site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
३४ वर्षदेखि छापिइरहेको एउटा तस्बिर
SkywellSkywell

३० वर्षे पञ्चायती शासन व्यवस्थाविरुद्ध दलहरू मोर्चाबन्दी गरेर आन्दोलनमा थिए । आन्दोलन विस्तारै उठ्दै थियो । काठमाडौं, भक्तपुर र ललितपुरका अक्सर नेवारबस्ती आन्दोलित हुँदै थिए । त्यसको तस्बिर खिच्ने मीन बज्राचार्यलाई रहर थियो ।

एकातिर निरंकुश पञ्चायतविरोधी आन्दोलन आफ्नो क्यामेरामा कैद गर्ने धोको थियो । अर्कोतिर गणेशमान सिंहजस्तो आदर्श राजनीतिज्ञले नेतृत्व गरेको आन्दोलनलाई फोटो खिँचेरै भए पनि सहयोग गर्न सकिन्छ कि भन्ने लागिरहेको थियो ।

ठीक त्यही समय नेपाली कांग्रेसनिकट पत्रिका ‘विमर्श’ दुई धारमा विभाजित हुने अवस्था आयो ।  फोटोग्राफीमा प्यासनेट मीनलाई को कता र किन भन्नेभन्दा पनि कसरी बिनाअबरोध आफ्नो क्यामेरामा तस्बिर कैद गर्न सकिन्छ भन्ने कुराले दिमागमा हिर्काइरहन्थ्यो । 

KFC Island Ad
NIC Asia

स्वतन्त्र फोटोग्राफीकै चक्करमा नेपाल टेलिभिजनको आकर्षक जागिरबाट त्यसअघि नै उनले राजीनामा दिइसकेका थिए । एकदिन मीनले ‘विमर्श’बाट पनि हात झिके । ‘विमर्श’बाट हात झिक्नुको अर्थ फोटोग्राफीबाट हात धुनु थिएन । अझ बढी यसमा केन्द्रित हुनुथियो ।

मनमौजी निर्धक्क मनले खाएको तस्बिर सुटुक्क खिचेर त्यसको आनन्दमा डुब्नु थियो । त्यहीबेला ०४६ सालको जनआन्दोलन सुरु भएको थियो । जहाँबाट सूचना आउँथ्यो, त्यहीँ पुग्थे । तस्बिर खिच्थे ।  फागुन ७ गतेबाट नै काठमाडौंमा आन्दोलन उठिसकेको थियो । तर केही दिनमै त्यो सुस्ताइसकेको थियो । काठमाडौंको आन्दोलनलाई भक्तपुर र पाटनको आन्दोलनले उछिनीसकेका थिए । 

Royal Enfield Island Ad

०४६ चैत १८/१९ गतेबाट ललितपुरको पाटन र भक्तपुरमा पञ्चायविरोधी आन्दोलन थप चर्कियो । कांग्रेसका नेताहरू पनि भूमिगत भइसकेका थिए । पीएल सिंह आन्दोलनका प्रवक्ता थिए ।  उनी पनि भूमिगत भइसकेका थिए । पीएल सिंह मीनलाई आन्दोलनको सूचना दिइरहन्थे । कसो–कसो सरकारी संयन्त्रले थाहा पाउँथ्यो । सेना र प्रहरी आन्दोलनलाई निस्तेज पार्न तैनाथ भइहाल्थ्यो ।

काठमाडौंमा आन्दोलन हुँदै नभएको त होइन । तर भक्तपुर र पाटनको भन्दा पनि सानो आन्दोलन हुन थालेपछि त्यहाँका आन्दोलनकारीले गिज्याउन थालेका थिए । उक्साउने नियतले भक्तपुर र पाटनका आन्दोलनकारीले काठमाडौंका आन्दोलनकारीलाई चुरा र धागो पठाएका थिए । त्यो समाचार पत्रपत्रिकामै छापियो । 

