद्यालयका राजनीतिक वैज्ञानिक डा. योभ फ्रोमर इजरायलले यो प्रविधिमा मात्र भर पर्नु नहुने धारणा राख्छन् । दीर्घकालीन उपाय खोज्नुपर्ने सुझाव उनको छ । 

“यो विडम्बनाको कुरा हो कि आइरन डोमको सफलताले केही विदेशी नीति असफल भए । जसले गर्दा हिंसा बढेको छ । धेरै वर्ष बितिसक्दा पनि हामी कहिल्यै अन्त्य नहुने हिंसाको चक्रमा फसेका छौं,” उनले भने ।

(बीबीसीबाट भावानुवाद) 
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, वैशाख ६, २०८१  ०९:०६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
अब त रोम विधान अनुमोदन गर !
अब त रोम विधान अनुमोदन गर !
SubisuSubisu