
काठमाडौं । गभर्नर डा. विश्वनाथ पौडेलले एकै व्यक्तिलाई धेरै ऋण दिन नहुने बताएका छन् । सोमबार (जेठ १९) प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिको बैठकमा उनले ‘तल्लो वर्ग’ले ऋण सहज रूपमा पाउनुपर्ने उल्लेख गरे ।
“हाम्रो मेन दायित्व भनेको तल्लो वर्गले ऋण पाओस् भन्ने नै हो । मैले दिने एक उदाहरण छ, एकजनाले एक अर्ब पाउनुभन्दा एक हजारजनाले १० लाख रुपैयाँ पायो भने देश माथि जान्छ,” उनले भने, “तलको मान्छे माथि गयो भने माथिकोलाई स्वतः केही हुन्छ । तल्लो वर्गलाई माथि उठाउनुपर्यो । बर्दियामा हरिण–मृगको संख्या बढ्यो भने बाघको संख्या बढ्छ ।”
तल्लो वर्गका किसान र उपभोक्तालाई ऋण बढाउनुपर्नेमा उनले जोड दिए । माइक्रोफाइनान्स र सहकारीको उद्देश्य पनि यसैको एउटा नमुना भएको उनले बताए ।
सबैभन्दा पछाडि परेको वर्गलाई नै ‘फोकस’ गर्ने राष्ट्र बैंकको उद्देश्य रहेको उनले उल्लेख गरे । “सानातिना आवश्यकताकै कारण सधैँ पछाडि नपरून्, उनीहरूले राम्रो आइडिया लिएर आएको आधारमा आगाडि बढ्न सकून्,” गभर्नर पौडेलले भने ।
सानो ऋण खराब हुनुको कारण व्यवसाय गर्न नसिकाउनुको परिणाम भएको उनले बताए । अर्थतन्त्र चलायमान नहुनुमा कुनै नीतिले असर गरेको भए त्यसलाई आफूले हेर्ने उनले सुनाए ।