त्यो बेला मीनसँग अहिलेको जस्तो मोटर थिएन । साइकलको भर थियो । त्यसैले भक्तपुरभन्दा उनको गन्तब्य पाटन थियो । काठमाडौं त उनको थातथलो नै भयो । त्यहाँका तस्बिर खिच्ने नै भए । उनी दिनभर कति दौडिन्थे ? उत्साह र जोश यति धेरै हुनेरहेछ, दिउँसो चालै पाउँदैन थिए । जब रात पर्थ्यो । उनी घर पुगेपछि यसरी लथरक्क थाक्थे, निदाएको थाहै पाउँदैनथिए । 

पाटनको मंगलबजारमा प्रहरीलाई उनीहरूकै कार्यालयमा बन्धक बनाएर स्थानीयले नारा–जुलुस गरेर प्रहरीको मनोबल गिराउने काम गरिरहेका थिए । प्रहरीको भ्यान जलाइदिए । 

पुलचोक, महालक्ष्मीथानलगायत ठाउँमा खाल्डो खनेर गाडीमा सेना, प्रहरीको थप फोर्स आउन नसक्ने गरी अवरोध गरे । 

36-1712542775.JPG
 

मीनलाई फोटो चाहिएको थियो, मुभमेन्ट क्याप्चर गर्थे । खिचिक्क–खिचिक्क पार्थे । अहिलेको जस्तो स्क्रिनमा हेर्न मिल्दैन थियो । फरक यति हो, राम्रो/नराम्रो कस्तो आयो कालो कोठामा धुलाएपछि मात्रै हेर्न मिल्थ्यो । तर मोटामोटी कस्तो आयो होला उनको दिमागमा त्यसको स्पष्ट लेखाजोखा हुन्थ्यो । 

कांग्रेस नेता कृष्णप्रसाद भट्टराई (किसुनजी) बखुण्डोल बस्थे । उनी घरमै नजरबन्द थिए । गणेशमान सिंह, मंगलादेवी, मनमोहन अधिकारीलाई वीर हस्पिटलमा राखिएको थियो । त्यहीँ नजरबन्दमा थिए, उनीहरू । 

कति सूचना पाएपछि मीन आन्दोलनकारी भएको ठाउँमा पुग्थे । कति यी ठाउँमा आन्दोलन होला भनेर अन्दाज गरेर गएका ठाउँमा पुगेर तस्बिर खिच्थे । उनलाई तस्बिरप्रति मोह थियो । मुभमेन्ट क्याप्चर गर्नु उनको विशेषता थियो । त्यसैले उनी खिचिहाल्थे । 

किन खिच्थे ? 

“मलाई यो खिच्नुपर्छ भन्ने लाग्यो भने म खिच्थेँ । किन खिच्थेँ, थाहा छैन । तर यति चाहिँ मैले अहिले पनि भन्नुपर्छ, दस्तावेज हुन्छ भनेर खिच्दिन थिएँ,” उनी भन्छन्, “प्यासन, रुचि र गणेशमान सिंहजस्तो व्यक्तिले नेतृत्व गरेको पिपुल्स मुभमेन्टलाई क्यामेरामा कैद गर्नुपर्छ भन्ने थियो ।” 

केशवराज पिडाली, पदम ठकुराठी, कमल जोशी, बलदेब थापा, श्री आचार्यसँग ‘विमर्श’मा काम गर्दा मीनले थोरबहुत राजनीतिक ज्ञान पाए । त्यसले पनि सायद आन्दोलन तस्बिरमा क्याप्चर गर्नुपर्छ भन्ने हुटहुटीले काम गर्यो । 

त्यसबाहेक पीएलले मीनलाई भनेका थिए, “हामीलाई एउटा सहयोग गर्न सक्छौ ? माघ ५, ६ र ७ (०४६) गते कांग्रेसको राष्ट्रिय सम्मेलन हुँदै छ । त्यसको फोटो खिचिदिनु पर्‍यो । त्यसका लागि किसुनजीले हस्ताक्षर गरेको चिठी तिमीलाई आउँछ ।”

