site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सेनालाई आधुनिकीकरण गर्दै लैजान आवश्यक : प्रधानसेनापति  

काठमाडौं । प्रधानसेनापति प्रभुराम शर्माले नेपाली जनताको विकास र समृद्धिको अभिलाषालाई पूरा गर्न नेपाली सेनाको समयानुकूल आधुनिकीकरण गर्दै लैजान आवश्यक रहेको बताएका छन् । 

सोमबार सैनिक मुख्यालय जंगीअड्डाको निरीक्षणमा आएका रक्षामन्त्री हरिप्रसाद उप्रेतीलाई स्वागत गर्ने क्रममा उनले बाह्य तथा आन्तरिक सुरक्षा प्रणालीलाई सुदृढ बनाई राष्ट्रको आधारभूत मूल्यमान्यताको रक्षा गर्न पनि सेनालाई आधुनिकीकरण गर्दै लैजान आवश्यक रहेको जनाए । “संयुक्त राष्ट्र संघसँगको सहकार्यलाई थप मजबुत र बृहत् बनाउन राष्ट्रिय रूपमै एकीकृत नीति/रणनीति अख्तियार गर्न आवश्यक छ,” उनले भने । 

रक्षामन्त्री नियुक्त भएपश्चात उप्रेती सोमबार जंगीअड्डा पुगेर नेपाली सेनाको बारेमा औपचारिक जानकारी लिएका हुन् । जंगीअड्डामा मन्त्री उप्रेतीलाई सेनाको संगठनात्मक स्वरूप, तैनाथी, स्वदेश र अन्तर्राष्ट्रिय क्षेत्रमा सेनाले सञ्चालन गरिरहेका विविध गतिविधिहरूबारे जानकारी गराइएको थियो । कार्यक्रमको दौरान प्रधानसेनापति प्रभुराम शर्माले नवनियुक्त रक्षामन्त्रीलाई बधाई दिँदै नेपाली सेनाका सक्कलदर्जाको तर्फबाट जंगीअड्डामा स्वागत गरेका थिए । 

संविधान प्रदत्त जिम्मेवारीका अलवा नेपाल सरकारबाट विधिसम्मत ढंगले प्राप्त विकास निर्माणलगायत विविध जिम्मेवारीहरू समयमानै पूरा गर्न सेना सदैव कटिबद्ध रहेको प्रधानसेनापति शर्माले बताए । जिम्मेवारीहरू पूरा गर्ने क्रममा आई पर्ने चुनौतीहरूलाई नियमसम्मत रूपमा रक्षा मन्त्रालयबाट सम्बोधन हुँदै आई रहेको र सोको प्रभावकारी निरन्तरता हुनेमा आफू विश्वस्त रहेको उनले जनाए । 

नेपाली सेनाले विश्व शान्ति स्थापनार्थ गरिरहेका कार्यहरूले अन्तर्राष्ट्रिय जगतमा नेपाल र नेपाली सेना दुवैको साख बढाउनुका साथै सैन्य कूटनीति प्रवर्द्धन एवम् अन्तर्राष्ट्रिय सम्बन्ध विस्तारमा समेत सकारात्मक प्रभाव परेको दाबी प्रधानसेनापति शर्माको थियो । 

कार्यक्रममा रक्षामन्त्री उप्रेतीले राष्ट्रिय स्वतन्त्रता, सार्वभौमिकता, भौगोलिक अखण्डता, स्वाधीनता तथा राष्ट्रिय एकताको रक्षार्थ नेपाली सेनाले निर्वाह गर्दै आएको अहम् भूमिकाको प्रशंसा गरेका थिए । नेपाली सेनाले आफूलाई प्राप्त जिम्मेवारीहरू सदैव उच्च दक्षता एवम् व्यावसायिकताका साथ सम्पन्न गर्नुका साथै विषम परिस्थितिमा नेपाली जनताको भरोसाको केन्द्रको रूपमा रही आएको मन्त्री उप्रेतीले बताए । 

विपद्को समयमा जनताको सुरक्षाको लागि नेपाली सेनाले देखाएको व्यावसायिक क्षमता प्रदर्शन, वन्यजन्तु तथा पर्यावरण संरक्षणप्रतिको योगदान एवम् राष्ट्रिय एकता प्रवर्द्धनमा गरेका उल्लेखनीय कार्यहरूको कारण सेनाप्रति नेपाली जनताको उच्च विश्वास, भरोसा र सम्मान रहेको जनाए । 

राष्ट्रिय सुरक्षाको मेरुदण्डको रूपमा रहेको नेपाली सेनाको समयानुकूल आधुनिकीकरण र सबलीकरणबारे नेपाल सरकार गम्भीर रहेको बताउँदै मन्त्री उप्रेतीले नेपाली सेनाको समग्र क्षमता अभिवृद्धि तथा संगठनात्मक सुदृढीकरणमा रक्षा मन्त्रालयले सदैव सकारात्मक भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाए ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, चैत १२, २०८०  १६:३३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro