काठमाडौं । राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति क्रान्तिको प्रदर्शनका क्रममा शनिबार काठमाडौंमा भएको झडपमा परी प्रहरी जवान रामसिंह बोहरा गम्भीर घाइते भएका छन् ।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक नवराज अधिकारीले निषेधित क्षेत्र तोड्न खोज्ने प्रदर्शनकारीलाई रोक्न खोज्दा प्रहरी जवान घाइते भएको बताए ।
उनले भने, “राष्ट्रिय मुक्ति क्रान्तिको प्रदर्शनमा प्रदर्शनकारीले निषेधित क्षेत्र तोड्न खोज्दा प्रहरीले बाध्य भएर बल प्रयोग गर्नुपर्यो । सो क्रममा प्रहरी सहायक निरीक्षकसहित पाँचजना घाइते भए । प्रहरी जवान बोहरा बोल्न नसक्ने अवस्थामा छन् ।”
अन्नपूर्ण न्युरो अस्पतालमा बोहराको उपचार गरिएको छ । थप उपचारका निम्ति उनलाई नेपाल प्रहरीको अस्पतालमा लैजाने तयारी गरिएको प्रवक्ता अधिकारीले बताए ।
झडपमा प्रदर्शनकारीले ढुंगामुढा प्रहार गरेको प्रहरीले जनाएको छ । झडपमा प्रदर्शनकारीतर्फका १२ जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । रासस