त्यसपछि मीन झन् अलर्ट भएका थिए । 

तस्बिर खिचेकै कारण गणेशमान सिंहको घरमा प्रवेश पाए । पारिवारिक सम्बन्ध स्थापित भयो । चाक्सीबारी अर्थात् गणेशमान सिंहको निवास आन्दोलनको केन्द्र थियो ।  आन्दोलन चलिरहेको थियो । २४ गते बिहानैबाट विशाल जुलुस काठमाडौंको तीनै जिल्लामा निस्किए । पाटन र भक्तपुरबाट जुलुस सिंहदबार अगाडि आएको थियो । 

मीनले पाटनबाटै जुलुसको तस्बिर खिच्दै आइरहेका थिए । सिंहदरबार अगाडि खिचेको तस्बिर पूर्वअर्थमन्त्री डा. रामशरण महतले लेखेको पुस्तक ‘ईन डिफेन्स अफ डेमोक्रेसी’को कभरमा छापियो । त्यसयता सिंहदरबार अगाडि त्यत्रो भेला कहिले भइसकेको छैन । कारण प्रजातन्त्र स्थापनापछिको सरकारले उक्त क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गर्‍यो ।

चैत २४ गते साँझबाट कर्फ्यु सुरु भयो । खुलामञ्च र रत्नपार्कको आन्दोलन भड्किएर नारायणहिटी दरबारतर्फ सोजियो । त्रिचन्द्र कलेज अगाडि सुरक्षाकर्मी आन्दोलनकारीबीच झडप भयो । महेन्द्रको सालिकको राजदण्ड नै आन्दोलनकारीले निकाले । मीनले तस्बिर खिचिरहे । जतिजति आन्दोलन उत्कर्षमा पुग्दै थियो, त्यतित्यति उनका रिल भरिनेक्रम पनि बाक्लिदैथियो । 

चैत २६ गते राति दरबारले आन्दोलनरत पक्षलाई नारायणहिटी दरबार बोलायो । किसुनजी, गिरिजाप्रसाद कोइराला, राधाकृष्ण मैनाली र सहाना प्रधान वार्ताका लागि दरबार गए । त्यसको केही समय अगाडि पीएल सिंहले मीनलाई फोन गरेर भने– “आज केही विशेष हुँदै छ है, सतर्क भएर बस्नू ।”

362-1712542775.JPG
 

कर्फ्यु थियो, बाहिर निस्किन सहज थिएन । मीनले टेलिभिजन खोले । दुर्गानाथ शर्माले दरबारको लाइभ दिइरहेका रहेछन् । मीनले टेलिभिजनको स्क्रिनमै दरबारमा भएको वार्ताको घोषणाको तस्बिर खिचे । त्यो तस्बिर पनि पछि काम लाग्यो । 

त्यो बेला दरबारमा दरबारकै फोटोग्राफर थिए । तर किन त्यो साँझको तस्बिर उनीहरूले एक्सपोज गरेनन्, उनलाई थाहा छैन । मैले टेलिभिजनको स्क्रिनमा खिचेको तस्बिर काम लाग्यो । केही समयपछि प्रकाशित भएको पत्रिका ‘डन अफ डेमोक्रेसी’ मा त्यही तस्बिर छापियो । त्यो तस्बिर राजा वीरेन्द्रले किसुनजी, गिरिजाप्रसाद कोइराला, राधाकृष्ण मैनाली र सहाना प्रधानसँग वार्ता गर्दै गरेको हो ।  

“म त्यो तस्बिर खिच्न दरबार पनि जाने थिएँ । तर दरबारमा मेरो एक्सेस थिएन,” मीन स्मरण गर्छन्, “आन्दोलनकारीलाई फेवर गरेका कारण पनि दरबारले मलाई प्रवेश दिन सम्भव थिएन ।” 

त्यो समाचारपछि मीनले घरबाहिर कोलाहल सुने । न्युरोडको महासँग गल्लीमा बस्ने उनको घर वरिपरि नै काठमाडौंको आन्दोलनको केन्द्र थियो । स्थानीय राति नै प्रजातन्त्रको पुनःस्थापनाको खुसीमा बाहिर निस्किए । 

