site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
स्वर्णिम वाग्लेले सहकारी समस्या समाधानको सुत्र दिएको कि 'कांग्रेसलाई पढाएको' ?
फाइल तस्बिर ।

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद डा. स्वर्णिम वाग्लेले सहकारी क्षेत्रमा देखिएको समस्या समाधानको प्रस्ताव राखेका छन् । बुधबार संसद्‌ बैठकमा चार मिनेट समय लिएर बोलेका वाग्लेलले थप एक मिनेट समय लिएर सहकारी समस्या समाधानको प्रस्ताव राखेका हुन् ।

 

अर्थविद्समेत रहेका सांसद वाग्लेले प्रत्यक्ष तथा अप्रत्यक्ष वित्तीय अपराधमा संलग्नलाई कारबाहीको विषय भने छुटाएका छन् ।

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न माग गरिरहेको नेपाली कांग्रेसप्रति उनले केही आक्रोश पनि पोखे । उनले सहकारी नियमनका लागि दोस्रो तहको सुपरीवेक्षण गर्ने निकाय बनाउन नयाँ ऐन बनाउनुपर्ने प्रस्ताव गरेका छन् । त्यसका लागि सदनमा तत्काल विधेयक ल्याउनुपर्ने उनको प्रस्ताव छ ।

“सहकारी नियमनको दोस्रो तहको सुपरीवेक्षण गर्ने निकायका लागि यथाशीघ्र विधेयक बनाऔँ । दोस्रो तहको सुपरीवेक्षण गर्ने त्यो निकाय लामो समयदेखि बहसमा पनि आएको छ,” वाग्लेले भने, “यो सदनले विधेयक बनाएर सहकारी नियमनमा हामी गम्भीर छौँ भनौँ । सहकारी ऐन, २०७४ का कथातिर म गइनँ । ती विकृतिहरूलाई हामीले सच्याउने मौका छ ।”

Global Ime bank

वाग्लेले संकटग्रस्त सहकारीको समस्या समाधानका लागि व्यवस्थापन समिति बनाउन प्रस्ताव गरेका छन् ।

सरकारले संकटग्रस्त सहकारीको समस्या समाधानका लागि डा. काशिराज दाहालको अध्यक्षतामा व्यवस्थापन समिति गठन गरिसकेको छ । वाग्लेले त्यही समिति गठन र बचतकर्ताको रकम फिर्ता गर्ने कुरालाई समाधानको सुत्रको रूपमा प्रस्तुत गरेका हुन् ।

कांग्रेसलाई लक्षित गर्दै उनले व्यक्तिलाई खुइल्याउने र सत्ता बहिर्गमनको प्रतिशोधन साध्ने मात्र नभएर समाधानको व्यवस्थापन समिति बनाउनुपर्ने बताए । वाग्लेले व्यवस्थापन समितिमार्फत समस्या समाधानका लागि सुझाव राखेका थिए ।

“व्यवस्थापन समिति बनाऔँ । मानव संशाधन आउट सोर्स गर्न दिऔँ । अधिकार सम्पन्न बनाऔँ र चरणबद्धरूपमा बचत फिर्ता दिने योजना बनाऔँ,” वाग्लले भने, “एक लाखसम्मको बचत फिर्ता पहिलो चरणमा, पाँच लाखसम्मको बचत फिर्ता दोस्रो चरणमा, पाँच लाखभन्दा माथिको रकम तेस्रो चरणमा गरेर कर्जा असुली गर्ने, सम्पत्ति बिक्री गर्ने र त्यसलाई समय लाग्ने भयो भने अर्थ मन्त्रालयले एउटा संयन्त्र बनाई अल्पकालीन ऋण प्रवाह गर्न सक्ने, त्यतातिर जाऔँ ।”

वाग्लले कर्जा असुली र सम्पत्ति बिक्री तथा बचत फिर्ताका लागि तत्कालीन सञ्चालक र पदाधिकारीहरूको सहयोग लिनुपर्ने बताएका छन् । सहयोग नगर्ने सञ्चालकहरू र पदाधिकरीहरूलाई हदैसम्मको कारकाही गर्नुपर्ने उनको प्रस्ताव छ ।

वाग्लेले सहकारी समस्या समाधानको सुत्रमा बचतकर्ताको रकम दुरुपयोग गर्नेलाई कारबाही गर्ने विषय भने परेको छैन । कारबाहीको विषय नपरेको विषयमा बाह्रखरीले राखेको जिज्ञामा वाग्लले चार मिनेटको समयमा सबै कुरा नअटाउने बताए । बाँकी नेपालको कानुन सबै कुरामा प्रस्ट रहेको उनको भनाइ छ ।

“नेपालको कानुन सबै कुरामा प्रस्ट छ । आज त कांग्रेसलाई पढाइदिएको मात्रै हो । गीत गाएर नबस, हिपोक्रेसी नदेखाऊ । फाइल टकटकाउने हो भने तिम्रा हजार छन्, त्यो भनेर सुनाइदिएको हो,” वाग्लले भने, “अपचलन गर्नका सन्दर्भमा मौजुदा कानुन जे छ, त्यही गर्ने हो । आईएम अ डेमोक्र्याट, आज रवि लामिछानेलाई डिफेन्ड गरेको होइन । मैले 'रुल अफ ल'लाई डिफेन्ड गरेको हो ।”

कांग्रेसले सहकारी ठगीको प्रश्न उठाए पनि समाधानको शब्दको उच्चारणसमेत नगरेको उनको आरोप छ ।

के गर्दै छ ससमस्याग्रस्त सहकारी व्यवस्थापन समिति ?

समस्याग्रस्त सहकारी व्ययवस्थापन समितिका अध्यक्ष दाहालका अनुसार अहिलेसम्म २० वटा संकटग्रस्त सहकारीमध्ये तीनवटाका बचतकर्ताको रकम फिर्ता गर्ने काम सकिएको छ । अन्य दुईवटा सहकारीको पनि बचतकर्ताको रकम फिर्ता गर्ने काम अन्तिम चरणमा पुगेको छ ।

त्यसबाहेक सहकारीका विषयमा भने सञ्चालकहरूको चल अचल सम्पत्ति, बैंक खाता र लकर रोक्का गरिएको, पासपोर्ट सिज गरिएको अवस्था भए पनि उनीहरूको बचत सहकारीको सम्पत्तिबाट फिर्ता गर्न सकिने/नसकिने यकिन भइनसकेको उनले बताए ।

“नयाँ उजुरी पनि आइरहेका छन् । तर, नयाँ उजुरीको सन्दर्भमा अहिले नै केही भन्न सक्ने अवस्था छैन,” दाहालले बाह्रखरीसँग भने, “हामी क्रमैसँग छानबिन गर्दै जानेछौँ ।”

NIBLNIBL
प्रकाशित मिति: बुधबार, चैत २१, २०८०  २०:५३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
अब त रोम विधान अनुमोदन गर !
अब त रोम विधान अनुमोदन गर !
SubisuSubisu