काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले देशमा लागुपदार्थ दुर्व्यसनी बढ्दै जाँदा सरकारले नियन्त्रणमा चासो नदेखाएको आरोप लगाएका छन् ।
बिहीबार काठमाडौंमा भएको एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले रौतहट, कैलालीसहितका जिल्लामा पछिल्लो समय लागुपदार्थ दुर्व्यसनी बढिरहेको तर सरकार हेरेर बसिरहेको बताए ।
"आजमात्रै मैले एउटा पत्रिकामा पढेँ, लागुपदार्थको अत्यन्तै दुर्व्यसन रौतहट जिल्लामा बढ्दो छ । कैलाली जिल्लामा त्यस्तै छ । लाग्छ, सरकार के गरेर बसेको छ ? प्रहरी के गरेर बसेको छ ? प्रशासन के गरेर बसेको छ ? हाम्रा युवाहरू लागुपदार्थको दुर्व्यसनमा फस्छन् र त्यस्ता अपराधी कारबाहीमा पर्दैनन्," उनले भने ।
अध्यक्ष नेपालले राजनीतिककर्मीहरू निष्ठावान् हुन नसके र स्वच्छ छवि कायम राख्न नसके राष्ट्र सेवकहरूले कुनै राम्रो कुरा सिक्न नसक्ने बताए ।