विजय जुलुस भेडासिंह पुगेपछि सुरक्षाकर्मीले गोली चलाए । पुष्परत्न शाक्य, राजन रायमाझी, सगुन स्थापितलगायतलाई गोली लाग्यो । आन्दोलनकारीले आर्मीसँग डेथबडी र घाइतेलाई खोस्ने प्रयास गरे । केही डेथबडी र घाइतेलाई आन्दोलनकारीले वीर हस्पिटल पुर्‍याए । भोलिपल्ट मीनले वीर हस्पिटल पुगेर राजनको डेथबडीको तस्बिर खिचे । 

चैत २७ गते बिहानै विजयोत्सव मनाउनेको भिडले भरिसकेको थियो । “न्युरोडको महर्जन कम्प्लेक्स नजिकै रहेको कुमारीको मन्दिर पुग्दा भुइँ रक्ताम्य थियो । मान्छे घिसारेको रगतको डाम थियो,” मीनको मानसपटलमा केही त्यस्ता दृश्य छन्, जसले अहिले पनि उनलाई झस्काउँछ । यस्ता दृश्य पनि मीनका क्यामेरामा कैद भए । 

पुष्परत्न शाक्य मीनका साथी थिए । उनको शव मीनले भोलिपल्ट ठूलो सुरक्षा घेराबीच सेनाले दाहसंस्कारका लागि पशुपति आर्यघाटमा पुर्‍याएको देखे । आफ्नै टोलको आफ्नै साथीलाई मीनले अमिलो मन बनाउँदै क्यामेरामा कैद गरे । 

“उनीहरू आन्दोलनमा सहभागी भएका आन्दोलनकारी थिएनन् । मैले कहिल्यै उनीहरू आन्दोलनमा गएको देखिनँ । उनीहरू प्रजातन्त्रको खुसियालीमा बाहिर निष्किएका मात्रै थिए,” मीनले करिब ३५ वर्ष अगाडिको घटना सम्झिए, “पुष्परत्न मलाई भन्थे– ‘‘ए मीन तिमी किन यसरी आन्दोलनमा फोटो–फोटो भन्दै दौडिएको । डर लाग्दैन ? बुबाआमा नभए पनि तिम्री बहिनी त छ । तिमीलाई केही भयो भने बहिनीको हालत के हुन्छ ?” 

यसरी जिन्दगी सुरक्षित गर्न सुझाउन पुष्प नै त्यही आन्दोलनमा सहिद भए । आफूलाई सुरक्षित बस भन्ने साथी नै सुरक्षित रहन सकेनन् । मीन आफैँले उसको मृत शरीरको तस्बिर खिच्नु पर्‍यो । 

२७ गते बिहानैदेखि मीन काठमाडौंका ठाउँ–ठाउँमा पुगे । भीडको तस्बिर खिचे । बखुन्डोल पुगे, जहाँ किसुनजी थिए । पाटन पुगे । ठूलो विजयोत्सव काठमाडौंतर्फ लाग्दै थियो । तस्बिर खिच्दै–खिच्दै वीर हस्पिटल पुगे । जहाँ गणेशमान मनमोहन थिए । उनीहरूले झ्यालबाटै नेपाली र विदेशी मडियालाई हात हल्लाए । त्यही दृश्य मीनले कैद गरे ।

काठमाडौं, भक्तपुर र ललितपुरका विभिन्न ठाउँबाट आएका जुलुस टुँडिखेलमा भेला भयो । त्यो मासलाई मीनले पश्चिमको वीर हस्पिटलदेखि पूर्वको बिजुली अड्डासम्मको पानारोमा सट खिचेर मासलाई आफ्नो क्यामेरामा कैद गरे । 

364-1712542776.JPG
 

चौथो पटक पानारोमा सट लिँदा भीडको बीचमा भर्खर कलेज पढ्दै गरेको जस्तो लाग्ने युवतीमाथि उफ्रिएर हात मुठी बनाएर नारा लगाउँदै गरेको अवस्थाको तस्बिर मीनले कैद गरे । 

