site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
सेयर लगानीकर्तालाई प्रश्न– अपेक्षा गरेअनुसारको मौद्रिक नीति आयो ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबार चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति सार्वजनिक गरेको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको मौद्रिक नीतिले आर्थिक गतिविधिलाई चलायमान बनाउनेमा व्यवसायी तथा सेयर लगानीकर्ताहरू सकारात्मक देखिएका छन् । सेयर लगानीकर्ताले राखेका मागहरू भने पूर्णरूपमा सम्बोधन नभएको उनीहरूको गुनासो छ ।

सेयर लगानीकर्ताहरूले सेयर धितो कर्जाको सीमा हटाउन माग गरेका थिए । तर, राष्ट्र बैंकले संस्थागत लागानीकर्ताका लागि लगाइएको २० करोडको सीमा हटाएको छ । व्यक्तिगत सेयर धितो कर्जाको १५ करोडको सीमा भने यथावत् राखिएको छ ।

सेयर लगानीकर्ता संघ नेपालका कार्यवाहक अध्यक्ष ताराप्रसाद फुलेलले पनि अहिलेको मौद्रिक नीतिले अर्थतन्त्रलाई चलायमान बनाउन सहयोग गर्ने बताए । बैंक तथा वित्तीय संस्थाहरूले मार्जिन प्रकृतिको सेयर धितोमा संस्थागततर्फको २० करोड रुपैयाँको सीमा हटाउनु सकारात्मक रहेको उनले बताए ।

“केन्द्रीय बैंकले चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति सार्वजनिक गर्दै संस्थागत लगानीकर्ताहरूका लागि बैंक तथा वित्तीय संस्थाहरूले मार्जिन प्रकृतिको सेयर धितोमा संस्थागततर्फ २० करोड रुपैयाँको सीमा हटाएको छ । नीतिगत दर घटाएको छ । हालको नीतिगत दर ५.५ प्रतिशतलाई ५ मा झारिएको छ,” उनले भने, “ब्याजदर करिडोरको माथिल्लो सीमाको बैंकदर ७ प्रतिशतबाट ६.५ प्रतिशतमा झारिएको छ । उपलब्ध हुने सर्तहरूलाई लचिलो बनाइने समेत घोषणा गरिएको छ ।”

त्यस्तै, उनले लघुवित्त कम्पनीहरूका राहतका कार्यक्रमले पुँजी बजारमा सकारात्मक प्रभाव पार्ने बताए । लगानीकर्ताका धेरै मागहरू सम्बोधन नभए पनि आगामी समीक्षामा खुकुलो पार्दै आउनेमा आशावादी रहेको फुलेलको भनाइ छ ।

त्यसैगरी, पुँजी बजार लगानीकता संघकी अध्यक्ष राधा पोखरेलले पनि लगानीकर्ताले राखेका सबै माग पूरा नभएको बताइन् । उनले पनि आगामी समीक्षामा लगानीकर्ताका माग सम्बोधन हुनेमा आशावादी भएको बताइन् ।

“हामीले सेयर धितो कर्जामा लगाइएको सीमा हटाउन माग गरेका थियौँ,” उनले भनिन्, “संस्थागततर्फको हट्यो, जुन सकारात्मक छ । अर्थतन्त्र चलायमान बताउन यो मौद्रिक नीतिले भूमिका खेल्छ ।”

त्यसैगरी, अर्का लगानीकर्ता दीपक गौतम पनि मौद्रिक नीति बजारमैत्री आएको बताउँछन् । यसले बजारलाई चलायमान बनाउन मद्दत गर्ने उनको भनाइ छ ।

“संस्थागत सेयर लगानीकर्तालाई सेयर लोनको क्याप हट्यो । सेयर लोनको जोखिमभार सर्कुलरमार्फत सम्बोधन गरिने, राष्ट्र बैंकले कर्जा विस्तार लक्ष्य बढायो,” गौतमले सामाजिक सञ्जालमा लेखेका छन्, “अर्थतन्त्र चलायमान बनाउन निर्माण व्यवसायीको समस्यालाई ६ बुँदामार्फत विशेष सम्बोधन गरिएको छ । लघुवित्तको ऋण तिर्न नसकेकालाई कर्जा पुनर्तालिकीकरणको व्यवस्था गरिएको छ ।”

बैंकहरूको खराब कर्जा व्यवस्थापन गर्न छुट्टै संस्थाको स्थापना गर्ने विषयले पनि बजारमा सकारात्मक सुधार हुने गौतमको भनाइ छ ।

सेयर धितोकर्जाको व्यक्तिगत र संस्थागत सीमा नै हटाएको भए बजारमा सकारात्मक सन्देश जाने जनरल इन्भेस्टर एसोसिएसनका अध्यक्ष दीपक कार्की बताउँछन् । तर, आगामी दिनमा हुने मौद्रिक नीतिको समीक्षाले यस्ता कुरा ध्यान दिनमा उनी आशावादी देखिएका छन् ।

“राष्ट्र बैंकले संस्थागत लगानीकर्ताले लिने सेयर धितोकर्जाको सीमा हटाएको छ । यो सकारात्मक छ,” उनले भने, “व्यक्तिगत १५ करोडको सीमा पनि हटाएको भए राम्रो हुन्थ्यो ।”

त्यसैगरी नेपाल सेयरधनी संघका अध्यक्ष घनश्याम पाण्डेले पनि लघुवित्त क्षेत्रमा केही सकारात्मक नीति आएको बताए । बैंक तथा वित्तीय संस्थालाई सहज हुने खालको नीति आएकाले आगामी दिनमा बजार सकारात्मक बन्ने अनुमान गर्न सकिने पाण्डेको भनाइ छ ।

प्रकाशित मिति: शुक्रबार, साउन ११, २०८१  १७:४९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro