site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
शीर्ष नेतासित सभामुखको छलफल : संसदीय छानबिन समितिको मागमा कांग्रेस अडिग 

काठमाडौं । सभामुख देवराज घिमिरेले राखेको प्रमुख चार दलका शीर्ष नेताहरूको बैठक सकिएको छ । संसद्लाई प्रभावकारी रूपमा सञ्चालन गर्ने विषयमा सोमबार सिंहदरबारस्थित सभामुखको सचिवालयमा बैठक बसेको हो । छलफलमा नेपाली कांग्रेसले आफ्नो अडान कायम राखेको छ ।

सहकारीको रकम ठगी प्रकरणमा नाम जोडिएका उपप्रधान एवं गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेका विषयमा संसदीय छानबिन समिति गठन गर्नुपर्ने अडान कायम राख्दै कांग्रेस नेताहरू बैठकबाट बाहिरिएका छन् ।

Argakhachi Cement Island Ad

“हाम्रो कुरा यथावत् राख्यौँ । देशमा विभिन्न सहकारीको रकम दुरुपयोग भएको छ । बहालवाला मन्त्रीहरूको नाम जोडिएको छ,” बैठकबाट बाहिरिने क्रममा कांग्रेस सचेतक रमेश लेखक भने, “आफ्नो संसदीय छानबिन समिति गठनको माग हामीले यथावत् राखेका छौँ ।”

उनले कांग्रेसको मागमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहमत नभएको पनि जानकारी दिए । “हाम्रो माग सम्बोधन गर्न सरकार तयार नभएकाले अब सदनमा के हुन्छ भन्ने कुरा सरकारकै कदममा भर पर्छ । भोलिको बैठकमा सरकार कसरी प्रस्तुत हुन्छ, हामी हेर्दै छौँ,” लेखकले भने ।

छलफलमा सभामुखसहित प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा (एमाले)का उपाध्यक्ष विष्णु पौडेल, गृहमन्त्री एवं रास्वपाका सभापति लामिछानेलगायत नेता सहभागी थिए ।

प्रकाशित मिति: सोमबार, चैत २६, २०८०  १५:१८
प्रतिक्रिया दिनुहोस्