“सायद त्यो तस्बिर अरुले पनि खिच्ने प्रयास गरे होला । तर अरुले खिच्न खोज्दै उनको त्यो मुभमेन्ट सायद सकिसकेको थियो,” मीन भन्छन्, “नेपाल टेलिभिजनको विजयउदय पाल्पालीले ती युवतीको त्यो केही मुभमेन्ट क्याप्चर गर्नुभएको छ । नेपाल टेलिभिजनले अझै पनि त्यो तस्बिर झल्याकझुलुक देखाएर मेरो तस्बिर राख्छ ।” 

साँझ मीनले दिनभरका तस्बिर धुलाए । पत्रिकाका लागि हरिहर विरहीलगायत संपादक कहाँ गए । उनीहरूले गणेशमान, किसुनजी, मनमोहन, सहाना, राधाकृष्ण, तुलसीलाल अमात्य, सिद्धिलाल श्रेष्ठलगायतको तस्बिर मागे । मन परेका तस्बिर छानेर लगे । मीनले चिनेका अनुहार मात्रै होइन ।

योङ, हेन्डसम, अपांग अर्थात् केही फरक देखिने अनुहार पनि कैद गरेका थिए । तर धेरैले परिचित अनुहारबाहेकका तस्बिर आफ्नो रोजाइमा पारेनन् । 

“केही समयपछि हरिहर विरहीले मैले एउटा फोटो नचिनेर छाडेछुँ, त्यो पनि पठाइदिनु है भन्नुभयो । मैले दिएर पठाएँ । मैले पनि चिनेको थिइनँ,” मीन भन्छन्, “फोटो सफा टलक्क परेका लुगा लगाएका, गोरो अनुहार, कपाल चिल्लो पारेर माथितिर लरक्क फर्काएका टल एन्ड हेन्डसम ती व्यक्ति त अन्तरिम सरकारमा जलस्रोत मन्त्री पो भए । मैले हेन्डसम लागेर तस्बिर खिँचेको व्यक्ति त झलनाथ खनाल पो रहेछन् ।” 

बामपन्थीहरू भूमिगत भएकाले धेरैले उनीहरूलाई चिन्दैनथिए ।  कहिले, कसरी, कहिले, को विभिन्न समयमा विभिन्न प्रयोजनका लागि मीनसँग जनआन्दोलनका तस्बिर माग्न आइरहे । तर उनले ‘आइकनिक’ मानेको तस्बिर भने कसैले आफ्नो रोजाइमा पारेनन् । 

मानव अधिकार मञ्चले किताब निकाल्ने भयो । त्यसका लागि तस्बिर लिन आउँदा मञ्चका प्रतिनिधिसँगै एक विदेशी पत्रकार पनि आए । कन्सल्टेन्ट इडिटर भनेर आएका ती पत्रकारको नाम थियो– थमस बंक ।  

तस्बिरहरूको चाङबाट थमले एउटा तस्बिर हातमा लिएर भने– मैले खोजिरहेको कभर फोटो यस्तै हो । ठ्याक्कै मैले खोजेजस्तो तस्बिर भेट्टाएँ । 

मीनले सोधे– किन यही नै कभर फोटोका लागि रोज्नु भयो ? 

थमस– यो तस्बिरमा जनताको शक्तिको वास्तविक प्रतिबिम्व छ । जनताको जोश र जाँगर छ । त्यसमा पनि महिलाको तस्बिर छ । यो तस्बिरमा पार्टीका झण्डा त छन् । तर त्यसभन्दा माथि जनताको मुठी कसेको हात छ । 

त्यो तस्बिर अरु कुनै तस्बिर मीनलाई आइकनिक लागेको तस्बिर थियो । जसलाई नेपालका पत्रपत्रिका र सम्पादकको रोजाइमा परेको थिएन । 

किताब निस्कियो । त्यसको विमोचन समारोहमा गणेशमान, सहानालगायतले बोले । आन्दोलन, किताब र त्यसभित्रका लेखबारे पनि मञ्चबाट बक्ताहरूले बोले । त्यो किताब निस्किएपछि सुरु भयो, त्यो तस्बिरको कपि प्रिन्ट र प्रकाशन । साप्ताहिक पत्रिकाहरूमा छापियो ।
 
प्रजातन्त्रको पुनःस्थापनासँगै निजी क्षेत्रबाट प्रकाशन गृहहरू सुरु भए । ठूलो लगानीमा ‘कान्तिपुर दैनिक’ र ‘द काठमाण्डू पोष्ट’ सुरु भयो । कान्तिपुरले पहिलो अंकका लागि नै यही तस्बिर माग्यो । 

प्रधान सम्पादक योगेश उपाध्यायले मागेपछि नदिने कुरा भएन । पहिलो अंकमा मीनले खिचेको त्यही तस्बिर छापियो । त्यसको चर्चा भयो । मीनलाई योगेशले कान्तिपुरमा जागिरको अफर पनि गरे । तर उनले ‘म फ्रिलान्सर नै ठीक छु’ भनेर जागिर गर्न मानेनन् ।  

कान्तिपुरमा मीनले खिचेको तस्बिर छापिएपछि तस्बिर र मीन दुवैको चर्चा शिखरमै पुगेको थियो । मछिन्द्रबहालमा रक्तदान कार्यक्रम थियो । प्रकाशमान सिंह प्रमुख अतिथि थिए । कार्यक्रम चलिरहेका बेला प्रकाशमान निस्किने भए ।

उनीसँग गफ गर्दै मीन पनि कार्यक्रमस्थलबाट बाहिरिँदै थिए । केएल टोलमा पुगेपछि एक महिला फटाफट आएर प्रकाशमानलाई नमस्कार गरिन् । “मीन तिमीहरू मलाई आजको हिरो भन्छौ, खासमा हिरो उहाँ हो,” प्रकाशमानले मीनलनई भने, “तपाईंले खिचेको तस्बिरमा महिला उहाँ नै हो ।” 

उनले भनिन्, “मेरो नाम दुर्गा थापा हो । तपाईंले खिच्नु भएको हो, मेरो तस्बिर ?”

प्रकाश छुट्टिए । मीनले आउनुुस् मेरो घर भन्दै लगेर उनको ठूलो फोटो दिएर पठाए । त्यसपछि लामो समय उनीसँग भेट भएन । तर निकै पछि राजनीतिक कार्यक्रममा उनी भेटिन थालिन् । जहाँ भेट्यो त्यहाँ मीन उनको तस्बिर खिच्थे ।

369-1712542760.JPG

 
तिनै तस्बिर ‘नेपाली टाइम्स’का लागि समाचार भयो । कुन्द दीक्षितले ‘फलोअप स्टोरी’ भन्दै छापे । ०६२/०६३ को आन्दोलनमा मीनले खिचेको तस्बिर पनि करिब–करिब त्यस्तै थियो । 

त्यसैले ०४६ देखि ०६२/०६३ भनेर दुई समयका तस्बिर खारेर फुल पेज स्टारी छापे । कांग्रेस कार्यकर्ता रहेकी थापा पछि सरकारी सेवामा प्रवेश गरिन् । महालेखापरीक्षकको कार्यालय हुँदै एयरपोर्टदेखि भन्सारसम्म उनले काम गरेको मीन सुनाउँछन् । 

तत्कालीन राजा ज्ञानेन्द्रले राजनीतिक दलहरूलाई पाखा लगाएर ‘कू’ गरेपछि कांग्रेस र एमालेले तत्कालीन सरकारविरुद्ध आन्दोलन सुरु गरेपछि बनाएका पोष्टरमा समेत त्यही फोटो प्रयोग गरे । 

कांग्रेस र एमाले दुवैले त्यही एउटै तस्बिर आफ्नो पोष्टरमा प्रयोग गरेका थिए । ठाउँ ठाउँमा भित्तामा दुवै दलले त्यही पोष्टर टाँसेका थिए ।
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, चैत २६, २०८०  ०८:०६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कोप-२९ ले दिएको अवसर खेर नफाल 
कोप-२९ ले दिएको अवसर खेर नफाल 
SubisuSubisu
Hamro patroHamro patro